१२ श्रावण २०८१, शनिबार

बालुवाटारको निशानामा उपराष्ट्रपति पुन

प्रकाशित मिति :  20 February, 2021 9:25 am


काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउदै आएका उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ प्रति पनि बालुवाटार आक्रमक देखिएको छ ।

प्रतिनिधि सभा विघटनप्रति असन्तुष्टि जनाउदै आएका उपराष्ट्रपति पुनप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पहिलो पटक सार्वजनिक रुपमा सामाजिक सञ्जाल मार्फत आलोचना गरेका छन् ।

उपराष्ट्रपति पुनिका विषयमा अहिलेसम्म मुख नखोलेको बालुवाटारले प्रतिनिधि सभा विघटनको झण्डै ३ महिनापछि उनीमाथि खनिएको हो । उपराष्ट्रपति पुनले विभिन्न अवसरमा दिने शुभकामना सन्देशमा प्रतिनिधि सभा विघटनमा असन्तुष्टि जनाउँदै आएका थिए । तर, नेपाल पत्रकार महासंघको काठमाडौंमा भएको महाअधिवेशनमा पनि सोही आशय व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेको देखिएको छ ।


संसद विघटनपछि उपराष्ट्रपति पुनले देखाए असन्तुष्टिको ‘चरम रुप’


उपराष्ट्रपति पुनको अभिव्यक्तिलाई ‘प्रचण्डपथीय मन्त्ब्य’ भनिएको छ । आज बिहानै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भनेका छन्, “अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति स्वेच्छिक होइन र हुनै सक्दैन । ”


पछिल्लो राजनीतिक घटनाक्रमप्रति उपराष्ट्रपति पुन निरन्तर असन्तुष्ट


उनले थप भनेका छन्,“उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन । ”

आफ्नो कदमको विरुद्धमा उत्रिएका पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्त लगायत विरुद्ध प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै खरो आलोचना गर्दै आएका छन् । सभामुखप्रति सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीले आलोचना गर्दै आएपनि उपराष्ट्रपति विरुद्ध भने आफ्नो प्रेस सल्लाहकार मार्फत निशाना साधेका हुन् ।

सभामुख अग्नि प्रसाद सापकोटालाई समेत जोडेर प्रेस सल्लाहकार थापाले भनेका छन्,“बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्रकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो !”


नेपाली जनतामा निराशा,आक्रोस् र अन्योलता छायो : उपराष्ट्रपति पुन


उपराष्ट्रपति पुनले यसैबीचमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईबीच आफ्नै निवासमा छलफल समेत गरेका थिए ।

त्यसबारे टिप्पणी गर्दै थापाले भनेका छन् ,“सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहनेर टाँस्सिइरहने ? सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ? ”



प्रतिक्रिया दिनुहोस !