१३ बैशाख २०८१, बिहिबार

साउदी अरबले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका लागि नेपालको सहयोग खोज्यो

प्रकाशित मिति :  12 December, 2020 9:06 pm


काठमाडौं,२७ मंसिर ।

साउदी अरबले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका लागि नेपालको सहयोग खोेजेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेटेर नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीमा सहयोगको अपेक्षा गरेका हुन् ।

कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ । श्रेष्ठको सचिवालयले भनेको छ,”साउदी अरेबियाले राजधानी रियादमा सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष माननीय श्रेष्ठसग भेट गर्नु भएको हो ।”

एसियाली खेलकुद आयोजनका लागि रियादसँगै कतारले पनि दाबी गरेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो ।
राजदूतसँगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसँग थप छलफल हुने बताएका छन् ।

उनले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताए । मस्कटमा हुने साधारण सभामा श्रेष्ठले भाग लिनेछन् । त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीसँग थप भेटघाट गर्नेछ । राजदूत आरवेसगको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !