१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीले दियो बागमतीलाई २३० रनको विजयी लक्ष्य

प्रकाशित मिति :  28 January, 2021 1:03 pm


काठमाडौँ १५ माघ । राजेश पुलामी मगरको अर्धशतकीय इनिङ्समा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले पूरा खेल खेल्दै १० विकेट गुमाएर २२९ रन बनाएको हो ।

विभागीय टोलीविरुद्ध शुरुवाती बलिङमा आक्रामक देखिएका गौतम केसीले आर्मीको ब्याटिङ कमजोर पारे । उनले शीर्ष ब्याट्सम्यान हरि चौहान, अनिल मण्डल र रोहित कुमार पौडेललाई पवेलियन फर्काएका थिए । गौतमले उत्कृष्ट बलिङ गर्दा आर्मीले १७ रनमा ३ विकेट गुमाइसकेको थियो ।

चौथो विकेटका लागि भने आर्मीका भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । उनीहरुको साझेदारी बागमतीका नन्दन यादवले तोडे ।

जसमा लोकेशले २३ रन बनाए । ४० रन बनाएर खेलिरहेका भिमलाई तिलक भण्डारीले पवेलियन फर्काए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

लोकेश आउट भएपछि मैदान छिरेका राजेश पुलामी मगरले आर्मीको ब्याटिङ इनिङ्स सम्हाले । उनले आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम शोवसँग राम्रो साझेदारी गरे ।

उनीहरुबीच ९२ रनको साझेदारी भएको थियो । जसमा ३५ रनमा खेलिरहेका बिक्रमलाई रामनरेश गिरीले विकेटकिपर आकास थापामार्फत् क्याच गराए ।

अविजित रहेका राजेशले ९१ बलको सामना गर्दै ४ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाए । यस्तै, सुशान भारीले १६ रन, कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका खेलाडीले आर्मीका लागि ३५ उपहार रन दियो । जसले आर्मीलाई सहज अवस्थामा पुर्‍याउन मद्दत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !