२१ बैशाख २०८१, शुक्रबार

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

प्रकाशित मिति :  14 March, 2021 12:50 pm


काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ ।

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ९.४ डिग्री र अधिकतम तापक्रम २२.४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस रहेको छ ।



प्रतिक्रिया दिनुहोस !