१६ चैत्र २०८०, शुक्रबार

आज गुरुनानक जयन्ती, विविध कार्यक्रम गरी मनाइदै

प्रकाशित मिति :  30 November, 2020 8:07 am


काठमाडौं, १५ मंसिर ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । गुरुनानकले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनले गराएको मानिन्छ।

गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस वर्ष कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।

शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेका थियो ।



प्रतिक्रिया दिनुहोस !