१६ चैत्र २०८०, शुक्रबार

विश्व फुटबलका ‘भगवान्’ डिएगो म्याराडोनाको निधन

प्रकाशित मिति :  26 November, 2020 6:42 am


काठमाडौं, ११ मंसिर ।

अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । बुधबार राति हृदयाघातबाट विश्व फुटबलका ‘भगवान्’ म्याराडोनाको निधन भएको हो । ६० वर्षीय उनी लामो समयदेखि बिरामी थिए र गत महिना मात्रै उनको मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाका राष्ट्रपति अर्बेटो फर्नान्डेजले म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । म्याराडोनालाई विश्व फुटबलमै उत्कृष्ट मिडफिल्डर मानिन्छ ।

१९८६ को विश्वकप फूटबलमा म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि मात्र दिलाएनन्, हातले गोल गरेर पनि संसारलाई चकित बनाए । उनी आफैँले त्यसलाई ‘ह्यान्ड अफ गड’ भनेका छन् ।

क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध म्याराडोनाले गरेको हातेगोल अत्यधिक चर्चित र विवादास्पद बनेको थियो । यही विश्वकपमा उनले इंग्ल्यान्डविरुद्धकै खेलमा मैदानको मध्यभागबाट ६ जना खेलाडीलाई छक्याउँदै बल लगेर उत्कृष्ट गोल गरेका थिए, जुन विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट गोलका रूपमा मानिन्छ । सो विश्वकपमा म्याराडोनाले गोल्डेन बुट जितेका थिए ।

सन् १९९० मा इटालीमा भएको विश्वकपमा म्याराडोनाले अर्जेन्टिनालाई पुनः एकपटक फाइनलसम्म पुर्‍याए । ब्याक टु ब्याक विश्वकपको फाइनल पुग्दा म्याराडोना नै नायक बने । तर, फाइनलमा तत्कालीन पश्चिम जर्मनीसँग १–० ले पराजित हुँदा म्याराडोनाको दोस्रोपटक विश्व च्याम्पियन हुने सपना तुहियो । त्यसपछि चोट र कोनिकका कारण उनले पुरानो जादुमयी खेलको लय समात्न सकेनन् । १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्दै म्याराडोनाले ९१ खेलमा ३४ गोल गरेका छन् ।

आफ्नो करियरको दोस्रो चरणमा म्याराडोना कोकीनको लतको शिकार भएका थिए । सन् १९९१ मा ड्रग्स परीक्षणका क्रममा पोजेटिभ देखिएपछि १५ महिना खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले सन् १९९७ मा ३७ औं जन्मदिनको अवसर पारेर फूटबल करियरबाट बिदा भएका थिए । उनलाई सन् २००८ मा अर्जेन्टिनी फूटबल टिमको प्रमुख प्रशिक्षक बनाईएको थियो र २०१० मा जर्मनले आफ्नो टिमलाई विश्वकपमा हराएपछि उनले पदबाट राजिनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !