१६ चैत्र २०८०, शुक्रबार

कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन

प्रकाशित मिति :  29 June, 2021 5:13 pm


काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपाल र उसको भातृ कम्पनी बोटलर्स नेपाल (तराई)ले गत वर्षदेखि कम्पनीमा कार्यरत चार जना मजदूरको मृत्यु भए पनि उनीहरूको परिवारलाई कुनै क्षतिपूर्ति नदिएको पाइएको छ ।

प्राप्त जानकारीअनुसार कोभिड–१९ संक्रमणका कारण बालाजु प्लान्टमा कार्यरत मजदूर कृष्ण न्यौपानेको, अर्का मजदूर मनोज महतो कामबाट फर्केर सुतेकै ठाउँमा हृदयाघातबाट, बोटलर्स तराईमा कार्यरत सचिन श्रेष्ठ र मञ्जिल लामाको विगत एक वर्षयता निधन भएको   थियो ।

बोटलर्स नेपाल र कम्पनीमा कार्यरत तीन वटै ट्रेड युनियनका बीचमा भएको सामूहिक सौदाबाजीअनुसार मृतकका मजदूरका परिवारले कम्पनीमा रोजगारी पाउने सहमतिको समेत उल्लंघन भएपछि मजदूरहरू आक्रोसित भएका छन् ।

“कम्पनीमा नेपाली मजदूरहरूको शोषण तीव्र भएको छ । नियमानुसार पाउनु पर्ने क्षतिपूर्तिसमेत दिन बोटलर्स नेपालले बहानाबाजी गरिरहेको छ,” ट्रेड युनियनका एक नेताले भने, “श्रम ऐन र सामाजिक सुरक्षा ऐनले तोकेअनुसार मजदूरको हक स्थापित भएन भने हामी चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।”

“उहाँहरूका परिवारलाई बोटलर्स नेपालले आजसम्म न कुनै क्षतिपूर्ति दियो, न त कुनै रोजगारी नै दिएको छ,” ट्रेड युनियनका ती नेताले भन्छन्, “मजदूर युनियनका तर्फबाट संयुक्त रूपमा व्यवस्थापनलाई गराइएको ध्यानाकर्षणमा समेत आजसम्म कुनै सुनुवाई गरिएन ।”

सामाजिक सुरक्षा ऐनअन्तर्गत कुनै पनि सुविधा नदिइएपछि नेपालकै पहिलो संयुक्त विदेशी लगानीको कम्पनी बोटलर्स नेपालका विरुद्ध मजदूरका तर्फबाट सामाजिक सुरक्षा कोषमा उजुरी परेको छ ।

“चार जना मजदूरको निधन र उहाँहरूले क्षतिपूर्ति नपाउनु भएको विषयमा निवेदन प्राप्त भएको छ । यस विषयमा कोषले अध्ययन गरेर निर्णय दिनेछ,” कोषका प्रवक्ता विवेक पन्थीले भने, “सामाजिक सुरक्षा ऐनअन्तर्गतका सेवासुविधा सबै संगठित कम्पनीले दिनैपर्छ ।”

बोटलर्स तराईमा रहेका तीन ट्रेड युनियन नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदूर संघ र समग्र उद्योग ट्रेड युनियन नेपालले हालै कम्पनीको उच्च व्यवस्थापनलाई ध्यानाकर्षण पत्र लेख्दै कोभिड महामारीका समयमा खटिएका श्रमिक–मजदूरमाथि विभेद भएको भन्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

एक मजदूर कोभिड१९ बाट संक्रमित हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्दै उनीसँगै प्लान्टमा काम गर्ने अन्य मजदूरहरूको कोभिड परीक्षण नभइञ्जेल दुई दिन कारखाना बन्द गर्न गरिएको मागको सुनुवाई नभएको भन्दै मजदूरहरू आक्रोसित भएका छन् ।


कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित


“हामी सम्पूर्ण श्रमिक साथीहरूकै बीचमा महामारीको समयमा काम गर्दागर्दै कोभिड लागेर जीवन गुमाउनु परेको छ । साथीहरूले काम गर्न आउँदा तपाईहरू (व्यवस्थापन)ले पास पास व्यवस्थापन गर्न नसकेको कारणले अनाहकमा प्रहरी चौकीमा थुनिएर रात बिताउनु परेको छ,” तीन वटै मजदूर युनियनको तर्फबाट लेखिएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले वार्षिक ८ करोड रुपैयाँबराबरीको तलबभत्ता पाउँदा तल्लो तहका मजदूरको कार्यरत अवस्थामा नै निधन हुँदा पनि सामान्य क्षतिपूर्तिसमेत नपाइएको भन्दै आन्दोलनको तयारी भएको ती मजदूर नेता बताउँछन् ।

कोक व्यवस्थापन ‘फुटाउ र राज गर’को नीतिमा

कोकाकोलाको नेपालस्थित दुवै बोटलिङ प्लान्ट हेर्दै आएका उच्च व्यवस्थापकहरूले भने मृतक मजदूरका परिवारलाई सामूहिक सौदाबाजीमा गरिएको सहमतिअनुसार क्षतिपूर्ति र अन्य सुविधा दिनुको सट्टा मजदूरहरूलाई नै ‘फुटाउ र राज गर’को नीति अख्तियार गरेको मजदूर नेताहरू आरोप लगाउँछन् ।

“आफ्नो आँखा अगाडि रहने र सँधै वरपर भइरहने काठमाडौं (बालाजु) प्लान्टमा रहनु भएका साथीहरूलाई व्यवस्थापनले हात लिएको छ र उहाँहरू अहिले व्यवस्थापनको भाषा बोल्न थाल्नु भएको छ,” भरतपुरमा रहेको बोटलर्स तराईसँग सम्बद्ध मजदूर युनियनका दुई नेताले एकै शैलीमा भने, “सोही कारण हामीले दुई पटक पठाएको ध्यानाकर्षण पत्रको समेत अहिलेसम्म प्रत्युत्तर दिइएको छैन ।

यस सम्बन्धमा प्रतिक्रियाका लागि बोटलर्स नेपालको व्यवस्थापनसँग पटक–पटक सम्पर्क गर्दा कोही पनि आधिकारिक रूपमा बोल्न वा उपलब्ध हुन चाहेनन ।

स्मरणीय छ, बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपाल बाहिर नै किनबेच गरिएको प्रकरणमा राजस्व अनुसन्धान विभागले गत मंसिरमा बोटलर्सको खातापाता नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !