२६ बैशाख २०८१, बुधबार

दरबार हत्याकाण्डका २० वर्षः एक संवाददाताको डायरी

प्रकाशित मिति :  2 June, 2021 2:09 pm


आजभन्दा २० वर्षअघि नेपाल समाचारमा पत्रकार र अन्य कर्मचारी बोक्ने एउटा भाडाको टाटा मोबाइल थियो । एक सिफ्टमा पाँच/सात जनाभन्दा बढी नअँट्ने । २०५८ साल जेठ १९ गते बेलुका १० बजे नेपाल समाचारपत्रको नियमित डेस्क लगभग क्लोज भइसकेको थियो । पहिलो सिफ्टका साथीहरू लगभग गइसकेका थिए ।

रिपोर्टिङमा चिफ रिपोर्टर टंक पन्त, किशोर सापकोटा, दीपक रिजाल र ममात्रै थियौँ । डेस्कमा समाचार सम्पादक महेन्द्र विष्ट, राजेश बज्राचार्य र व्याकुल पाठक हुनुहुन्थ्यो भने भाषा सम्पादक भेषराज घिमिरे हुनुहुन्थो । कम्प्युटरमा प्रकाश श्रेष्ठ, जयराम सुवेदी, राजकुमार बिकेसहितका केही साथी थिए ।पहिलो पेज फाइनल भइसकेको थियो ।

सवा १० बजेतिर प्रधान सम्पादक/प्रकाशक पुष्करलाल श्रेष्ठ हाफपाइन्टमै घरबाट दौँडदै आउनु भयो । ‘कपिलजी खोइ,’ उहाँले अतालिदै भन्नु भयो । सम्पादक कपिल काफ्ले भरखर निस्कनु भएको थियो । दीपकले मोबाइलमा फोन लगाए, बीच बाटोमै हुनुहुँदो रहेछ । फर्कनु भयो ।
‘शान्ति सदन (अधिराजकुमारी शान्ति शाह निवास)मा बम पड्यो अरे, ठूलै हताहती भयो अरे,’ एकै श्वासमा पुष्कर सरले भन्नुभयो ।

साथीहरू दीपक रिजाल र किशोर सापकोटाले सुरक्षा स्रोतहरूलाई फोन लगाउन थाले, उनीहरूले पनि लगभग त्यही विवरण दिए । शान्ति सदनको गेटमा माओवादीले बम प्रहार गरेर ठूलै हताहती भएको पहिलो अपुष्ट/अप्रमाणिक खबर आयो ।

यस बीचमा पुष्कर सर र कपिल सर दुवैले दरबारमा फोन लगाउन थाल्नु भयो । करिब १२ बजेतिर दरबारका सचिवहरू मोहनबहादुर पाण्डे र सौजन्य सुल्प्या दुवैले दरबारभित्रै घटना भएको पुष्टि गराएपछि दुवै सम्पादकले समाचार छाप्ने निधो गरे । दरबारमा गोली चलेको पुष्टि भयो।

पुष्कर सरले आँखाभरि आँसु पारेर भन्नुभयो- वन इज नो मोर, टु इज नो मोर, फोर इज नो मोर।

साथी दीपक छाउनी अस्पतालतिर विष्णुमतीको किनारै-किनार कुदे । त्यहाँको अवस्था त्रासद थियो, एम्बुलेन्स र सेनाका गाडीहरू छिनछिनमा सेनाको अस्पतालमा पसिरहेका थिए । जताततै एम्बुलेन्सको आवाजले स्वयम्भु  र डल्लु निवासीहरूमा कताकता ठूलै घटना भएको त्रास बढ्न थालिसकेको थियो ।

अहिलेको जस्तो इन्टरनेटको युग थिएन । साथी दीपक र किशोरले महानगर सहकर्मी दाइ, ददिराम सापकोटाको डेरामा गएर राजपरिवारको फोटो ल्याएर स्क्यानिङ गरेर हालियो ।

दरबारभित्रको घटनाका बारेमा समाचार सहजै छाप्ने कुरा पनि थिएन । दरबारसम्बन्धि समाचार दिनमै समस्या थियो, झन् हत्याकाण्डजस्तो कुरा । तर नेपाल समाचारपत्रले त्यस दिन ‘ट्रिक’ लगाएर समाचार प्रकासित गरेको थियो ।

