९ आश्विन २०७८, शनिबार

लिपुलेक–लिम्पियाधुराको सामरिक ऐतिहासिकता

प्रकाशित मिति :  २४ भाद्र २०७८, बिहीबार १४:१९


टक्सारको अघिल्लो अंकमा सन् १८१२ को नेपालबाट तिब्बततर्फ ब्रिटिसहरूको यात्रा वर्णन र त्यसको लगत्तैपछि १८४६ र १८४८ मा सैनिक अधिकारीहरूबाट भएका लिपुलेक–लिम्पियाधुरा हुँदै तिब्बत भित्र घुस्न गरिएका केही ऐतिहासिक यात्रा सम्बद्ध तथ्यहरू प्रस्तुत गरिएको थियो । र, यहाँ के कुरा स्मरणीय छ भने हामी यी जुन यात्राको चर्चा गरिरहेका छौं, ती नेपाल हुँदै र नेपालको पश्चिमी उत्तरी नाकाबाट पास हुँदै तिब्बत प्रवेश (पेनेट्रेट) गर्ने जुन यात्राका गतिविधि भएका छन्, ती सबै ब्रिटिस सरकारले सन् १९०४ मा पहिलो पटक सरकारी तवरमा ल्हासा पठाएको योङ हस्बेन्ड मिसनभन्दा ५५ देखि ९० वर्ष अगाडिका घटना हुन् ।

त्यतिबेला तिब्बत ‘फरविडन ल्यान्ड’ अर्थात् ‘निषेधित भूमि’को रूपमा थियो र फिरंगीहरू, विशेषतः युरोपियनहरू त्यस भूभागमा निषेधित थिए । सन् १९०४ मा कर्णेल योङ हस्बेन्डको सशस्त्र मिसन ल्हासा पुगेर सार्वभौम तिब्बत राज्यको ल्हासा सरकारसँग सन्धि गरेपछि भने त्यसअघि लुकीचोरी गरिने ब्रिटिस र युरोपियनहरूका तिब्बत तर्फका यात्राहरू पनि खुकुलो वातावरणमा हुन थाले ।


लफ्टन स्टार्ची र उनका भाइ रिर्चड स्टार्ची, जो पछि ब्रिटिस इण्डियन आर्मीको लेफ्टिनेट जनरल पदबाट रिटार्यड भए, उनीहरूको लिपुलेक, लिम्पियाधुरा हुँदै तिब्बत क्षेत्रमा गरिएका भ्रमणहरूका बारेमा यसअघि चर्चा भइसकेको छ । यस सन्दर्भमा एउटा अत्यन्तै महत्वपूर्ण कुरा बुझनु के जरुरी छ भने त्यतिबेला काँगडासम्मको भूमि नेपाल अधिन गरी सतलज नदीसम्म नेपालको भूमि विस्तारको क्रम पु¥याइएको थियो। र सन् १८१६ मा नेपाल र इस्ट इण्डिया कम्पनीबीच जुन सुगौली सन्धि भयो त्यसबाट नेपालको साविकको भू–भागबाट एक तिहाई भू–भाग इस्ट इण्डिया कम्पनीको अधिनमा पर्न गयो ।

सुगौली सन्धि हुनुभन्दा सात महिनाअगाडि सन् १८१५ मे १५ तारिखका दिन कुमाउ गढवाल क्षेत्रका गोर्खाली राजाका मुख्तियार नेपालका युद्ध सरदार बडाकाजी अमरसिंह थापा र ब्रिटिस इस्ट इण्डिया कम्पनीका प्रतिनिधि मेजर जनरल अक्टरलोनीका बीचमा युद्धविराम सम्झौता भयो । त्यो सम्झौताको सात महिनापछि सुगौली सन्धि सम्पन्न भयो ।

मुलभूत रूपमा सुगौली सन्धि राजाको तहमा औपचारिकता पुरा गर्ने डकुमेन्ट थियो भने त्यसको मूल प्रारूप भने मलाउमा भएको युद्धविरामले सम्झौताले निर्धारण गरिसकेको थियो ।

युद्धविराम सम्झौता हुनुभन्दा करिब दुई हप्ताअघि इस्ट इण्डिया कम्पनीका सचिव जेम्स एड्म्सले ब्रिटिस इण्डियन आर्मीका जनरल गार्डनका नाममा पत्र लेख्दै भावी सन्धिको प्रस्तावना उपर ब्रिटिस इस्ट इण्डिया कम्पनीको दृष्टिकोणलाई उल्लेख गरेका छन् । हामीले चर्चा गरिरहेको यात्रा वर्णनहरूको सिलसिलामा यो पत्रको दृष्टिकोणको झलक देख्न सकिने कारणले यसका केही मजवुनहरू यहाँ उल्लेख गर्न सान्दर्भिक हुनेछ ।

एडम्सले गार्डनरलाई लेखेका छन्, “गोरखा सरकार र इस्ट इण्डिया बीचको पश्चिमी सीमा कुन कायम गर्ने भन्ने सम्बन्धमा, कुमाउको पूर्वी सीमा र नेपालको पश्चिमी सीमाको रूपमा शारदा नदी प्राकृतिक रूपले स्वभाविक छ । अर्थात्, यदि शारदा नदी, जुन काली नदी नै हो, त्यसलाई सीमा तोकेको खण्डमा प्राकृतिक स्वरूपले यो स्वभाविक देखिन्छ ।”

तर, त्यसरी शारदा या काली नदीलाई सीमा बनाउँदा दूरदर्शिता भने हुन नसक्ने आशयका साथ उनी शंका व्यक्त गर्दै लेख्छन्, “शारदा नदी जुन उपल्लो भागमा काली नदी हो, त्यसलाई सीमा नदीको रूपमा निर्धारण गरिएको खण्डमा इस्ट इण्डिया कम्पनीले त्यस क्षेत्रमा अवलम्बन गरेको सबभन्दा ठूलो र महत्वपूर्ण उद्देश्यमाथि बाधा–अडचन पुग्ने छ । किनकी, इस्ट इण्डिया कम्पनीको मूलभूत उद्देश्य भनेको त्यस भू–भागको बाटो हँुदै हिमालय पार गरेर तिब्बत भूमि हुँदै तातरहरूसँग व्यापार विस्तार गर्नु हो ।

त्यसको लागि शारदा नदी होइन, बरु त्यसभन्दा पूर्वतर्फको हिमाली भूभागसँग जोडिने जमिनी सीमा कायम गरेको खण्डमा इस्ट इण्डिया कम्पनीको मूलभूत स्वार्थको संरक्षण हुन सक्नेछ । तिब्बततर्फ जाँदा हिमाल पार गर्दा गोर्खालीहरूबाट भविष्यमा हुन सक्ने हस्तक्षेपबाट त्यो बाटोलाई कसरी सरक्षित राख्न सकिन्छ त्यस दृष्टिकोणबाट सीमा निर्धारण हुनुपर्दछ ।” यसरी उनले सीमा निर्धारणमा इस्ट इण्डिया कम्पनीको दीर्घकालीन सोच उल्लेख गरेका छन् ।

उनले चिठ्ठीमा ‘शारदा नदीभन्दा अझै पर’ सीमा निर्धारण गर्नको लागि सुझाव दिएका छन् । उनले अझ अगाडि लेखेको कुराले के झलक दिन्छ भने यदि शारदा नदी (जुन माथिल्लो भेगमा काली नदी नामले पुकारिन्छ) सीमा तोकिएको खण्डमा त्यहाँबाट हिमालपार गर्ने बाटोको बारेमा गोर्खालीहरूबाट फेरि पनि किचलो नहोला भन्न सकिदैँन, त्यसले इस्ट इण्डिया कम्पनीको व्यापार विस्तारको उद्देश्यलाई भविष्यमा असर पार्न सक्छ ।

त्यसो हुनाले गोरखा सरकारसँग गरिने कुनै पनि सम्झौता वार्ताहरूमा शारदापारि अझै पूर्वतर्फ र त्यो पहाडी इलाकासम्मको भूभाग, जहाँ हामीले पहाडी इलाकामा नेपालसँगको जमिनी सीमा निर्धारण सक्छौँ, त्यो सबै भू–भाग गोरखा सरकारले इस्ट इण्डिया कम्पनीलाई समर्पित गर्नुपर्छ भन्ने दृष्टिकोणले अडान राख्न आवश्यक छ’ भनेर निर्दिष्ट गरेका छन् ।

इस्ट इण्डिया को व्यापार विस्तार नीति र त्योसँग जोडिएको भूगोल इस्ट इण्डिया कम्पनी मातहत अधिनस्थ गर्न युद्धविराम सम्झौता हुने क्रममै पश्चिमी सिमाना निर्धारण गर्ने कुरामा आफ्नो टाङ अडाएका छन् ।

त्यसको २ सय वर्ष पछाडि आज हामी जुन पश्चिमी सीमाको बारेमा विवाद उपर छलफलमा छौं, त्यसमा इस्ट इण्डिया कम्पनीको त्यस प्रकारको दृष्टिकोण वा नीतिको बारेमा पनि जानकारी हुनु अत्यन्तै आवश्यक छ ।

इस्ट इण्डिया कम्पनीको त्यो आशय वा चाहना सन् १८१६ मा भएको सुगौली सन्धिमा कार्यान्वन भएको देखिँदैन । सतलजसम्म विस्तार भइसकेको भूमि नेपालले छोडिसकेको कारणले सम्भवतः जनरल अक्टरलोनी शारदा (काली) भन्दा पर्वको भूमि दाबी गर्न किन तत्पर भएनन् होला त ?

कारण अज्ञात छ, तर सामरिक मनोविज्ञानको हिसाबले एउटा अनुमानसम्म के गर्न सकिन्छ भने नालापानीमा जनरल जिलेप्सीको मृत्युले जुन तत्कालीन गोरखा सैनिक सामथ्र्य प्रदर्शन भएको थियो, त्यस कारणले पनि उनीहरूले लज्जा महसुस गरेका थिए या त नोकरशाहको निर्देशनलाई वास्ता गर्न जनरल अक्टरलोनीले उचित ठानेनन् ।

नालापानीको लडाइँमा जनरल जिलेप्सीको मृत्युलाई इस्ट इण्डिया कम्पनीको सेनाले आफ्नो प्रतिष्ठाको विषय बनायो र काली पश्चिमको सम्पूर्ण नेपाली भूभाग लिनको लागि उद्दत देखियो तर शारदा नदीभन्दा पूर्वको जमिन दाबी गर्नु उपयुक्त थिएन भन्ने उनीहरूको दृष्टिकोण रह्यो । वा, युुद्ध सरदार बडाकाजीले उनीहरूको काली तरेर वारि आउने चाहनालाई ईन्कार गरीदिए । नदीको सिमाना पक्का मानिने भएकोले दुवै पक्षले यसलाई स्वाभाविक मानेकोले थप कुरा अगाडि नबढेको पनि हुन सक्छ ।

र, यसरी सन् १८१६ मा शारदा नदी सीमाको रूपमा कायम भएको देखिएता पनि जेम्स एडम्सले व्यक्त गरेको तत्कालिन इस्ट इण्डिया कम्पनीको दीर्घकालिन उद्देश्य भने बेलायती उपनिवेशपछिका उत्तराधिकारी सरकारहरूमा स्पष्टसँग परावर्तन भइरहेको देख्न सकिन्छ । अहिले पनि त्यो विरासतको नीतिको निरन्तरताको स्वरूप देख्न सकिन्छ । र, यो विन्दुमा आइपुग्दा एउटा अर्को तथ्यलाई उल्लेख गरेनौैं भने सन्दर्भ मोडिन सक्छ ।

हामीले यसअघिको अंकमा चर्चा गरेको सन् १८४६ र १८४८ को स्टार्ची ब्रदर्शको तिब्बत प्रवेश गर्ने नाकाको एक्सप्लोर मिसन र तिब्बतभित्र गुरिल्ला शैलीमा गरिएको ‘पेनेट्रेसन भ्रमण’ लुकिछिपी गरिएका एक्सपिडिसनहरू थिए । जुन एक्सपिडिसनहरूलाई ३ मे १८१५ मा आदम्सले अक्लेटरलोनीलाई लेखेको चिठ्ठीकै भावनालाई नीतिगत रूपमा समर्थन गर्छन् ।

लिपुलेक हुँदै अन्य यात्रा

सन १८५५ देखि १८६० को बीचको कुनै समयमा रबर्ट ड्रुमन नामको ब्रिटिसले तिब्बत तर्फको यात्रा गरेको वर्णन पढ्न पाइन्छ । त्यो निषेधित क्षेत्र तिब्तत तर्फको यात्राको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने कलकत्ताबाट कुमाउँ हुँदै लिपुलेकको बाटो भरियाहरूले ढुवानी गरेर पु¥याएको रबर मोटरबोट उनले मानसरोवरमा चलाएका थिए ।

हिन्दु, जैन, बौद्ध, बोन्पो सबै धर्मालम्बी र अझै विशेषतः तिब्बतीहरूका लागि धार्मिक–पौराणिक तीर्थस्थल, पवित्र मानसरोवरमा मोटर बोट चलाएर ड्रोमोनले सरोवरको पवित्रता भंग गरेको पापको सजाय ड्रोमोन आफैले भोग्नु पर्यो परेन तर उनको डुंगा शयरको नतिजास्वरूप भने मानसरोवर क्षेत्रको जोङ्पो (स्थानीय प्रशासक) लाई ल्हासा प्रशासनले मृत्युदण्ड दियो । त्यो पापकर्मलाई निषेध नगरेको अभियोगमा जोङ्पोको टाउको गिँडियो ।

ब्रिटिस सिकारी दलको तिब्बत यात्रा

सन् १८६४ को एउटा ब्रिटिस सिकारी दलले कुमाउँको बाटो हुँदै तिब्बतको यात्रा ग¥यो । भ्रमण दलमा गोरखपुर प्रदेशको फरेस्ट रेन्जरको पदमा कार्यरत गोइभर नाम गरेको एकजना ब्रिटिस पनि संलग्न थिए ।

अरु सदस्यहरूमा इण्डियन सेन्ट्रल सर्भिसमा कार्यरत ब्रिटिस रबर्ट ड्रुमन र पहिले उत्तर प्रदेशमा पर्ने बरेलीको कमिसनर भइसकेका लेफ्टिनेन्ट स्मिथ नाम गरेको स्कूल इन्स्पेक्टर थिए । यसमा चाखलाग्दो कुरा के छ भने मानसरोवरमा मोटर बोट चलाउने रबर्ट ड्रुमन पनि यस भ्रमण दलमा समावेश थिए । यिनिहरू मध्येकै नातागोता पर्ने ब्रिटिस डेपुटी गर्भनर जनरल नै त्यति बेला इण्डिया को उत्तरी भूभागको तालुकवाला हुने गर्थे ।

६० जना भोटे भरियाहरू, दर्जनौं याक, घोडा, बन्दुकहरू र गोलीगठ्ठा सहितको प्राइभेट आर्मी बराबरीको यो सिकारी समूह कुमाउँ हुँदै तिङ्कर नाकाबाट ताक्लाकोट पुग्दा स्थानीय तिब्बती लडाकाहरूले रोकेपछि त्यहाँँ निकै जटिल परिस्थति उत्पन्न भयो, करिब–करिब लडाइँ गर्नुपर्ने स्थिति आयो । तर, उनीहरूले त्यस स्थितिलाई कुनै प्रकारले टारे र पछि स्थानीय जोङ्पो अर्थात् स्थानीय प्रशासकलाई र अन्य जोङ्पो मातहतका अधिकारीहरूलाई ओइभरको टोलीले ह्विस्की पिलाए, उपहार पनि दिए । त्यसपछि भने उनीहरूको यात्रा त्यस क्षेत्रमा सहज हुन गयो ।

यो सिकारी दलले गुर्लामान्धता हिमालको उतर–पूर्वी पाखामा सिकार खेलेको र जंगली जोक्पे, याक र मृगहरू मारेको कुरा पनि वर्णन छ । यो समूह पछि हाइ–पास हुँदै दक्षिणतर्फ फर्कियो भने वर्णन गरिएको छ तर त्यो हाइ–पास लिम्पियाधुरा थियो या लिम्पियाधुराभन्दा पश्चिममा पर्ने निति पास थियो भन्ने कुरा भने उल्लेख भएको देखिँदैन ।

यो बिन्दुसम्म आइपुग्दा के देखिन्छ भने दक्षिणबाट पश्चिम तिब्बत पस्न सकिने लिम्पियाधुरा, लिपुलेक नाका र तिङ्कर नाका तीन वटै पासहरूको खोजी र प्रयोग पटक–पटक इस्ट इण्डिया कम्पनीका ब्रिटिस अधिकारीहरूले गरेका छन् ।

सतलज नदीको मुहान खोजी ?

सन १८६५ को जुन –जुलाईमा क्याप्टेन स्मिथ र ह्यारिसन नामक दुईजना ब्रिटिसहरूले अर्को यात्रा नैनीतालबाट सुरु गरेका थिए । उनीहरूको यात्रा सम्भवतः हात्ती पर्वतको बाटो हेमकुण्ड हुँदै गरिएको थियो । साहिब गुरुद्वारामा यिनीहरूले भेटेका तातारीहरूले रोक्न खोजेका तर तिनीहरूलाई छक्याएर आफूहरू तिब्बत प्रवेश गर्न सफल भएको बयान यी ब्रिटिसहरूले गरेका छन् ।

कैलाश पर्वतको परिक्रमा सुरु हुने बेस क्याम्प धार्चेन पुगेर यिनीहरूले त्यहाँको मूल लामालाई भेटेको र लामालाई एयर गन र ब्राण्डी उपहार दिएको कुरा यात्रामा वर्णनमा उल्लेख गरिएको छ । यी दुवैै जना पनि सिकारको लागि गएको हुनाले लामाले खटाइदिएको गाइडसँग सिकार खेलेको र ठूलो कालो ब्वाँसो मारेको वर्णन गरेका छन् ।

त्यसपछि यिनिहरू सतलज नदीको मुहान खोज्न हिँडेको बताउँदै त्यसतर्फ लागे र पछि फर्किए ।

क्याप्टेन स्मिथ र ह्यारिसनले सतलज नदीको मुहान खोजको विषयमा रोयल जियोग्राफिक सोसाइटी अफ लन्डनसामु सतलज नदीको मुहानको सम्बन्धमा प्रस्तुत गरेको खोज परिणामलाई डाक्टर थम्सनले सीधै अस्वीकार गर्दै उनीहरूको खोज तथ्यमूलक नभएको र बरु लेफ्टीनेन्ट स्टार्ची र उनका भाई रिचर्ड स्टार्चीको सतलज नदीको मुहानसम्बन्धी खोजलाई अनुमोदन गरेको कुरा जानकारी गराएको प्रसंग उल्लेख छ । र खासमा उनीहरू सतलजको मुहान खोज्नमा त्यति गम्भीर थिएनन्, जति सिकार खोज्नमा थिए भनेर पनि बताइन्छ ।

हामीले विश्लेषण गर्दा के पाउँछौं भने इस्ट इण्डिया कम्पनीमा कार्यरत ब्रिटिसहरूले गरेका कुनै पनि एक्सप्लोर मिसनहरूको रिपोर्ट रोयल जिओग्राफिक सोसाइटीले रेकर्डमा लिने गथ्र्यो ।

सतलज नदीको मुहान मानसरोवर हो वा राक्षस ताल– त्यसको यकिन गर्न जाने एक्सप्लोर मिसनहरूले सबै प्रकारको नतिजा÷विश्लेषण रोयल जियोग्राफिक सोसाइटीमा अभिलेखिकृत गर्दथे, जसमा तिब्बततर्फ प्रवेश र नियन्त्रण गर्ने रुट/मार्ग, पास/भञ्ज्याङको एक्सप्लोर गर्ने प्रयासमा निरन्तर इस्ट इण्डिया कम्पनीको व्यक्तिहरू विभिन्न हिसाबले संलग्न थिए भन्ने कुरालाई पटक–पटक पुष्टि गर्दछ ।

र ती सबै इस्ट इण्डिया कम्पनीले हिमाल पार तिब्बत हुँदै तातार हरूसँग व्यापार विस्तारको चहानाले गरिएका अभियानहरू थिए र तिब्बत प्रवेशका मार्ग, नाकाहरू आफ्नो नियन्त्रणमा राख्ने रणनीतिक उद्देश्यले प्रेरित थिए । (लेखक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन्)



प्रतिक्रिया दिनुहोस !