७ बैशाख २०८१, शुक्रबार

रोल्पामा कोरोना संक्रमण बढ्दो तर रु.३० लाख लगानीमा निर्माण गरिएको आइसोलेसन केन्द्र बन्द गरियो

प्रकाशित मिति :  24 November, 2020 8:14 am


रोल्पा,९ मंसिर । 

जिल्लामा कोरोना संक्रमित बढिरहे पनि आइसोलेसन केन्द्र हटाइएको छ । संक्रमितलाई बेग्लै राख्ने र उपचारसमेत गर्ने गरी यसअघि ‘नमुना आइसोलेसन केन्द्र’ बनाइएको थियो । यो हटेपछि रोल्पा आइसोलेसन विहीन बनेको छ ।

एउटा नगरपालिका र ९ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पसमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएकामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको दबाबमा उक्त आइसोलेसन हटेको हो ।

करिब ३० लाख लगानीमा चिकित्सकसहित लिबाङमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र चलाइएपछि करिब २ सयलाई सन्चो बनाई घर पठाइएको थियो । त्यसयता नयाँ स्थानमा आइसोलेसन निर्माण गरी संक्रमितलाई बेग्लै राख्ने निर्णय एवं पहल भए पनि पूरा भएन । गुरुङ गाउँस्थित सामुदायिक भवनलाई नयाँ आइसोलेसन केन्द्रका रूपमा चलाउने प्रयास सफल हुनेमा अनिश्चितता देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र नै निष्क्रिय बनेपछि संक्रमण रोकथाम, पहिचान र व्यवस्थापन निष्प्रभावी बनेको रोल्पा अस्पताल व्यवस्थापन समितिका संयोजक फविन्द्र आचार्यले बताए । ‘प्रजिअसँग नयाँ स्थानमा आइसोलेसन केन्द्र सञ्चालन गर्नेबारेमा पटकपटक छलफल गर्दा पनि सहयोग पाइएको छैन,’ आचार्यले भने, ‘यसबारे रोल्पा नगरपालिका, जिल्ला समन्वय समिति र अन्य स्थानीय तहले समेत ध्यान दिएका छैनन् । संक्रमितलाई कहाँ राख्ने र कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ ।’

प्रजिअ नरेन्द्र रानाले संक्रमितलाई होम आइसोलेसनमा राखेर निको बनाउने भन्ने सरकारको निर्णय भएकाले त्यसो गरिएको तर्क गरे । उनका अनुसार संक्रमित फेला परेमा सबैलाई होम आइसोलेसनमा बस्न सूचना गरिसकिएको छ । दसैं र तिहार यता जिल्लामा सक्रिय संक्रमितको संख्या ५ दर्जनभन्दा बढी छ । सबै संक्रमितलाई ‘घरमै बस्न’ उर्दी लगाइएको छ । तर, अनुगमन र व्यवस्थापनमा कसैलाई जिम्मेवार बनाइएको छैन ।

रोल्पा अस्पतालकी प्रमुख डा. धनमाया घर्तीमगरले संक्रमितलाई अस्पतालमै राखेर उपचारसमेत गर्ने गरी योजना अघि सारिए पनि स्थान अभावले समस्या व्यहोर्नुपरेको बताइन् । ‘संक्रमितलाई बेग्लै राखेर निको बनाउन सके अन्यमा संक्रमण हुनबाट जोगाउन सकिने थियो,’ उनले भनिन् । अघिल्लो महिना अस्पतालमा भर्ना भएका बिरामी र चिकित्सकमा कोरोना संंक्रमण भएको पुष्टि भएको थियो । डा. घर्तीमगरले अस्पतालभित्र कोरोना संक्रमण कसरी भयो भन्नेबारेमा अध्ययन भइरहे पनि प्रमाण भेट्टाउन मुस्किल भएको बताइन् ।

रोल्पामा कोरोना संक्रमणबाट हालसम्म करिब आधा दर्जनको मृत्यु भएको छ । अधिकांश संक्रमितको मृत्यु उपचार गर्दागर्दै भएको हो । गम्भीर प्रकारका लक्षण देखिएका बिरामीलाई अस्पतालको सिफारिसमा चिकित्सकले बाँके, दाङ, बुटवल र काठमाडौंका अस्पतालमा थप उपचारका लागि पठाउने गरेका छन् । काशीराम डाँगी/कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !