२४ बैशाख २०८१, सोमबार

महासंघले भन्यो, ‘दुुग्ध किसानको भुक्तानी यथासिघ्र गरियोस्’

प्रकाशित मिति :  23 March, 2021 5:58 pm


काठमाडौं ।

राष्ट्रिय कृषक समूह महासंघले दुध उत्पादक किसानको भुक्तानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले महिनौंदेखि भुक्तानी नपाएर कृषकहरु मारमा परेको भन्दै भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

नेपालभर ११ लाख भन्दा बढी किसान परिवारहरू व्यवसायी दुग्ध उत्पादनमा निर्भर रहेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्था तथा नीजि क्षेत्रका डेरी उद्योगले लामो समयदेखि बक्यौता बाँकी राखेको गुनासो किसानहरुको रहँदै आएको छ ।

किसानहरूलाई महिनौं महिनासम्म पनि सरकारी तथा गैर सरकारी डेरी उद्योगीहरूले दुग्धको बक्यौता रकम भुक्तानी नदिँदा किसान मर्कामा परेका छन्, व्यवसाय सञ्चालन गर्न बैडकबाट लिएको ऋण तिर्न, गाई भैंसीलाई दुटो, पराल, दाना खरिद गर्न र परिवार चलाउन किसानहरूलाई धौ धौ परिरहेको महासंघले जनाएको छ ।

“दुग्ध विक्रि गरेको रकम समयमा नपाइ परिवारको जिविकोपार्जनमा कठिन परेकोले किसानहरु अन्दोलित अवस्थामा छन्, त्यसैले किसानलाई परेको समस्या समाधानका लागि छिटो भन्दा छिटो पहल कदमी चाल्न र बक्यौता रकम किसानलाई दिलाउन सम्बन्धित निकायहरू तथा नेपाल सरकारलाई अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !