२३ बैशाख २०८१, आइतबार

कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रकाशित मिति :  18 July, 2021 7:10 pm


काठमाडौं । लुम्बिनी सञ्चार डटकम र टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले बहुराष्ट्रिय कम्पनी कोकाकोलाले दिएको धम्कीबारे जानकारी गराएका छन् ।

पत्रकारको भौतिक सुरक्षाका लागि स्थापित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू रहेको फ्रि मिडिया नेटवर्कको छलफलमा बुढाथोकीले आफूमाथि आएको धम्कीबारे जानकारी गराएका हुन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भएको छलफलमा क्रममा प्रधानसम्पादक बुढाथोकीले भने,“नेपालमै र सम्भवत: विश्वमै पहिलो पटक मजदुर र व्यवस्थापन पक्षबीच हुने सामूहिक सौदाबाजीको बैठक पुस्तिकामै मेरो नामै तोकेर छानबिन गर्ने भनेर लेख्न लगाइयो । यो गम्भीर विषय हो । सामूहिक सौदाबाजी भनेको मजदूरको श्रम सुरक्षा, सामाजिक सुरक्षा, पारिश्रमिक आदि विषयमा मात्र गरिन्छ । एउटा पत्रकार र मिडियाको बारेमा नै छलफल गर्न कोकका ३ जना व्यवस्थापक, दुवै युनिटका ६ वटै युनियनका १७ जना मजदूरलाई बोलाएर यस्तो निर्णय गराउनुले मेरोमात्र होइन, समग्र मिडिया क्षेत्रकै सुरक्षामाथि प्रश्न उब्जाएको छ ।”

कोकाकोलाले नेपालमा करछरी गरेको विषयमा लुम्बिनी सञ्चारले निरन्तर प्रकाशन गरेको थियो भने टक्सार मासिकमा खोजमूलक समाचार छापिएपछि कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट प्रधानसम्पादक बुढाथोकी नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गरेको थियो । यसबारे नेटवर्कको बैठकमा प्रधान सम्पादक बुढाथोकीले जानकारी गराएका हुन् ।

छलफलका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं फ्रि मिडिया नेटवर्कका संयोजक विपुल पोखरेलले पत्रकारको भौतिक हिंसाका घटना न्यूनिकरण गर्न र समस्याको पहिचानको अवधारणमा नेटवर्कको स्थापना गरिएको भन्दै पत्रकार सुरक्षित हुनुपर्नेमा जोड दिए ।

महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारको गुनासो र पत्रकारको कमीकमजोरी समाधान गर्न नेटर्वकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
महासंघका पूर्व अध्यक्ष एंव सल्लाहकार डा.महेन्द्र विष्टले पत्रकारमाथि असुरक्षा बढेका कारण फ्रि मिडिया नेटर्वकको स्थापना गरिएको बताए ।

महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले नेटर्वकको स्थापनाको उद्देश्य र त्यसको सफलताको समिक्षा गर्दै आगामी दिनमा नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारको भौतिक असुरक्षा बढे पेशागत असुरक्षा बढ्ने भन्दै पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

सञ्चारीका समूहकी अध्यक्ष नितु पण्डितले पत्रकारहरु आफ्ना समस्या खुलेर राख्नसके पत्रकारमाथि हुने हिंसाका घटनामा कमि आउने धारणा राखिन् ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले पत्रकार माथि हुने कुनै पनि घटनाहरू मान्य नहुने भन्दै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

नेपाल प्रहरीका एसएसपी बसन्त कुवँरले पत्रकारको सुरक्षाका लागि आफूहरू तयार रहेको बताए । महासंघका महासचिव रोसन पुरीले कार्यक्रमलाई थप प्रभावकारी बनाउन आगामी बैठक नीतिगत निर्णयमा केन्द्रीत गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !