१३ बैशाख २०८१, बिहिबार

२१ दिनपछि खुल्यो बैतडीको सुर्नया गाउँपालिकाको ताला, आजबाट कामकाज हुने

प्रकाशित मिति :  2 November, 2020 8:32 am


बैतडी, १७ कार्तिक ।
केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ ।

जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिइन । “गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएको उनले बताइन् । जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।

तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका बिषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुङ्गो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष बिष्टले बताइन् ।

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टसहित १४ जना घाइते भएका थिए ।

गाउँपालिकाले पबितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयवासीहरुले सङ्घर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए । असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष बिष्टसहितका व्यक्तिमाथि ढुङ्गा प्रहार भएको थियो ।

हाल गाउँपालिकाको वडा नं ५ कठेगौडमा गाउँपालिका कार्यालय रहेको छ । उक्त कार्यालय सोही वडाको पबिता सार्ने निर्णय गाउँपालिकाले गत वर्ष नै गरेको थियो । स्थानीयवासीहरुले केन्द्रका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !