७ बैशाख २०८१, शुक्रबार

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटायो

प्रकाशित मिति :  28 September, 2020 8:29 am


काठमाडौँ, १२ असोज ।

अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटेको   छ ।

७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको आयोजनामा हिमालय बैंकको अगुवाईमा लगानी जुटेको हो । कूल लगानीको ७० प्रतिशत ५ अर्ब १८ करोड रुपैयाँ हिमालन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी भएका हुन् ।

हिमालय बैंकको अगुवाईमा सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन गर्न हिजो सम्झौता भएको कम्पनीले जनाएको छ । बाँकी लागत रहेको ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई काम गरिरहेको छ ।

कम्पनीले कोरोना संकट सहज हुने वित्तिकै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने बताएको छ । कम्पनीले भनेको छ, “हाल विश्वभर फैलिरहेको कोभिड १९ नामक महामरीका कारण समग्र अर्थिक अवस्था खराब हुन पुगेको छ । यस रोगका कारण कम्पनीमा पर्न गएका असरहरुलाई समुचित तवरले व्यवस्थापन गर्दै कम्पनीको लक्ष्य अनुरुपको व्यवसायिक प्रगतिमा निरन्तरता दिनु आजको प्रमुख चुनौती हो ।

यो अवस्था सामान्य बन्नासाथ कम्मनीले हकप्रद शेयर आव्हान गर्ने भएको हुँदा आफूले ८.५ मेगावाट क्षमताको जलविद्युतमा गरेको लगानीले ५६.५ मेगावाटको स्वामित्व पाउँने सुनौलो अवसरलाई सदुपयोग गरी अपि पावर कम्पनी लिमिटेडले जारी गर्ने हकप्रद शेयरमा लगानी गर्नुहुन सम्पूर्ण शेयरधनी लगानीकर्ता महानुभावहरुलाई हार्दिक आव्हान गर्दछ ।”

कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुलाको नौगड गाढ नदीबाट ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न २०७२ भदौ २ गतेदेखि राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीबाट ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाबाट २०७६ साल कार्तिक १३ गतेदेखि व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । कम्पनीद्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।

कम्पनीले तेश्रो जलविद्युत आयोजनाको रुपमा सुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटाएको हो ।

 



प्रतिक्रिया दिनुहोस !