१२ बैशाख २०८१, बुधबार

घोराही–होलेरी सडक मर्मत एक हप्तामै सक्ने,औद्योगिक सडकका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय

प्रकाशित मिति :  18 August, 2020 5:55 pm


घोराही–होलेरी सडक खण्ड मर्मतका लागि होलेरीमा भएको छलफल । तस्बिर:रुन्टीगढी गाउँपालिकाको सचिवालय

रोल्पा, २ भदौ ।

सहिदमार्ग अन्तर्गत घोराही–होलेरी सडक खण्ड मर्मतको काम अगाडि बढ्ने भएको छ ।

कालोपत्रे गरेको एक वर्ष नहुँदै सडक जिर्ण बनेपछि रोल्पा र दाङका जनप्रतिनिधि, सरकारी अधिकारी र सरोकालवाला निकाय सम्मिलित कार्यदलको बैठकले अल्पकालिन र दिर्घकालिन योजनासहित सडक मर्मत गर्ने निर्णय गरेको हो ।

रोल्पाको होलेरीमा आज भएको छलफलमा सडक मर्मत तत्काल अगाडी बढाउने गरि अल्पकालिन योजनाको टुंगो लागेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बलराम बुढाले जानकारी दिए ।

अल्पकालिन समस्या समाधानका लागि नाली सफाइको काम सहिद मार्ग सडक योजना कार्यालय मार्फत गर्ने, सडकखण्डको मर्मत तथा खाल्डाखुल्डी पुर्नका सामाग्रीको ढुवानी टिप्पर व्यवसायीले गर्ने र ग्राभेलका लागि आवश्यक सामाग्री घोराही उपमहानगरपालिकाले उपलब्ध गराउने निर्णय भएको छ । ठूला खाल्डाखुल्डी पुर्नका लागि चाहिने आवश्यक ढुङ्गा लगायतको सामग्री रुन्टिगढी गाउँपालिकाले उपलब्ध गराउने सहमति भएको छ ।

कार्यदलले सहिदमार्गको दीर्घकालिन योजना अन्र्तगत बैकल्पिक औद्योगिक सडक निमार्णको लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।

कार्यक्रमा बोल्दै कार्यदल संयोजक घोराही उप-महानगरपालिका प्रमुख नरुलाल चौधरीले सहिदमार्गको आफ्नो इतिहास र धेरै जिल्लाहरु जोड्ने सडकखण्ड भएकोले यसलाई सुधार गर्नको लागि उद्योग व्यवसायी , टिप्पर व्यवसायी ,स्थानिय सरकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागि प्रदेश सभा सदस्य रोल्पाका दिपेन्द्र पुनले सहिदमार्गलाई तत्काल सुधार गर्नुपर्ने र औद्योगिक मार्गको लागि तत्काल पहलकदमी चाल्नु पर्ने कुरामा जोड दिएका थिए ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले होलेरी घोराही सडकखण्डमा गरिएको कालोपत्रे डेढ बर्ष नपुग्दै उप्किएपछि अवस्था साह्रै नाजुक भएको बताए । उनले भने,“पैदलयात्रु तथा सवारी साधनलाई सहजरुपमा आवात जावत गर्नको लागि सम्पूर्ण सिमेन्ट उद्योगीहरु जिम्मेवार भएर सहिदमार्गलाई मर्मत गर्न आवश्यक छ ।”

सहिदमार्गको स्थिति दयनीय भएपछि चौतफी अलोचना भएको थियो । सडकको अवस्थाबारे चौतर्फी चासो बढेपछि सडक मर्मतको काम अगाडि बढाउने सहमति भएको हो ।

छलफलमा प्रदेश सभा सदस्य दिपेन्द्र पुन,घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल , रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्र बहादुर गुरुङ्ग, , श्री खड्ग दल गणका सह-सेनानी ध्रुव न्यौपाने , राष्ट्रिय अनुसन्धान विभाग दाङका प्रमुख टेकराज तिमिल्सिना, सोनापुर सिमेन्टका हरि पाठक ,सम्राट सिमेन्टका लिलानाथ न्यौपाने, घोराही सिमेन्ट उद्योगका विकास महतो, सहिदमार्गका इन्जिनियर सागर पन्थी, स्वर्गद्धारी टिप्पर प्रा.लि.का भरतनाथ योगी लगायतको उपस्थिति रहेको थियो ।

तत्कालका लागि ठूला खाल्डाहरु पुर्ने, पानी तर्काउने काम भोलीदेखि नै हुने छ । घोराहीदेखि दुईखोलीसम्म दुईदिनभित्रै र दुईखोलीदेखि ढुंगाखानीसम्म त्यसपछि काम सुरु हुने छ । सडक मर्मतको काम एकहप्ताभित्रै  सक्ने निर्णय कार्यदलले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !