१ जेष्ठ २०८१, मंगलबार

विप्लव नेतृत्वको नेकपाको महाधिवेशनको मिति तय,जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  22 September, 2021 11:25 am


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महाधिवेशनको मिति तय गरेको छ ।

तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय कमिटीको ११ औं पूर्ण बैठकले आउँदो फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।

केन्द्रीय समितिको बैठकले जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

सबै शक्तिहरूसँग सहकार्य गर्दै नेपालबाट एमसीसी खारेज नहुँदासम्म एमसीसीविरोधीसँगको सहकार्यलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको नेकपाले जनाएको छ ।

यस्तै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै सरकारद्वारा पार्टीमाथि प्रतिबन्ध लगाइएपछि भत्किएका साङ्गठनिक संरचनाहरूलाई पुनर्संरचित गर्न देशव्यापी सङ्गठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा जनसभा तथा जनप्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको  छ । यस्तै पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला र सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !