७ बैशाख २०८१, शुक्रबार

भारतले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौ आइपुग्यो, पाँच दिनभित्र सवै प्रदेशमा पुग्ने

प्रकाशित मिति :  21 January, 2021 2:23 pm


काठमाडौँ ८ माघ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ ।

खोप लिएर आएको एयर इण्डियाको जहाज आज बिहान नेपाल आएको हो । कोरोना खोपको निगरानीका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका थिए ।

कोरोना विरुद्धको खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्ती केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । सुरूमा खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।



प्रतिक्रिया दिनुहोस !