१४ बैशाख २०८१, शुक्रबार

प्रणय दिवसमा आन्तरिक पर्यटकले भरिभराउ सौराहा

प्रकाशित मिति :  14 February, 2021 12:09 pm


चितवन, 

पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।

रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेवान) सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आजसम्म जारी रहनेछ ।

महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।यस्तै ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उनका अनुसार आज ब्राह्मणसहित विभिन्न जातिका नौ वटा जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । थारु, तामाङ, कुमाल, मगर, नेवारलगायतका जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् ।

अध्यक्ष गिरीले भने, “अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।” सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उनले बताए । स्वीकृति पाएमा रेवानले हरेक हप्ता कार्यक्रम गर्ने उनकाे भनाइ थियो ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार सौराहाका सबै होटल भरिएका थिए । देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पारिवारिक र जोडी घुम्न आएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस !