४ जेष्ठ २०७८, मंगलवार

‘गरिखानेले दुःख नपाउन्, खानेकुरा उत्पादन र उपलब्धतामा कमी नआओस्’

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार १३:०७


काठमाडौं ।

काठमाडौं उपत्यका लगायत मुलुकभर सुरु भएको निशेधाज्ञा र बन्दाबन्दीसमेतमा श्रमिक र साना किसानको समस्यालाई प्राथमिकता दिन खाद्यको लागि कृषि अभियानले अपिल गरेको छ ।

अभियानले बिहीबार अपिल जारी गर्दै गरिखाने वर्गलाई तत्काल खाद्यान्न उपलब्धताको ज्ञारेन्टी गर्नेदेखि खाने कुराको उत्पादन, प्रशोधन र बजारीकरणमा संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर सहजीकरण गर्न आव्हान गरेको हो ।

अभियनका संयोजक उद्धव अधिकारीको हस्ताक्षर रहेको अपिलमा संघ, प्रदेश र स्थानीय तहले तत्काल र दीर्घकालमा खाना उत्पादन, संरक्षण र उपलब्धताका लागि गर्नुपर्ने सुझावहरु बुँदागत रुपमा दिइएको छ ।

यस्ताे छ अपिलः ……

कोभिड, निशेधाज्ञा र खाने कुराका सवालमा
खाद्यका लागि कृषि अभियानको अपिल

सम्पुर्ण सरोकारवालाहरु,

बन्दाबन्दीले आम जनसमु्दायमा तत्काल खानेकुराको उपलब्धतामा पर्ने प्रभाव र भविष्यको लागि खानेकुराको संकट टार्न सरकारले लिनु पर्ने बाटो पहिल्याउन ध्यानाकर्षणका लागि सबैमा सादर आग्रह गर्दछौंं । कोरोनाको प्रभाव विश्वव्यापी छ । हामी खानेकुरामा छिमेकी भारत र अन्य मुलुकसँग परनिर्भर छौ ।

अहिले कोरोना महामारी कारणले आयातित खासगरि भारतबाट आउने खानेकुराको उपलव्धता र ढुवानी प्रभावित हुने देखिन्छ । यसकारण हाम्रो खानेकुराको बन्दोबस्त भयावह हुने जोखिम झनै बढेको छ । यस्तोे बन्दाबन्दी अनिश्चित हुने भएकोले विषयको गम्भीरतालाई ध्यानमा राखी उच्च प्राथमिकतामा राख्न सरकार र अन्य सबै सरोकारवालालाई सादर अनुरोध छ ।

यस बर्ष फेरी खाद्यान्न उत्पादनको मुख्य मौसममा हुन लागेको यो बन्दाबन्दीले पोहोर झै यस पटक पनि सबैभन्दा बढि गाउघरका श्रमिक महिला, श्रमजिवी साना किसान, सहरी श्रमिक र सडक पेटीमा बस्ने मानिस, भुमिहिन, दलित, आदीबासी, बालबालिका, बृद्ध र दिर्घरोगि मारमा पर्नेछन् । यस पटकको बन्दाबन्दीमा पनि समयमै उपयुक्त निर्णय लिएनौ भने पोहोरको जस्तै संकट दोहोरिने कुरा निश्चित छ । यसमा सबै सजग हुन समेत आग्रह गर्दछौ ।

जगजाहेर नै छ, गत बर्ष कोभिड १९को विश्वव्यापी विस्तार र यसले सबैतहका मानव समुदायमा सृजना गरेको महामारीको भय, तत्काल खानेकुरा र अन्य दैनिकीमा देखिएका समस्याहरु निकै त्रासदीपूर्ण थिए । यस पटक फेरी यो नियति दोहोरिएको छ । यो जसरी फैलिदै छ, यसले हामी सम्भावित संकटको सङ्घारमा भएको दर्शाउँछ ।

यस्ता विपत्तिको बेला सबैभन्दा महत्वपूर्ण सुरक्षाकवच भनेको खानेकुराको बन्दोबस्त नै हो । गत बर्ष जस्तै अहिले खाना र खेतीपातीका समस्याहरु उस्तै छन् । हामीसग खाद्यसामाग्रीको पर्याप्त मौज्दात छैन र वितरण र पहुँचमा पनि उस्तै समस्या छन् । आयातित खाद्यान्नकोे समेत अभाव छ । महंगी ह्वात्तै बढेको छ । मौसमी र छोटो उत्पादन चक्र भएका खाद्यवस्तुमा स्थानीय बजार र वितरण प्रणाली प्रभावकारी नहुँदा एकातिर किसानका उपज नबिक्ने र अर्कोतिर आम मानिसले खान नपाउने समस्या उस्तै छ ।

काम र दामको खोजीमा विदेशमा श्रम गर्न गएको ठूलो समूहले फेरी नेपाल मै फर्किने क्रम सुरु गरेको छ । यसले देशमा रोजगारीको मागसँगै खानाकोे माग पनि निश्चित रुपमा बढ्ने छ । त्यसैले हामी सबै खानेकुराको स्थानीय तहमै जोहो गर्न तत्कालै खानेकुराको उत्पादनकमा लाग्न आवश्यक छ । मौज्दातको वितरण प्रभावकारी बनाउन र निकट भविष्यका लागि खाद्यान्न्को उपलब्धता कायम राख्न तत्कालिन रणनीतिहरु आवश्यक भएका छन् । पोहोर सालको अवस्थाबारेमा यहाँहरु अनभिज्ञ हुनुहुन्न ।

तसर्थ गतबर्ष यस्तो माहमारी झेल्न भएका असल अभ्यासबाट सिक्दै, समय छँर्दै आवश्यक तयार िगरी सम्भावित संकट टार्न सबै जागरुक र अग्रसर हुनुपर्ने भएको छ । यस सन्दर्भमा खाना र खेतीपातीका क्षेत्रमा सरकारले तत्कालै गर्नुपर्ने महत्वपूर्ण निर्णयहरुका बारेमा केही सुझाब समेत राखेका छौं ।

१. तत्काल गर्नुपर्ने काम

 क. खाना पुर्याउनका लागि

  • श्रमिकलाई रोजगारदाता या सरकार मार्फत खानेकुरा वा नगद साझेदारी गर्ने । अनौपचारिक क्षेत्रका श्रमिकलाई र अन्य खानेकुराको अभाव झेलिरहेका समुदाययलाई ठाउँठाउमा स्थानीय सरकारहरुको सुपरिवेक्षणमा स्वयंसेवी संस्था मार्पmत भण्डाराहरु संचालन गर्ने बस्दोबस्त मिलाउने ।
  • गतबर्षको अनुभवबाट सिक्दै किसानले खेतीपाती कामलाई अत्याबस्यक सेवाको रुपमा लिदै सहजतापुर्वक हिडडुल दिने । किसानका बारीमा फलेका तरकारी लगायत अन्य उपजलाई संकलन र स्थानीय बजारसम्म पुर्याउन तत्कालै सरकारले गाडीको बस्दोबस्त मिलाउने र निजी गाडी सन्भालनमा भाडामा सहुलियत दिने ।

ख.  खाद्य उत्पादनका लागि

  • आगामी मौसममा खेतीपाती सहज तरिकाले गर्न सक्षम बनाउन किसान परिवारलाई तत्कालै आवस्यक उत्पादन सामाग्री र सेवा उपलब्ध हुने व्यवस्था गर्ने । रोजगार नभएका र आपैmले श्रम गर्ने किसानलाई कृषि क्षेत्रवाट रोजगारी र आम्दानी बढाउन खेतीपातीको क्षेत्रमा श्रम गर्ने बन्दोबस्त मिलाउने ।
  • श्रमिक किसानलाई तत्कालका लागि पर्याप्त खानेकुराको बन्दोबस्त मिलाउने । तर यस्तो खाद्यसामग्री स्थानीय तह मार्पmत वास्तविक किसान परिवार पहिचान गरी उपलव्ध गराउने । यस्ता श्रमिक किसानहरु जसले जमिन पाएमा आफै खेतिपाती गर्न आँट गर्छन् उनीहरुलाई खेतिपातिका लागि आवश्यक सेवा र सामग्रीहरुमा पहुँच सहज बनाउनुका साथै उपयुक्त वातावरण यथाशीघ्र मिलाउने । यो कामको जिम्मेवारी स्थानीय तहले लिने र वडा तहमा उपयुक्त संयन्त्र बनाउन आवश्यक नीतिगत निर्णय लिने ।
  • नगर तथा नगरउन्मुख बस्तीहरुमा कौशी या करेसाबारीका लागि चाहिने उत्पादनसँग सम्बन्धित सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउन नगरपालिका र, वडा तह र कृषि तथा पशु शाखा र अन्य सघ. संस्था बिच सहकार्य गर्ने ।

२.  सरकारले लिनुपर्ने आवश्यक रणनीतिहरु

  • सबै स्थानीय सरकारले आफ्नो खानेकुरा र खेतिपातीको अवस्था चित्रण हुने श्वेतपत्र (अभिलेख) जारी गर्न सहजीकरण गर्ने । साथै सबै प्रदेशहरुलाई समेत यसो गर्न उपयुक्त हुने कुरा सुझाउने ।
  • रसायन र विषादीका बलमा बढि उत्पादन गर्ने होडमा माटो प्रकृति र मानिस सबैको स्वास्थ्यमा जोखिम बढेको समेत ख्याल गर्दै दिगो खेतिपाती प्रणाली अपनाउने । सगै अहिलेको खाद्य प्रणाली माटोमा भएको जैविक तत्व र पोषणको ह्रास र रसायनको दुष्परिणाम समेत घटाउदै लैजान परिवारका तहमा वस्तुभाउ पालन र प्राकृतिक स्रोतमा आधारित जैविक कृषि पद्धतिलाई प्रवद्र्धन गर्ने ।
  • खेतीयोग्य तर प्रयोगमा नआएका नीजि तथा सार्वजनिक जमिनहरुलाई उत्पादन गर्न प्रोत्साहन गर्ने नीति अबिलम्ब लिने । विदेशबाट फर्किएका, र सहरबाट गाउँ पुगेका युवा र बर्षांैदेखि यसबाट वन्चित समुदायलाई यस्तो जमिन उपलव्ध गराउने । बाँझो जमिनको उपयोगको सान्दर्भिकता ख्याल गर्दै उपयोग बढाउनका प्रोत्साहन प्याकेज दिने बन्दोबस्त मिलाउने ।
  • शहरी क्षेत्रमा रहेका खालि जमिन, कौसी र करेसाबारीमा तरकारी खेति गर्न र नगर उन्मुख काँठ क्षेत्रमा खाद्य उत्पादनमा प्रोत्साहन गर्न पालिकाहरु मार्फत् कृषि शाखाको समन्वयमा बिउ र अन्य दिगो खेतिपातिका उपयुक्त र सरल प्रविधि, सामग्री, रैथाने बिउ र जैविक मल उपलव्ध गराउने । यस्ता बिउ तथा कृषि उत्पादन सामग्री सहज रुपमा उपलब्ध गराउन यसका साना बिक्रेताहरुलाई प्रोत्साहन प्याकेजको बन्दोवस्त गर्न स्थानीय तहलाई आवश्यक साझेदारि रकम उपलब्ध गराउने । साना व्यावसायिक किसानलाई वित्तीय संस्था मार्पmत खाद्यान्न उत्पादनमा निर्व्याजी वा सहुलियत पूर्ण ऋण अनुदान उपलब्ध गराउने । यो अनुदान सरल, छिटो र स्थानीय तहको रोबहरमा दिने व्यबस्था गर्ने र स्थानीय सरकारमा मै बीमा सेवाको समेत व्यवस्था गर्ने ।
  • बन्दाबन्दी लामो समय जारी रहेमा खाद्यान्न, तरकारी र पशुपन्छीजन्य उत्पादनका लागि तत्कालै बिउ र ब्याडको बन्दोबस्त गरी किसानलाई निसंकोच र भयरहित तरिकाले खेतबारीमा जान सक्ने वातावरण बनाउने ।
  • भरखरै र निकट भविष्यमा विदेश जानबाट रोकिएका र विदेशबाट फकिएका युवा जनशक्तिलाई ससम्मान कृषि पेशामा आकर्षित गर्ने वातावरण सिर्जना गर्न स्थानीय तह र प्रदेश सरकारको आपसी सहकार्यमा सहयोगको त्त्कालिन योजना बनाउने ।
  • विषम परिस्थितिमा पनि उत्पादन प्रक्रियालाई सघन र एकीकृत गर्दै कृषि उपज मूल्य श्रृंखला प्रभावकारी बनाउन समूह तथा सहकारीमा आधारित कृषि उपज प्रशोधन, भण्डारण, बजारीकरण र वितरण प्रक्रियालाई सहज बनाउन कृषक समुह र साना किसानमा आधारित कृषि सहकारीलाई सहयोग गर्ने । मुख्यतः तत्कालैका कृषि उपज र खानेकुरा भण्डारण, प्रशोधन र बजारीकरणका लागि भाडा तथा अन्य व्यवस्थापनमा प्रोत्साहित गर्ने नीति लिने ।
  • कार्यक्रमहरुको प्रभावकारी अनुगमन र पृष्ठपोषणका लागि कृषिसग सबन्धि निकायहरू, हरेक तहमा राजनीति पार्टी संगठनहरु, किसान संघ संगठनहरु, नागरिक समाजका प्रतिनिधिहरु र संचारकर्मी सम्मिलित समूह बनाउने ।

अन्त्यमा, मुख्यतः कोभिड १९को नयाँ सन्दर्भ र अहिले गरिएको निशेधाज्ञाको प्रस्तावले स्थानीय तहमा खाद्य उत्पादन, आम जनसमुदायसम्म खानाको पहुँच र यसका लागि गरिनु पर्ने तदनुरुपका तत्कालिन नीतिगत प्रावधानहरुको व्यवस्था गर्न सबै सरोकावाला केन्द्रित हुनु पर्ने देखिन्छ । यस दिशातर्फ माथि उल्लेखित विषयहरुमा उचित ध्यान  पुर्याउन पुर्याउनका लागि सरकारको ध्यानाकर्षण गर्न यहाँहरु सबैको पहल हुने कुरामा हामी विश्वस्त छाैं ।

गत बर्ष सम्बन्धित निकायहरुका प्रयासहरुमा पर्याप्त समन्वय हुन नसकेको र बन्दाबन्दिको समयमा सेवा र सुरक्षा प्रदान गर्ने तथा अनुगमन गर्ने निकायहरुबाट समेत खानेकुराको उत्पादन र वितरणमा प्रभाव पर्ने खालका गतिविधि भएको देखिएकोले यसतर्फ सबै सजक र सचेत भइ समन्वय गर्न सबैमा आग्रह गदैछौ ।

यी सवालहरुलाई आत्मसात गरी खाना र खेतिपातीका सबै सरोकारवालाहरुको खास गरी साना तथा श्रमिक किसानहरुको आँट र उत्साह बढाउँदै यिनलाई भरोसा दिलाउन समेतसम्पूर्ण सबैकोे ध्यानाकर्षण गराउन चाहन्छौं । यस दिशामा हाम्रो अभियान यहाँहरुसँग सधै हालेमालो गर्न तयार रहेको व्यहोरा अनुरोध गर्दै यी सवालहरु सम्बोधन गर्न सबै तत्पर हुनेमा हामी विश्वास व्यक्त गर्दछौं ।



प्रतिक्रिया दिनुहोस !