६ बैशाख २०८१, बिहिबार

अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण कार्ययोजना

प्रकाशित मिति :  17 January, 2021 4:25 pm


काठमाडौं।

काठमाडौँ उपत्यकामा अत्याधिक सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ ।

सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम ७ प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण ६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । सडकका लागि १२ करोड छुट्याइएकामा ८ करोडमा ठेक्का सम्झौता भएको उनले बताए । डिभिजन प्रमुख नेपालीका अनुसार सडकमा ३ लेन थपेर बिस्तार गरिनेछ । उनले भने, “कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा २ दुई लेन र बायाँतर्फ १ लेन थप गर्न लागिएको छ ।”

सो सडकमा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल ४ लेन रहेकामा ३ लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । उक्त सडकमा ३ लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । डिभिजनले गत भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको जनाएको छ । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको प्रमुख नेपालीले बताए । उनले भने, “संरचना हटिसकेपछि निर्माणको काम सरासर अघि बढ्न सक्नेछ ।”

सडक निर्माणका क्रममा विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकाले घर धनीसँग कुरा भइरहेको र सहमतिमा ल्याएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ ।

सडक निर्माणको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकम लगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ । सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ । त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने राकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने विभागको योजना छ ।

सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान छन् । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी मात्र यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो । अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘अण्डर पास’ वा ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ । -रासस



प्रतिक्रिया दिनुहोस !