समाचार यस्तो थियो– ‘राजदरबारमा गोलीकाण्ड, कैयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिक रूपमा अपुष्ट’ । उक्त समाचारमा राजा, रानी, युवराज, अधिराजकुमार, अधिराजकुमारी लगायत राजपरिवारका अन्य सदस्यलाई पनि गोली लागेको तर स्वास्थ्य स्थिति स्पष्ट नभएको उल्लेख थियो । मध्यरात २ बजेसम्म प्राप्त सूचनाहरूका आधारमा गोली लागेका मध्ये १५ जनाको मृत्यु भएको तर पुष्टि भइ नसकेको समाचारमा उल्लेख गरियो । समाचारमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई शुक्रबार राती नै हेलिकप्टरबाट राजधानी ल्याइएको जानकारी प्राप्त भएकाले त्यो लेखियो ।

धेरैले राजधानी दैनिकले यसको समाचार प्रकासित गरेको लेख्ने गरेका छन्, तर वास्तविकताचाहिँ समाचारपत्रबाहेक स्पेसटाइम दैनिकले मात्र २० गते समाचार लेखेको थियो र स्पेसटाइमको समाचारमा ‘दरबारभित्र विस्फोटक पदार्थ पड्किएको सुनिएको’ थियो भन्ने उल्लेख थियो । राजधानी दैनिक जेठ २२ गतेदेखिमात्र प्रकाशन शुरु भएको हो ।

राति १ बजेदेखि नै सीएनएन र बीबीसीले समाचार ब्रेक गर्न थालेका थिए । बिहान ५ बजे पत्रिका बजारमा जाँदा हारालुछ भइसकेको थियो । मानिसहरू समाचारपत्रको फोटोकपी गरेर किन्न थालेका थिए । समाचारपत्रले त्यो दिन चार सिफ्टमा पत्रिका निकाल्यो । करिब १ लाख २५ हजार प्रतिजति पत्रिका छापियो होला ।

भीमसेन स्थानस्थित समाचारपत्रको कार्यालयसम्मै मानिसहरूको भीड लाग्न थालिसकेको थियो । बिहान ११ बजेसम्मका विकासक्रम समेटेर महानगर सन्ध्याकालीन १२ बजे नै प्रकासित गरियो । समाचारपत्र र महानगरको त्यस दिनका बिक्रीले इतिहास बनाएको थियो ।
कान्तिपुर र काठमाडौं पोष्टले जेठ २० गते अपराह्न २ बजे चार पेजका अतिरिक्तांक निकालेका थिए भने गोरखापत्र, हिमालय टाइम्स, राइजिङ नेपालले जेठ २१ गते मात्र यससम्बन्धि समाचार प्रकासित गरेका थिए ।

बाहिर निस्कँदा मानिसहरू जतासुकै रोइ रहेका र भाव सून्य देखिन्थे । ड्युटी सकेर घर फर्केका सुरक्षाकर्मीहरू फिर्ता बोलाइएका थिए । मानिसमा समवेदनासँगै आक्रोस बढ्दो थियो ।

जेठ २१ गते दरबारमार्गसहित देशका विभिन्न भागमा उग्र आक्रोसयुक्त जुलुसहरू निस्कन थाल्यो । कोमामा रहेका युवराज दीपेन्द्र श्री ५ घोषित भए पनि राजपरिषद स्थायी समितिको बैठकले तत्कालीन अधिराजकुमार श्री ५ ज्ञानेन्द्रलाई ‘राज्य सहायक’ घोषणा गरेको थियो । शुक्रबार दरबार हत्याकाण्ड हुँदा पोखरामा रहेका ज्ञानेन्द्रप्रति आशंका र आक्रोस बढेको थियो ।

जेठ २१ गते ‘राज्य सहायक’ श्री ५ ज्ञानेन्द्रले देशबासीका नाममा दिएको सन्देशमा ‘आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई उक्त घटना भएको’ भन्ने अभिव्यक्तिले आक्रोस बढाएको थियो ।

सरकारले स्थिति बिग्रन नदिन कर्फ्यु त लगायो तर त्यसको प्रभाव कम थियो । राजपरिवारको अन्त्येष्ठीका लागि सैनिक अस्पतालदेखि आर्यघाटसम्म मानिसहरूको अत्याधिक भीड लागेको थियो । स्वस्फूर्त रुपमा राजपरिवारप्रति श्रद्धा व्यक्त गर्नमा मानिसहरूले शीरको कपाल खौरिएका थिए । चोकचोकमा युवाहरु रेजर लिएर बसेका थिए, मानिसहरूको निःशुल्क कपाल खौरिइ दिइरहेको र कपाल खौराउँदै गर्दा ग्वाँ ग्वाँ रोइरहेको कारुणिक दृष्य यत्रतत्र देखिन्थ्यो ।

(पंक्तिकार नेपाल समाचारपत्र दैनिकमा २०५३ देखि २०६४ सम्म कार्यरत थिए।)



प्रतिक्रिया दिनुहोस !