७ जेष्ठ २०८१, सोमबार

विदेशमा अलपत्र नेपालीलाइ स्वदेश फर्काउन भदौ १ गतेदेखि उद्धार उडान हुने

प्रकाशित मिति :  14 August, 2020 9:23 pm


काठमाडाैं, ३० साउन ।  

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गतेदेखि उद्धार उडान गरिने भएको छ ।नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्ने निश्चित भएकाे हाे ।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म र हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान भर्ने गरि तालिका सार्वजनिक गरेका छन् । दुवै एयरलाइन्सले सुक्रबार नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन् ।

सरकारले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरे पनि विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित उडान हुने भएकाे हाे ।

सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । ती मध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँ टिकट काटेर आउने छन् । स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ रहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज मात्रै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ ।

सलाम एयरले मस्कटबाट १७५ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !