१५ बैशाख २०८१, शनिबार

चितवनमा रहेको गढीमाई बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि

प्रकाशित मिति :  18 August, 2020 8:11 am


काठमाडौं, २ भदौ ।

चितवनको राप्ती नगरपालिका भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनीका ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार राति आएको नतिजा अनुसार ५० जनामा संक्रमण पुष्टि भएकोमा ४२ जना सशस्त्र प्रहरी छन् । उनीहरुमध्ये २ महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए ।

साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको राससले उल्लेख गरेको छ । बाहिनी कार्यालयमा ३ सय भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !