१९ बैशाख २०८१, बुधबार

काठमाडौंका विभिन्न स्थानमा १८ दिनदेखि थुप्रिएको फोहोर आजदेखि उठ्दै

प्रकाशित मिति :  1 September, 2021 1:32 pm


काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि उठाउने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक प्रहरी वरिष्ठ उपरिक्षक तथा कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले आजदेखि फोहोर उठाउन सुरु गर्ने निर्णय गरेको हो ।

करिब दुई हप्तादेखि उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । कामपासहित उपत्यकाका फोहर उठ्न नसक्दा सहरका सडक, गल्ली, चोक र नदी किनारमा फोहरको डंगुर थुप्रिएको छ ।

प्रमुख शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि लागि सबैतिरबाट अपेक्षा गरेको बताए । सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने निर्णय भएको पनि कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने श्रेष्ठले जानकारी दिए । “फोहर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने छ”, श्रेष्ठले भने, “त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर अघि बढिने छ ।”

यता सहरी विकास मन्त्रालयले अर्को एक हप्ताभित्र निर्माणाधीन बञ्चरेडाँडामा फोहर राख्न सकिने जनाएको छ । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।

कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको दुई हप्तापछि फोहर उठ्न लागेको हो ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।



प्रतिक्रिया दिनुहोस !