६ जेष्ठ २०८१, आइतबार

बाङैबाङको जिल्ला रोल्पा 

प्रकाशित मिति :  7 May, 2024 2:23 pm


राेल्पा जिल्लामा मगर जातीको संख्या ४४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। जिल्ला सदरमुकाम लिबाङमा रहेको छ। लि मा बाङ जोडिएर लिबाङ भएको हो। मगर भाषमा लिको अर्थ बाँस र बाङको अर्थ समथर (चौर) हुने भएकाले बाँसैबाँस भएको समथर ठाउँको रुपमा सदरमुकामलाई लिवाङ राखिएको देखिन्छ ।

—-अमर अधिकारी—-

बि.सं. २०१८ सालभन्दा अघि रोल्पा नाम गरेको जिल्ला अस्तित्वमा थिएन । नेपालको संविधान, २०१९ बमोजिम नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो भने २०२९ सालमा चार विकास क्षेत्र र २०३१ सालमा पाँच विकास क्षेत्रमा विभाजन गरियो। शुरुमा राप्ती र कर्णालीदेखि पश्चिमलाई सुदुरपश्चिम विकास क्षेत्र भनिएकोमा पछि तत्कालिन कर्णाली, भेरी र राप्तीलाई मध्यपश्चिमाञ्चल विकास क्षेत्र नामाकरण गरीयो। 

तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको शुरुआतीसंगै जिल्लाहरुको संरचना, विभाजन र परिमार्जन गर्ने क्रममा प्यूठान र सल्यान जिल्ला अन्तर्गत रहेका केही भू–भागहरुलाई मिलाएर एउटा छुट्टै जिल्ला कायम गरी त्यसलाई रोल्पा जिल्ला नाम दिइयो । त्यसपछि हालको सल्यानमा पर्ने कोटमौला गाउँ पञ्चायतको रोल्पा भन्ने ठाउँको नामबाट रोल्पा जिल्ला नाम रहन गयो र जिल्ला सदरमुकाम कहाँ कायम गर्ने भन्ने विषयमा भद्र भलादमीहरुको छलफलबाट लिबाङमा स्थापना गर्ने निर्णय भयो । लिबाङमा पानीको स्रोत धेरै भएकोले सुविधाको दृष्टिले त्यहीँ नै सदरमुकाम कायम गरियो। रोल्पा जिल्लाको नाम राखेको कोटमौलाको रोल्पा भन्ने ठाउँ हाल सल्यानमा पर्दछ।

रोल्पा जिल्ला छुट्टै रुपमा र अस्तित्वमा आए तापनि शुरुका केही बखतसम्म सबै सरकारी कामकाज प्यूठान जिल्लाबाटै हुने गर्दथ्यो । रोल्पा जिल्लामा ५४ वटा गाउँ पञ्चायत रहँदैआएकोमा पुनः भौगोलिक संरचना गर्ने क्रममा २०३२/०३३ सालतिर रोल्पा जिल्ला अन्तर्गतका ढाकाबाङ,  दमाचौर, कालागाउँ,  थारमारे र  कोटमौला गाउँ पञ्चायतहरु सल्यान जिल्लामा र रोल्पा जिल्लाको खारा लगायतका गाउँ पञ्चायतहरुलाई रुकुम जिल्लामा मिलान गरिएको थियो भने प्यूठान जिल्ला अन्तरगत रहेका मसीना,  जौलिपोखरी,  घोडागाउँ,  खुंग्री तथा सल्यान जिल्लाका दुबिडाँडा,  सखी,  झेनाम,  नुवागाउँ,  जुँगार,  गैरीगाउँ,  बुढागाउँ र डुब्रिङ गाउँ पञ्चायतहरु रोल्पा जिल्लामा मिलान गरेपछि रोल्पा जिल्लामा ५१ वटा गाउँ पञ्चायत कायम हुनगयो। २०४६ सालमा बहुदलिय ब्यवस्था स्थापना भएपछि सबै गाउँ पञ्चायतहरु गाउँ विकास समितिमा रुपान्तरण भए। 

साविक राप्ती अञ्चलमा कम साक्षर भएको जिल्ला रोल्पा हो। हालसम्म लोकसेवा परीक्षा पास गर्नेमा अन्य चार जिल्लाको तुलनामा ज्यादै न्यून संख्यामा उत्तीर्ण हुन्छन् रोल्पालीहरु। यो लेखक रोल्पाली भएकै कारण घरिघरि हेपिनुपरेको थियो। कसैकसैले “रोल्पालीले पनि सरकारी जागिर खान्छन् र?” भनेर प्रश्न गर्दा यो लेखकलाई ज्यादै चित्त दुख्नेगर्दथ्यो।

केही वर्षदेखि रोल्पाको विकासमा भने उल्लेखनीय प्रगति भएको पाइन्छ। सबै वडामा मोटरबाटो पुगेको छ। यातायात, सञ्चार, विद्युत, खानेपानीलगायतका सुविधाले रोल्पालीले राहन महसुस गर्न भने पाएका छन्। रोल्पाको एक मात्र विमानस्थल बडाचौरलाई पुनः सञ्चालनमा ल्याउनसकिएमा सुनमा सुगन्ध हुने देखिन्छ । २०४१ सालमा २१० रुपैयाँमा बडाचौरबाट हवाइजहाजमा भैरहवा उडेको यो लेखकले विर्सेको छैन। विमानस्थल पुनः सञ्चालनका लागि स्थलगत निरीक्षण त भएकै हो। बाँकी प्रक्रियामा ढिलाइ गरिनु हुँदैन।  

रोल्पामा महत्वपुर्ण सम्पदाहरुका रुपमा धार्मिक स्थलहरु छन्। त्यस्तै ऐतिहासिक दरबारहरुको संरक्षण र जिर्णोद्दार नहुँदा पर्यटक भित्र्याउन कठिनाई भैरहेको छ। दक्षिणतर्फबाट अर्थात् पक्कीबाटो भएर रोल्पा प्रवेश गर्दावित्तिकै धार्मिकस्थल चतुर्भुजधाम आउँछ, जहाँ शिवपाञ्चायन मन्दिर रहेको छ।

मन्दिर परिसरमा अन्य देवीदेवताका मन्दिरहरु पनि रहेका छन्। त्यस्तै अलिकति उकालो काटेपछि त्रिपुरासुन्दरी देवीको मन्दिर पनि छ। ४९ औँ शक्तिपीठको रुपमा चिनिने यस मन्दिरमा आउने दरशनार्थीहरुको संख्यामा बृद्धि हुँदै गैरहेको पाइन्छ। त्यस्तै खुंग्रीकोट दरबारको मर्मत संभारको कार्य अन्तिम चरणमा रहेको छ। गजुलकोट दरबार र जलजला धार्मिकस्थलले पनि पर्यटक तान्नसक्यो भने रोल्पा पर्यटन र तीर्थाटनमा अगाडि बढ्ने कुरामा दुईमत छैन।

नेपालको संविधान, २०७२ लागू भएपछि राज्य पुनर्संरचना गर्दा १० वटा स्थानीय तह कायम भै ती सबै १० वटै पालिकाहरुमा ७२ वटा वडा कार्यालयहरु कायम गरिएका छन् । ती १० वटा पालिकाहरुमध्ये १ वटा रोल्पा नगरपालिका रहेको छ भने अरु ९ वटा गाउँपालिकाहरु क्रमशः सुनिल स्मृति गाउँपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, माडी गाउँपालका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिका रहेका छन। केही समयसम्म लिबाङ नगरपालिका रहेकोमा पछि केही भागहरु गाभेर रोल्पा नगरपालिका कायम गरिएको हो।

बाङहरुको प्रसंगः

हुन त नेपालको पूर्वदेखि पश्चिमसम्मकालाई रोल्पा पुग्नुअघि नै भालुबाङ पुग्नैपर्छ। भालुबाङ भने दाङमा पर्दछ। भालुबाङबाट उत्तरतिर लागियो भने प्यूठानको एउटा बाङ आउँछ त्यो हो प्यूठानको गोठीबाङ। त्यसकै पूर्वतिर पर्छ प्यूठानको बर्जिबाङ। दाङको तुलनामा प्यूठानमा पुछारमा बाङ भएका ठाउँहरु थोरै छन् र प्यूठानका बाङको तुलनामा रोल्पामा धेरै बाङहरु छन्। खाम वा मगराँती भाषामा बाङको अर्थ समथर जमिन वा चौर भन्ने बुझाउँछ।   

रोल्पाको कूल क्षेत्रफल १८७९ वर्गकिलोमिटर छ। त्यस्तै रोल्पाको जनसंख्या २०६८ को जनगणना अनुसार २,२१,१७७ छ भने २०७८ को जनगणना अनुसार २,३६,२२६ रहेको छ। दशवर्षको अवधिमा रोल्पाको जनसंख्या १५,०४९ ले बृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्लामा मगर जातीको संख्या ४४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ।

जिल्ला सदरमुकाम लिबाङमा रहेको छ। लि मा बाङ जोडिएर लिबाङ भएको हो। मगर भाषमा लिको अर्थ बाँस र बाङको अर्थ समथर (चौर) हुने भएकाले बाँसैबाँस भएको समथर ठाउँको रुपमा सदरमुकामलाई लिवाङ राखिएको देखिन्छ ।

रोल्पा टेक्दावित्तिके धार्मिकस्थल चतुर्भुज आउँछ जसलाई लाल्टिबाङ पनि भनिन्छ। हुन त उत्तरतिर जाँदा बायाँतर्फ माडीपारी भाग्रिबाङ पनि छ। रोल्पामा अहिले एउटा गाउँपालिकाको नामपछाडि बाङ नै छ। त्यो हो थबाङ गाउँपालिका। त्यस्तै साविक थबाङ गा.वि.स. मा मात्रै टोलका नामहरुको पछाडि पनि बाङ जोडिएका छन्। ती हुन्: तेलबाङ, जुरबाङ, झकिबाङ, दहबाङ, कोइजबाङ, छेर्लोबाङ, गोबाङ, तुर्जुबाङ, बिबाङ, लाकोबाङ, चितबाङ, राचिबाङ, गोठबाङ, खेरबाङ, फुन्टीबाङ, चालाबाङ, गोलकोबाङ, चबाङ, धिकराबाङ र चाबाङ।

साविक उवा गा.वि. स. मा पनि पछाडि बाङ भएका बस्ती वा टोलहरु छन्। ती हुन्: पुसबाङ, बराजबाङ, गोराबाङ, बलेबाङ, बजिबाङ, गुइतिबाङ, ताबाङ र शेरबाङ।

अन्य बाङहरुः

माजीबाङ, भजबाङ, भाबाङ, बाइबाङ, कोटबाङ, दहबाङ, हिउबाङ, झौबाङ, एनाबाङ, धुङबाङ, काजबाङ, राक्सेबाङ, टोरीबाङ, पाबाङ, एनाबाङ, खर्चिबाङ, सेबाङ, फुन्टीबाङ, पोखरबाङ, मैबाङ, हिबाङ, जिबाङ, चवरबाङ, धाराबाङ, पाछाबाङ, पोबाङ, रुलबाङ, खिबाङ, माबाङ, कोरबाङ, मुंग्रीबाङ, नान्कीबाङ, ङक्सीबाङ, हाङबाङ, धमबाङ, पन्चीबाङ, राल्बाङ, खोरबाङ, धौलबाङ, कोबाङ, इरिबाङ, कोर्चाबाङ, धबाङ, पाहाबाङ, दरबाङ, जेदबाङ, जेलबाङ, सिमलबाङ, महीबाङ, पाखाबाङ, टिचाबाङ, धुनबाङ, तार्केबाङ, हानबाङ, पारिबाङ, वारिबाङ, निनबाङ, तेबाङ, झौबाङ, सेबाङ, थलिबाङ, आलिबाङ।

बडाबाङ र सुलिबाङलाई पछि बडाचौर र सुलिचौर बनाइएको भन्ने भनाई पनि पाइन्छ। यसरी नेपालमा सबैभन्दा धेरै बाङहरु भएको जिल्ला रोल्पा नै हो भन्नुमा दुईमत छैन। यद्यपि अन्य जिल्लाहरुमा पनि केही बाङहरु छन्। ती हुन्: प्यूठानः धनबाङ, सकीबाङ, कोचिबाङ, डिबाङ, मर्कबाङ, दाङबाङ, स्याउलीबाङ  र तोरबाङ । म्याग्दीः राराबाङ, बागलुङः बुर्तिबाङ। तपाइँकाे क्षेत्रमा बाङ नाम भएका गाउँ कति छन्? सुझावका रूपमा उपलब्ध गराउन सक्नुहुनेछ। 

  • खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।



प्रतिक्रिया दिनुहोस !