राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालको नौं बुँदे अवधारणा पत्र पेश, छलफलका लागि १० वटा समूह
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल पक्षले आफूहरूको राष्ट्रिय भेला असफल पार्न सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गरिएको आरोप लगाएको छ ।
राष्ट्रिय भेलाको उद्घाटनपछि पत्रकार सम्मलनमा नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने,“भेलालाई असफल पार्न गरिएका तमाम हर्कतहरूलाई परास्त गर्दै आज देशभरबाट उत्साहपूर्वक कमरेडहरुको सभागिता रहनुले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएको छ ।”
पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको भट्टराईको भनाई थियो ।
भेलामा माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठको अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख छ ।
अवधारणापत्रमा छलफल गर्न सहभागीहरूलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ ।
आ–आफ्नो समूहमा छलफल गरी टोली नेतामार्फत भोलि सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम तय गरिएको प्रमुख भट्टराईले जानकारी दिए ।
सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटी र जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ ।
अवधारणपत्रका साथ समसामयिक विषयमा प्रस्तावहरु पारित गर्दै भेला भोलि समापन हुनेछ ।








