३ जेष्ठ २०८१, बिहिबार

प्रदेश ५ मा बलात्कार र घरेलु हिंसाका घटना अत्याधिक

प्रकाशित मिति :  14 January, 2020 10:52 pm


नेपालगन्ज, २९ पुस ।

प्रदेश नम्बर ५ मा बलात्कार र घरेलु हिंसाका घट्नाहरु अत्याधिक भएको मानवअधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।

इन्सेक प्रदेश नम्बर ५ को कार्यालय नेपालगन्जले मंगलवार यहाँ आयोजना गरेको प्रदेशको मानवअधिकारको अवस्था सम्बन्धि कार्यक्रममा इन्सेकले संकलन गरेको मानवअधिकार उलंघनको तथ्यांक सार्वजनिक गर्दै सो कुरा जनाईएको हो ।

गत बर्ष २०१९ मा प्रदेशभरी ७४९ वटा घरेलु हिंसाका घट्नाहरु घट्नुका साथै २०९ वटा बालिका बलात्कारका घट्नाहरु भएको तथा ११७ वटा महिला बलात्कारका घट्नाहरु भएको इन्सेक प्रदेश नम्बर ५ का प्रमुख भोला महतले बताए ।

उनले गत बर्ष प्रदेश नम्बर ५ मा ११ सय ८३ वटा मानवअधिकार उलंघनका घट्नाहरु भएको जनाउँदै ती मध्ये घरेलु हिंसा र बलात्कारका घट्नाहरु सबैभन्दा बढी देखिएको बताए । ती घट्नाहरु मध्ये १ हजार १०२ वटा घट्ना गैर राज्य पक्षबाट भएको र ८१ वटा घट्ना राज्य पक्षबाट भएको पनि उनले जनाए । राज्य पक्षबाट ७४ वटा गैर न्यायीक गिरफ्तारीका घट्नासंगै ४ जनाको हत्या गरिएको इन्सेकले जनाएको छ ।

सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद महेश्वर गहतराज अथकले नेपालको नयाँ संविधानले मानवअधिकारको दायरा बढाएको जनाउँदै संविधान र कानुनको कार्यान्वयनमा बिशेष ध्यान दिनु पर्ने बताए । मानवअधिकारका घट्नाहरुमा बर्सेनी बृद्धि हुँदै जानु चिन्ताको विषय भएको जनाउँदै उहाँले यसमा राज्य पक्षको बिशेष ध्यान जानु पर्ने कुरामा जोड दिए ।

नेपाल बार एसोसियशनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले संविधानले मौलिक हकमै धेरै कुरा समावेश गरेपनि अझै नेपाली जनता शिक्षा स्वास्थ्य र अन्य महत्वपूर्ण अधिकारबाट बन्चित भएको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगको नेपालगन्जस्थित कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकार उलंघनका घट्नाहरु बढ्नु देश र समाज दुबैका लागि चिन्ताको विषय भएको प्रष्ट पार्खै सो रोक्न राज्यले विशेष ध्यान दिनु पर्ने बताए ।

सो अवसरमा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंह तथा नागरिक समाजका अगुवाहरु रविन्द्र कर्ण, विश्वजित तिवारी, बसन्त गौतम, सुरेश गौतम, बल बहादुर चन्द, केशव कोइराला, प्रकाश उपाध्याय, प्रभात सिंह ठकुरी, सिद्धराज पनेरु, आलम खान, नमस्कार शाह, विकास आचार्य, कमला र कृष्ण मुरारी भट्ट लगायतले पनि मानवअधिकार उलंघनका घट्नाहरुप्रति चिन्ता प्रकट गरेका थिए ।

सिराज खान/रासस



प्रतिक्रिया दिनुहोस !