२६ बैशाख २०८१, बुधबार

राजनीतिक निर्लज्जताको अन्त्य आवश्यक

प्रकाशित मिति :  10 November, 2020 9:54 am


उठान:
जुनसुकै नीति सिद्धान्ततः नराम्रो हुँदैन । उपयुक्त किसिमले व्यवहारमा उतार्न नसक्ता सुनीति पनि कुनीतिमा परिणत हुन पुग्छ । राज्यको प्रशासन वा सरकारको प्रशासन चलाउने राजनीति सबै नीतिहरूको मूल नीति मानिन्छ तर त्यही नीति धमिलो भयो भने त्यसकै मातहतमा सञ्चालन हुने अन्य सारा नीतिहरू धमिलिँदै जान्छन् ।

मूल नीतिकै जरामा मलजल गर्न सकिएन भने त्यसका शाखाप्रशाखाहरू ओइलाउँदै र सुक्तै जाने कुरा सुनिश्चित छ । मूल नीतिले आफ्नो लाज छोप्तै जान सकेन भने अन्य सहायक नीतिहरू पनि क्रमशः निर्लज्ज हुँदै जाने भएकाले सर्वत्र बेथिति उत्पन्न हुन पुग्छ ।

सबै ठाउँमा थिति बिग्रँदै गयो भने पुनः थिति बसाल्न निकै गाह्रो हुन्छ । त्यसैले मूल नीति मानिएको राजनीतिले आफ्नो लाज ढाक्न सकोस् र हामीहरूलाई पनि निर्लज्ज हुनबाट बचाउन सकोस् भन्ने अपेक्षा हरेक देशका नागरिकहरूले गरिरहेका हुन्छन् र त्यस्तो अपेक्षा गरिरहनु हरेक सचेत नागरिकको कर्तव्यभित्रै पर्दछ ।

आश्वासनको खेती :

राजनीतिकर्मीहरूले जति आश्वासन कसैले पनि बाँड्न सक्तैनन् । आश्वासनको खेती जति फस्टाउँदै जान्छ राजनीतिकर्मीले आफूलाई त्यति नै सफल भएको ठान्छन् ।

आश्वासनको खेतीमा रमाउँदा रमाउँदै सचेत नागरिकहरू पनि आश्वासनलाई ध्रुव सत्य ठान्न विवश हुन्छन् । त्यसैले चुनावका बेलामा मात्र होइन अन्य जुनसुकै बेलामा पनि राजनेता वा राजनीतिकर्मीहरूले नदी नै नभएका ठाउँमा पनि पुल बनाउँछु भनेर जनतासमक्ष बाँडेको आश्वासनलाई पत्याउन नागरिकहरू अभ्यस्त भइसकेका हुन्छन् ।

कहिलेकाहीँ आश्वासनको खेती त भ्रम पो रहेछ भनेर जनता ब्युँझन खोजे पनि नयाँ चुनावमा पुरानै नेताहरूलाई विजयी गराउन जनता पछि पर्दैनन् । जनताको यही अक्षमताका कारण जुनसुकै विकासोन्मुख मुलुक पछि पर्दै जान्छ । राजनीतिलाई निर्लज्जताको नमुना प्रस्तुत गर्नबाट बचाउनका लागि आश्वासनको खेती क्रमशः अन्त्य गर्दै जानु आवश्यक छ ।

निरन्तर सत्तासनको मोह :

सत्ता र भत्ताको चुम्बकले तान्दै गएपछि प्रायः सबैजसो व्यक्तिसँग इज्जत र सत्यले साइनो गाँसिरहन सक्तैनन् । सत्तामा पुग्नका लागि र सदैव सत्तामै टिकिरहनका लागि सबैजसो राजनेताहरूले जे पनि गर्न सक्छन् । जसका कारण त्यस्ता राजनेताहरूले आफ्नो राजनीतिक दर्शनलाई क्रमशः तिलाञ्जलि दिँदै आपैmले पश्चगमन ठानेका राजनेताहरूको आचरणलाई अनुकरण गर्न पुग्छन् ।

सत्तामा नरहँदा उठाउने मागहरू सत्तासीन भएपछि सपनाजस्तै ठहरिन्छन् । जुनसुकै तन्त्र आए पनि एउटै व्यक्ति घुमीफिरी निरन्तर सत्तासीन भइरहन खोज्ने दुष्प्रवृत्तिका कारण सरकारी निकायमा भ्रष्टाचार मौलाउने र राजनीति निर्लज्जताको उदाहरण बन्दै जाने भएकाले त्यसको क्रमशः अन्त्य गर्न जनताहरू नै जागरूक हुनुपर्छ ।

नैतिकताको खडेरी 

राजनीति सबै नीतिको मुख्य नीति भए पनि वर्तमान राजनीतिमा नैतिकताको खडेरी पर्दै गएको छ । राजनीतिमा लाग्दा नैतिकता कमाउने होइन गुमाउँदै जानुपर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण नेपाली राजनीति बन्दै जानु गम्भीर चिन्ताको विषय हो । नैतिकता बचाएका केही व्यक्तिहरू राजनीतिक क्षेत्रमा नलागेका वा नदेखिएका होइनन् तर तिनको हैसियत राजनीतिक क्षेत्रमा क्रमशः ओझेल पर्दै गएको देखिन्छ ।

जस्तोसुकै अनैतिक आचरण गर्ने व्यक्तिले पनि राजनीतिक दलको सदस्य भएपछि संरक्षण पाइहाल्ने र राजनीतिक दलको पछि नलाग्ने वा सदस्य नभएको व्यक्ति जतिसुकै नैतिक आचरणमा रहेको भए पनि त्यस्तो व्यक्तिले सदैव आफू असुरक्षित भइरहेको अनुभूति गर्नुपर्ने बाध्यताले गर्दा नेपाली राजनीतिमा नैतिकताको खडेरी पर्दै जान थालेको आभास मिल्छ । राजनीतिमा लाजको संरक्षण गर्ने हो भने नैतिक आचरण गर्ने राजनीतिक व्यक्तिलाई तिरस्कृत होइन पुरस्कृत गर्नुपर्छ ।

आगामी चुनावको चिन्ता 

एकपटक चुनाव जितेर सत्तासीन भएपछि अर्को चुनाव नहुन्जेलसम्म जनताबाट विमुख हुने प्रवृत्ति घट्तै जानुपर्नेमा दिनप्रतिदिन बढ्दै गएको   छ । दूरदर्शी वा भविष्यद्रष्टा शासकहरू जन्मिन छाडेका कारण आगामी चुनावमा मैले जित्न सक्छु कि सक्तिनँ भन्ने चिन्ता वर्तमानका जनप्रतिनिधिहरूमा बढ्दै गएको छ तर विकासका क्षेत्रमा अपेक्षाकृत फड्को मार्न भने सकेको देखिँदैन ।

कतिपय स्थानीय निकायमा त प्रमुख र उपप्रमुखहरूकै बीचमा बारम्बार द्वन्द्व भइरहने गरेकाले जनताहरू द्वन्द्व गर्नकै लागि विजयी बनाइएको त होइन भन्दै विकासको गति अवरुद्ध भएकामा चिन्तित छन् । विकासको गति नै रोकिए पनि आगामी चुनावमा विजयी हुने मभन्दा अर्को विकल्पमा कोही छैन भनी जनप्रतिनिधिहरू अहङ्कारको शिखर चढ्दै जान थालेका छन् ।

भविष्यको सोचाइ र विकासको चिन्ता नगरी केवल आगामी चुनावको चिन्ता गर्दै जाने राजनेताहरूको बाहुल्य देखिएकाले पनि राजनीतिमा निर्लज्जता बढ्दै गएको हो ।

फुटको प्रतिस्पर्धा :

एकताका लागि जुट्तै जानुपर्नेमा फुट्तै जानुले पनि राजनीतिक निर्लज्जताको अन्त हुने लक्षण देखिँदैन । जुटेर एकता भएको घोषणा गरिए पनि जुटभित्र समेत गुटैगुटको हावी हुने प्रवृत्तिले गर्दा नेपालका सबैजसो राजनीतिक दलको शक्ति क्षीण हुँदै गएको छ ।

दुईतिहाइको सरकारभित्र त्यस्तै प्रवृत्ति मौलाउँदै जाँदा अल्पमतको सरकारभन्दा पनि दुईतिहाइको सरकार कमजोर देखिएको छ । जबसम्म राजनीतिक सिद्धान्तका आधारमा नभई स्वार्थका कारण जुट्ने र फुट्ने क्रम चलिरहन्छ तबसम्म फुटको प्रतिस्पर्धात्मक राजनीतिले पनि निर्लज्जताको प्रदर्शन गरिरहने कुरा सुनिश्चित छ ।

जुवाको खेल :

अन्यराष्ट्रिय र अन्तरराष्ट्रिय खेलहरूभन्दा जुवाको खेल निम्न स्तरको मानिन्छ तापनि उच्चभन्दा उच्च स्तरका व्यक्तिहरूसमेत जुवाको खेलाडी हुन मन पराउँछन् । राजनीति पनि एकप्रकारको जुवाकै खेल हो ।

जुवा खेल्न नैतिकता चाहिँदैन किनभने जुवामा कहिल्यै नैतिकताको ख्याल नै गरिँदैन । सरकारी कार्यालयको कुनै एउटा कार्यालय सहयोगी हुन त निश्चित योग्यता चाहिन्छ तर देश हाँक्न चाहने राजनीतिक जुवाको खेलाडी बन्न कुनै योग्यता निर्धारण गरिएको पाइँदैन ।

राजनीतिक सिद्धान्त र दर्शन प्रतिपादन गर्ने अनि त्यसको अनुसरण गर्न रुचाउने एकाध पात्रहरू राजनीतिक मैदानमा नउत्रिएका होइनन् तर त्यो नगण्य उपस्थितिबाहेक राजनीतिकै खेलाडी बन्न कसैले श्रम र पसिना बगाएको देखिँदैन । कर्म नगरी फलको आशा मात्र गर्ने आफ्ना भक्तलाई निराकार भगवान्ले पनि वास्ता गर्न छाडिदिन्छन् तर राजनीतिक खेलाडीहरूले सिन्को नभाँचे पनि उनीहरूले आफूलाई सबै कामको हर्ताकर्ता ठान्न लजाउँदैनन् ।

जबसम्म राजनीतिलाई दर्शन र सिद्धान्तका बारेमा भन्दा जुवाको खेलजस्तै ठानिरहने दुष्प्रवृत्ति विद्यमान रहिरहन्छ तबसम्म राजनीतिक जुवाको खेलको निर्लज्जता कायमै रहिरहनेछ ।

चरित्र ? :

राजनीति गर्ने अधिकांश व्यक्तिहरू कहिले साँचो बोलेजस्तो गर्छन् भने कहिले ढाँटेर बोल्न मन पराउँछन् । कहिले कठोर बोल्छन् त कहिले मीठो बोल्न पनि अग्रसर हुन्छन् ।

कहिले जघन्य अपराध गर्न पनि पछि पर्दैनन् त कहिले दयालुजस्ता पनि देखिन्छन् । कहिले तिनै राजनेता स्रोत नखुलेको अकुत सम्पत्ति थुपार्न लजाउँदैनन् भने कहिले मन फुकाएर दान गरी दानवीर पनि कहलिन पुग्छन् । कहिले प्रशस्त धन खर्च गर्न अघि बढ्छन् भने कहिले धेरै धनसम्पत्ति बचत गर्न तल्लीन भएका देखिन्छन् । यसरी वेश्याले जस्तै विभिन्न किसिमका अभिनय गरेर राजनीति गर्नेहरू समाजमा प्रतिष्ठित हुन चाहन्छन् ।

त्यसैले नीतिवद् भतृहरिले राजनीतिलाई वेश्याको चरित्रसँग तुलना गरेका थिए । निश्चय नै केही कुशल राजनेताको चरित्रलाई छाडेर अधिकांश राजनेताको चरित्र र वेश्याको चरित्रमा समानता देखिनु कुनै आश्चर्य मानिँदैन । जबसम्म देश र जनताको सुरक्षाको बागडोर सम्हालेका राजनेताहरू नै आफ्नो चरित्रलाई वेश्याको चरित्रभन्दा पृथक् राख्न रुचाउँदैनन् र सचेत पनि हुँदैनन् तबसम्म राजनीति निर्लज्जताको नमुना बनेर समाजमा अनादृत भइरहनेछ ।

बैठान :

जुनसुकै सरकारी वा गैरसरकारी कर्मचारीहरूको नियुक्तिका लागि निश्चित योग्यता तोकिए जस्तै जनप्रतिनिधि वा सरकार सञ्चालनको नेतृत्व गर्ने निकायमा पुग्ने राजनेताहरूको छनोटमा न्यूनतम योग्यता र अनुभव निर्धारत गरिने हो भने राजनीतिक क्षेत्र पनि निर्लज्जताको नमुना बन्ने थिएन । प्राध्यापक, डाक्टर, इन्जिनियर, शिक्षकलगायत सम्पूर्ण बुद्धिजीवीहरूले आफ्नो मर्यादा आफैले राख्न सक्ने हो भने हरेक बुद्धिजीवीबाट राजनेताहरूले पनि समुचित सरसल्लाह र मार्गनिर्दशन प्राप्त गर्दै जान सक्ने थिए । राजनीतिमा नैतिकता कायम हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा अवलम्बन गर्न सकेका खण्डमा अनैतिक काम गर्नेले मान पाए भन्ने जनगुनासो सुन्नुपर्ने थिएन ।

आश्वासनको खेती नगर्न, सदैव सत्तामै आँखा नलगाउन, नैतिकताको ख्याल गर्न, चुनावको भन्दा भविष्यको चिन्ता गर्न, जुटको प्रतिस्पर्धा गर्न, जुवाको खेल नठान्न र वेश्याको जस्तै चरित्र अभिनय नगर्न सचेत हुँदै जाने हो भने राजनीतिक क्षेत्र निर्लज्जताको नमुना बन्नबाट क्रमशः मुक्त हुँदै जानेछ ।



प्रतिक्रिया दिनुहोस !