१ जेष्ठ २०८१, मंगलबार

फेरि केन्द्रीय कार्यालयमा धर्ना दिने पौडेल पक्षका जिल्ला सभापतिहरूको चेतावनी

प्रकाशित मिति :  22 September, 2021 12:12 pm


काठमाडौं । नेपाली कांग्रेसका पौडेल पक्षका जिल्ला सभापतिहरूले आफ्ना माग सुनुवाई नभए केन्द्रीय कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् ।

क्रियाशील सदस्यता लगायतका विषयमा नेतृत्वले अझै वेवास्था गरिरहेको भन्दै फेरि धर्ना दिने चेतावनी दिएका हुन् ।

निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेको घटनाले स्तब्ध बनाएको पौडेल पक्षका जिल्ला सभापतिहरूको भनाई छ ।

सभापति शेरबहादुर देउवालाई लेखिएको पत्रमा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्बन्धी बिषयलाई लिएर देसभरिका लाखौं सदस्यको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएको जिल्ला सभापतिहरूले स्मरण गराएका छन् ।

पत्रमा भनिएको छ,“वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं। यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्क्तिको स्वार्थसिध्दी गर्न तथा लामो समयदेखि पार्टीमा रगत(पसीना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट हामी स्तब्ध भएका छौं।”

७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट व्वस्था विपरीत निर्वाचन निर्देशिका जारी भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न पौडेल कोइराला पक्षका नेताले माग गरेका छन् ।

त्यस्तै क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गर्न उनीहरूको आग्रह छ । सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन पनि पौडेल पक्षका जिल्ला सभापतिहरूको माग छ ।

मागहरूलाई सम्बोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिए भदौं ८ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य हुने जिल्ला सभापतिहरूले चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !