१४ बैशाख २०८१, शुक्रबार

साहित्यकार थापाको चौथो कृति ‘अक्षरहरुको मूर्च्छना’ लोकार्पण

प्रकाशित मिति :  28 March, 2021 12:31 pm


-कृष्ण रानाभाट-

पोखरा । साहित्यकार लक्ष्मण थापाको चौथो कृति कविता संग्रह ‘अक्षरहरुको मूर्च्छना’ शनिबार एक समारोहकाबीच लोकार्पण गरिएको छ । कृतिको प्रमुख अतिथि तथा अतिथिहरुले संयुक्त रुपमा लोकार्पण कार्यक्रमको उद्घाटन गरेका थिए ।

पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ट साहित्यकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले कवि तथा साहित्यकारले धेरै संख्या भन्दा अजम्बरी हुने कृति प्रकाशन गर्नुपर्ने बताए ।

साहित्यकार तथा प्राज्ञ तिर्थ श्रेष्ठले असल साहित्यकारले शव्दहरुलाई उचित सम्मान गर्न सक्नुपर्ने बताउँदै आफ्ना रचनाहरुमा अनावश्यक थोपारेर शब्दकाे अवमूल्यन गर्न नहुने चर्चा गरे ।

सो अवसरमा विम्ब कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायीका प्राज्ञ हरिदेवी कोइराला, नवनीत साहित्य सागरका अध्यक्ष तथा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा लगायतले शुभकामना व्यक्त गर्दै श्रष्टा थापाले आफ्नो मनमा भएका उकुस मुकुसहरुलाई रचनाहरु मार्फत व्यक्त गर्ने स्वभाव रहेको व्यक्ति भएको बताएका थिए ।

श्रष्टा लक्ष्मण थापाले पोखरेली युवा साँस्कृतिक परिवारले आफूलाई कवि बनाउन प्रेरणा दिएको तथा पुछार सिटे अभियानले कृति प्रकाशनमा हौसला मिलेको बताउदै यस कार्यमा सहयोग गर्ने सबैमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कृतिको समालोचनात्म समिक्षा सन्जिव पौडेलले र श्रष्टा परिचय पोखरेली साँस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समिपले गरेका थिए ।

पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्र पौडेलले र कार्यक्रम संचालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !