७ बैशाख २०८१, शुक्रबार

तिम्रो लोकतन्त्र,तिम्रो समाजवाद [कविता]

प्रकाशित मिति :  9 May, 2021 10:18 am


सरकार !
देश भित्रभित्रै मन्द गतिले जलिरहेछ
तिम्रा समाजवादका तथ्यहरू
सिंहदरबारका भतेरभित्र छरिएका छन्
तिम्रो समाजवादको प्रयोग यसरी हुँदै रहेछ ।
तिम्रो लोकतन्त्रमा
देश बर्बरताको आँधीबेहरीसँगै
अन्धकारतिर धकेलिदै छ ।
तिमीले हातमा शक्ति पायौ
तिम्रो आत्म र विवेक शक्ति मादकतामा ध्वस्त हुँदा
दर्शन,सिद्धान्त, विचार, दृष्टिकोण बिना नै
तिम्रा नासालाई फेल गराउने मन्त्रीहरू छन्
तिम्रो समाजवादको प्रयोग यसरी हुँदै रहेछ ।

महङ्गी बस्ती बस्तीमा बोझ बन्द
तिमीलाई नागरिकका अभाव र गरिबीप्रति पीडाबोध छैन,
तिमी पशुपतिमा गजुर थप्दै जाऊ
नागरिक हरेक छाकमा गाँस घटाउदै छौ
कोरोनामा मास्क छैन
अक्सिजन छैन ।
बिरामीलाई अस्पताल छैन
तिमी सीताराम रथयात्रामा मन्त्रमुग्ध बन।
देख्दै छौँ
तिम्रो समाजवादको प्रयोग यसरी हुँदै रहेछ ।
देशका सिर्जनशील युवा बोकेर
दसौंलाख भोका पासपोर्ट
बालुवामा पसिना सिञ्चिन पुगेका छन्।

सरकार !
तिम्रो सत्ताले काचुली फेर्याे
मेरो देशले काचुली फेर्न सकेन।
किनकि
तिमीसँग पर्याप्त संवेदनशीलता छैन
जनताको स्वास्थ्यभन्दा अर्थतन्त्र ठूलो मान्छौ तिमी
महसुस  गर्याैं सरकार,
आर्थिक क्रान्तिको सुरुवात यहाबाट भएछ।
कुर्सीको खेलमा मेरो देशलाई
अस्थिरताको बन्धक बनाइ
देशलाइ काण्डै काण्डको श्रृंखलामा धकेल्दै गर्दा,
तिमीलाई राजनेताको ताज दिएका छन्
महानताको सिङ्गो विभूति तिमी
सरकार तिमीलाई रक्तिम अभिवादन छ।

-समर्पण कल्पना



प्रतिक्रिया दिनुहोस !