१६ चैत्र २०८०, शुक्रबार

महिला स्वास्थ र याेगकाे महत्व

प्रकाशित मिति :  21 June, 2021 12:10 pm


डा. अरुणा उप्रेती

आधुनिक उपचार गर्ने कतिपय चिकित्सकले ‘योगासन गरेर कुनै पनि समस्या निको हुँदैन, यो वाहियात हो’ भन्ने गरेका छन् ।

तर नेपालमा कति मुटुरोग, मानसिक रोग, मधुमेह रोग विशेषज्ञ र मृगौला रोग विशेषज्ञले आफ्ना बिरामीलाई आधुनिक औषधीका साथै योग गर्न सल्लाह दिएको मलाई थाहा छ ।

योगासन गर्नेहरूले पनि विभिन्न किसिमका शारीरिक र मानसिक समस्या परेर आधुनिक औषधी प्रयोग गरी ठिक भएका घटना पनि पर्याप्त छन् ।

तर कतिपय योगगुरुले योगासन र अनुलोम—विलोम गरेपछि उनीहरूले खाइरहेका औषधी छाडिदिए पनि हुन्छ भन्ने गलत ज्ञान दिन्छन् र बिरामीले औषधी छाडेपछि एकदम समस्या पर्छ । कहिलेकाहीं त ज्यानै पनि जान सक्छ ।

अमेरिकाका एक प्रसिद्ध मुटुरोग विशेषज्ञ डाक्टर डिन ओर्निसले मोटो भएर मुटुको समस्या भएका बिरामीलाई जीवनशैली र खानामा परिवर्तन गराएर र योगासन गराएर स्वस्थ बनाएपछि यस विषयमा किताब पनि लेखेका छन् । उनी आधुनिक विज्ञानसँगै योगलाई पनि प्रयोग गरेर सफल भए । उनको यो सिद्धान्तलाई अन्य मुटुरोग विशेषज्ञले पनि प्रयोग गर्छन् ।

कमाइ बुढ्यौलीका लागि साँच्ने, घरजग्गा र पैसा छ भनेर सुरक्षित महसूस गर्ने हामी शरीरलाई सुरक्षित राख्न कति समय दिन्छौं ? यसको जवाफ आजको हाम्रो भागदौडग्रस्त जीवनशैलीले स्वतः दिइरहेको छ– आफ्नो लागि हामीसँग समय नै छैन ।

रमिता नामकी तराई मूलकी मेरी एक साथी थिइन् । महिला स्वास्थ्य सम्बन्धी काम गर्ने संस्थामा कार्यरत उनी कुर्सीबाट हलचल नै नगरी लगातार ६/७ घण्टासम्म कम्प्युटरमा खट्थिन् । बेलाबेला पानी खाने, हरेक दुई घण्टामा कुर्सीबाट उठेर केहीबेर हिंड्ने जस्ता कुरामा उनलाई वास्तै नहुँदो रहेछ ।

लगातार कम्प्युटरमा काम गर्दा स्वास्थ्य समस्या निम्तेला भनेर सजग गराउँदा उनले हाकिमलाई चाँडै रिपोर्ट बुझउनुपर्ने भएकाले फुर्सद लिनै नमिल्ने बताइन् । मैले भनें, “केही दिन ढिलो रिपोर्ट बुझए पनि फरक नपर्ला । तर टाउको, ढाड आदि दुख्ने समस्या भएर आराम गर्नुपर्दा चाहिं फुर्सद कसरी निस्किन्छ नि ?” उनले सहजै भनिन्, “त्यो बेला जे हुन्छ, हेरुँला ।”

यो कुराकानी भएको ६ महीनापछि नै रमिता ढाडको असह्य दुखाइका कारण दुई महीना ओछ्यान परिन् । स्वास्थ्यकर्मीले उनलाई फिजियोथेरापी र योग गर्न सिकाए । कुर्सीमा बस्दा मेरुदण्ड सीधा पारेर बस्न सिकाइयो । कम्प्युटर चलाउँदा बीच–बीचमा फुर्सद पनि निकाल्छिन् ।

‘अहिले त आराम गर्न फुर्सद निस्कियो है’ भनेर जिस्क्याउँदा उनी भन्छिन्, “के गर्नु, यस्तो हुन्छ भनेर पहिल्यै जानेको भए आज हैरानी खेप्नुपर्ने थिएन ।” उनले थाहा त पाएकी थिइन्, तर यस्तो समस्या आफूलाई पर्दैन होला भनेर हेलचेक्र्याइँ गरिन् । हामीमध्ये धेरैले गर्ने यही नै हो ।

आफूले प्रयोग गर्ने मालसामानलाई हामी बडो जतन गर्छौं । लुगा धोएर ईस्त्री लगाउँछौं, शिशाका सामान फुट्लान् कि भनेर चनाखो बन्छौं । गाडी र मोटरसाइकलको झ्नै रेखदेख गर्छौं । मोबाइल फोनको ब्याट्री आधाउधी सकिनासाथै चार्जर जोड्न हतारिन्छौं । तर किनेका मालसामानलाई झन् बढी रेखदेख गर्ने महिलाहरूले आफ्नै शरीरलाई भने ध्यान दिंदैनन् ।

पहिरन र आभूषणबाट सजाएको शरीरको भित्री पार्टपुर्जा कस्ता छन्, हाडजोर्नी ठीक छ कि छैन, फोक्सोमा प्राणवायु पर्याप्त पुगेको छ कि छैन भन्नेमा बेवास्ता गरिन्छ

तौल नियन्त्रण गर्न चिल्लो कम भएको खाना खाने र विभिन्न योग गरे प्रभावकारी हुन्छ । योगसँगै काम, खानपान र आरामबीचको सन्तुलन, अनुशासित जीवनशैलीले महिलाको स्वास्थ्यमा राम्रो भूमिका खेल्छ ।

महिलाले योगासन गर्ने हो भने सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । महिलाको महिनावारी सुक्न सुरु हुने बेलाका कतिपय समस्यालाई योगासन गरेर कम गर्न सकिन्छ भन्ने कुरा निर्विवाद छ । जीवनशैली परिवर्तन गरेर कम चिल्लो र बढी तरकारी खाने गरे र योगासन गरे मोटोपन घटाउन सकिन्छ । आधुनिक औषधी होस् वा आयुर्वेद, चाहे योग त चाहे घरेलु औषधी, सबैका आ–आफ्ना सकारात्मक पक्ष छन् । तर कुनै एउटै विधाले मात्रै सबै समस्या समाधान भने गर्न सक्दैन ।

आयुर्वेद र योगको हजारौं वर्ष लामो इतिहास छ । तर आधुनिक विज्ञानले पनि आयुर्वेदका बेला थाहा नभएका वैज्ञानिक तथ्यहरू पत्ता लगाएको छ । त्यसैले स्वस्थ भएर बाँच्न एउटा उपचार पद्धति अवलम्बन गर्छु भन्नुको साटो बुद्ध धर्ममा भनिए जस्तै योगासन र आवश्यकताअनुसार आधुनिक औषधीको प्रयोग गरेर मध्यमार्ग अपनाउनु उचित हुन्छ ।

(डा. उप्रेतिकाे फेसबुकबाट)

 



प्रतिक्रिया दिनुहोस !