१४ बैशाख २०८१, शुक्रबार

नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

प्रकाशित मिति :  14 September, 2021 7:35 am


काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।

अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि प्लेयर अफ दी म्याच हुनुभएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए ।

उनले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए । उनले ८७ बल खेल्दै तीन छक्का र दुई चौका हाने ।

नेपालका लागि विनोद भण्डारीले ३७, आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । बलिङतर्फ अमेरिकाका निशर्ग पटेल र नोष्ठुस केन्जिगेले दुई–दुई तथा सौरभ नेत्राभल्करले एक विकेट लिए ।

यसअघि २३० रन बनाउने क्रममा अमेरिकाका लागि मोनाङक पटेलले शतकीय पारी खेले ।

उनले यस क्रममा ११४ बलको सामना गर्दै १०० रन बनाए । यस्तै निशर्ग पटेलले २१, सुशान्त मोदनीले १६, करिमा गोरेले १६, स्टेभन टेलरले १४, नोष्ठुस केन्जिगेले १३, सञ्जय कृष्णमूर्तिले १३, अभिषेक प्रदमकरले अविजित १३ र जसकरन मलहोत्राले ११ रन बनाउनुभएको थियो ।

बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !