१४ माघ २०७९, शनिबार

हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप बैशाख पहिलो साता

प्रकाशित मिति :  24 February, 2021 1:44 pm


काठमाडौं । मार्शल आर्ट्स हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनले आज प्रतियोगिताबारे जानकारी दिँदै आगामी ४–६ बैशाखमा हुने प्रतिस्पर्धामा सातै प्रदेशबाट खेलाडी सहभागी हुने जानकारी गराएको छ ।

काठमाडौं ठमेलस्थित होटल आर्ट्समा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुने जानकारी दिए ।

उनका अनुसार प्रतिस्पर्धामा २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुने छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छन् ।

“रोना महामारीले खेलकुद गतिविधि हुन पाएन । अहिले भाइरस प्रभाव केही कम भएको महसुस भएकोछ । त्यसैले हामीले फेरि खेलाडीहरुलाई चलायमान बनाउने उदेश्यले प्रतियोगिताको तयारी गरेका छौं”, पत्रकार सम्मेलनमा अध्यक्ष घर्ती मगरले भने,”अब खेलाडीहरुका लागि बिस्तारै प्रतियोगिता बढाउदै जाने     छौं ।’

संघले यसअघि आफ्नो पहिलो राष्ट्रिय च्याम्पियनसिपको रुपमा रोल्पामा सहिद स्मृति हाप्किडो च्याम्पियनसिपको आयोजना गरेको थियो । यस्तै, कोरोना महामारीका कारण दोस्रो र तेस्रो स्मृति च्याम्पियनसिप भने भर्चुअल गरेको थियो । संघले प्रतिस्पर्धाका विजेता खेलाडीहरुलाई आर्थिकसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाएको छ ।

आयोजकले प्रतियोगितामा सहभागी हुन आउने सबै खेलाडीको यातायातदेखि बस्ने र खाने व्यवस्था संघले नै गर्ने जनाएको छ । खेलाडीको सहभागीतासमेत निशुल्क गरिएको प्रतियोगिता आयोजनाका लागि अनुमानित ६० लाख रुपैयाँ खर्च लाग्ने संघका अध्यक्ष घर्ती मगरले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !