३१ आश्विन २०७८, आईतवार

‘आध्यात्मिक मोडल’को विकास अवधारणा

प्रकाशित मिति :  २३ आश्विन २०७८, शनिबार १५:४१


अमेरिकी व्यवस्थापनविद् पिटर डकरले उपलब्ध स्रोत साधनको उपयुक्त व्यवस्थापनको महत्वका विषयमा राखेको विचार यहाँ सान्दर्भिक हुन्छ । उनी भन्छन्– “विश्वका कुनै पनि देश गरिब हुँदैनन्, केवल ती देशहरूमा सफल व्यवस्थापनको अभाव हुन्छ ।”

अष्ट्रियामा जन्मेका अमेरिकी व्यवस्थापनविद् डकरले पछिल्लो अवधिमा दिएको अभिव्यक्ति जस्तै हाम्रो पूर्वीय दर्शनअन्तर्गत् वैदिक सनातन संस्कृतिका प्रवद्र्धक ऋषिमुनि विद्वान वैज्ञानिकहरूले हजारौं वर्षअघि हामीलाई विचार दिएका थिए । तैपनि, हाम्रो देश नेपाल किन विकासको गतिमा अघि बढ्न सकेन ? यो अत्यन्त संवेदनशील प्रश्नको रूपमा खडा हुन आउँछ ।

अवश्य पनि कुनै पनि सिद्धान्त, सोच तथा दर्शन तब सफल हुन्छ जब त्यसको व्यवहारिक प्रयोग प्रभावकारी ढंगबाट गरिन्छ । यसरी व्यवहारिक प्रभावकारी प्रयोग गर्ने संयन्त्र उक्त सिद्धान्त, सोच तथा दर्शनमाथि पूर्ण विश्वास गर्ने हुनु पर्दछ । नेपालको सन्दर्भमा हाम्रो देशको आधार खडा भएको वैदिक संस्कृतिमाथि अविश्वास गर्ने साथै यसलाई बिगार्ने संयन्त्रले विकासको खेती गर्दा उक्त विकास जराबिनाको हाँगा फैलिएर नेपाल अल्पविकसित मुलुकको सूचीमा रहिरहनु परेको हो ।

कुनै पनि देशको विकासका लागि उक्त देशका विशेष आधारभूत आधारस्तम्भहरूलाई पहिचान गरि त्यसको आधारमा जग खडा गर्नु पर्ने हुन्छ । समुन्द्र नै नभएको देशले समुन्द्री विशेषताको विकासे योजना बनाउनु, हिमाल नै नभएको देशले हिमाली विशेषताको विकासे योजना बनाएमा सिधा भन्न सकिन्छ– त्यो देशको विकासे योजना कुनै पनि हालतमा सफल हुन सक्दैन । नेपालको सन्दर्भमा वैदिक सनातन संस्कृति र ओमकार संस्कृतिको जननी मुलुकमा आयातीत दर्शनलाई लागू गर्न खोज्दा मानिसको शरीरमा हात्तिको मुटु प्रत्यारोपण गर्न खोजेको जस्तो विरोधाभाष अवस्था सिर्जना हुन पुगेको छ । त्यसैले नेपाल विकासका लागि नेपालको विशेषता बुझी विकासका नीति निर्माण गर्नुपर्ने देखिन्छ । त्यसका लागि देशको राजनीतिले नेपालको विशेषता, पहिचान, आधारस्तम्भ स्पष्ट रूपमा बुझ्नु पर्ने र स्वीकार्नु पर्ने तथा त्यसका आधारमा विकासका योजना बनाएर लागु गर्नु पर्ने देखिन्छ ।

विश्वमा विकासका अभ्यास

विश्वका हरेक विकसित देशले आफ्नो विकासका लागि निश्चित आधारहरू टेकेर फड्को मारेको देखिन्छ । विश्वकै आर्थिक महाशक्तिका रूपमा अघि बढिरहेको चीनले आर्थिक विकासका लागि चरणबद्ध रूपमा आफ्नो आधारभुत रणनीति अपनाउँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष एवं परिवर्तनका मूल नेता माओत्सेतुङ पछिका नेता देङ स्याओ पिङले चीनलाई विकासको बाटोमा मोडे ।

उनले अमेरिकासहित विश्वका पुँजीवादी देशहरूसँग द्वन्द्व चर्काएर होइन, उनीहरूसँग मिल्ने विषयहरूमा मिलेर अघि बढ्ने नीतिगत दृष्टिकोण अपनाए । र उनले तीव्र गतिमा मास प्रडक्सन ९ःबकक एचयमगअतष्यल० को नीतिलाई अत्याधिक गतिमा अघि बढाए जसले संसारभर सस्तो सामान आपूर्ति चीनले ग¥यो । हाल चीन विश्वमा सस्तो सामान आपूर्ति गरेर मात्र बसेको छैन, यतिबेला गुणस्तरीय सामानको उत्पादनको रणनीतिमा छ ।

दोस्रो विश्वयुद्धको हारपछि केवल आर्थिक विकासको लक्ष्यमा मात्र अघि बढेको जापानले विद्युतीय सामानसहित सवारीसाधन र प्राविधिक सामानहरूको उत्पादनमा केन्द्रित रहेर आर्थिक समृद्धि हासिल गरेको हो । मलेसियामा महाथिर मोहम्मदको नेतृत्वमा आन्तरिक पुँजीका आधारमा आफ्ना प्राथमिकतालाई मुख्य आधार मानेर विकासको आधारस्तम्भ कोरिएको पाइन्छ । आफ्ना सर्त पालना गरेमात्र ऋण दिने अन्यथा नदिने विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतको सर्त महाथिरको नेतृत्वको सरकारले अस्वीकार गरी मलेसियाले आफ्नै पुँजीको जगमा विकासको पाइला कोरेको हो ।

कुनै भौगोलिक र प्राकृतिक वरदान नपाएको दुर्भाग्यशाली देश सिंगापुरमा लि क्यानयुको नेतृत्वमा माटो सुहाउँदो विकासको मोडलले सिंगापुर विश्वमा व्यापारिक ‘हब’ बन्न सफल भएको छ । कुनै बेला मलेसियाद्वारा पानी आपूर्ति समेत रोकिएको देश सिंगापुरले आज विश्वका अधिकांश कर्पाेरेट हाउसका कार्यालय सिंगापुरमा स्थापित हुन पुगेका छन् ।

विश्वको नम्बर १ अर्थतन्त्र अमेरिका सामरिक सामानहरू विश्वमा आपूर्ति गर्ने तथा प्रविधि विश्वभर आपूर्ति गरी आर्थिक उपार्जन गरेर आर्थिक र सामरिक ‘लिडर’ बनि रहेको छ ।

हाम्रो छिमेकी देश भारत पछिल्लो एक दशकयता आफ्नै मौलिक विकासका मोडललाई जोड दिँदै विकासको गतिमा उडान भरिरहेको छ । भारतले आफ्नो संस्कृतिलाई विकासका मोडलमा अन्तरनिहीत गर्दै अघि बढेको छ । भारतीय खाना, संस्कृति, धर्म आदि लाई विश्वभर स्थापित गर्दै लगेको छ ।

क्षेत्रफल र जनसङ्ख्याका हिसाबले सानो भए तापनि इजरायलको विकास मोडल अध्ययन गर्न लायक छ । नयाँ नयाँ प्रविधिको विकास इजरायलको आर्थिक आमदानीको आधार हो । त्यसैगरी नयाँ नयाँ प्रविधिको हतियार बनाएर इजरायलले संसारभर बेच्ने गर्दछ । यसबाट उसले लाखौँ डलर आमदानी गर्दछ । उसको आधुनिक कृषि प्रणाली विश्वभर छक्क पार्ने खालको छ ।

यहाँनेर प्रश्न अवश्य आउँछ, उसो भए नेपाल विकासका आधार के–के हुन् ? हाम्रो देशको राजनीति, प्रशासन, नीति निर्माता, अर्थशास्त्री, व्यवस्थापनविद् आदि यसबारे घोत्लिएका छन् ? वा, विश्वका कुनै प्रख्यात विश्वविद्यालयबाट अर्थशास्त्रमा दीक्षित अर्थशास्त्रीले कोरेको कुनै पदमार्ग छ ? नेपालको माटो सुहाउँदो, यथार्थमा टेकेको, व्यावहारिक धरातलको विकासका आधार के–के हुन् ? विश्वका पश्चिमी देशले कोरिदिएको योजनामा नेपालको विकास अघि बढ्न सक्छ ?

यसमा घोत्लिन सकेमात्र नेपाल विश्वमा विकासको मार्गमा लम्कने देश बन्न सक्नेछ । त्यसका लागि देशको माटो सुहाउँदो, मौलिकता अपनाएको अर्थनीति अपनाउनु आवश्यक पर्दछ । नेपालको वैदिक सनातन संस्कृति, ओमकार परिवारको विरासतलाई थोरै मात्र भए पनि व्यावसायिक रंग ९ऋयmmभचअष्ब ित्यलभ० दिन सकेमात्रै पनि देशले छिट्टै फड्को मार्नेछ भने देशको अर्थतन्त्र सबल बन्नेछ ।

अर्गानिक देश घोषणा

नेपाल विश्वमा हिमाली देशका रूपमा परिचित र स्थापित छ । विश्वको अग्लो शिखर सगरमाथादेखि दस अग्ला शिखरमध्ये आठ शिखर नेपालमा नै छन् । यस्तो पवित्र देशमा पछिल्ला वर्षहरूमा विषादीको प्रयोगले निकै ठूलो चुनौती थपिदिएको छ । त्यसलाई मध्यनजर गरी नेपाललाई तत्काल विषादीमुक्त देशका रूपमा घोषणा गरी स्थापित गराउनु पर्ने जरुरी हुन आउँछ । जसरी नेपालीको हाँसो विश्वका मानिसका लागि आकर्षण र शान्तिको स्रोत बनेको त्यस्तै नेपाल विश्वको अर्गानिक माटो, हावा, पानी भएको देशका रूपमा स्थापित गर्नु पर्दछ ।

पक्कै पनि सानो भौगोलिक क्षेत्रफलभित्र पनि प्राप्त विविधताका बीच नेपाललाई अर्गानिक देश बनाउन सके, विषादीबाट वाक्क भएका विश्वका जनतालाई नेपाल जाउँ–जाउँ बनाउन सकिन्छ । विषादीरहित खाने कुरा र नेपालको मिठो पानी अति ताजा हावामा बसेर विश्वको कोलाहलपूर्ण जीवनबाट थाकेकाहरू फ्रेस हुन सक्छन् । त्यसबाट नेपालले अर्गानिक सामानको उचित मूल्य उनीहरूबाट प्राप्त गर्न पनि सक्छ । तर, नेपाल साँच्चैको विषादीमुक्त भई अर्गानिक भएको र उत्पादित सामान अर्गानिक नै भएको भने निश्चित हुन आवश्यक छ ।

विषादी प्रयोग गरेर गरिने कृषि उत्पादनले दिने आम्दानीभन्दा मध्य र दीर्घकालमा अर्गानिक उत्पादनको आम्दानी निश्चित बढी हुन्छ । अझ विषादीको प्रयोगबाट उत्पादित सामानको प्रयोगबाट उत्पन्न भएको विभिन्न प्रतिकूल प्रभावबाट त्रसित मानिसहरू माझ अर्गानिक नेपाली उत्पादन पु¥याउन सके देशले भोगिरहेको बढ्दो व्यापार घाटा तुरुन्त कम गर्न सकिन्छ ।

‘आध्यात्मिक पुँजीवाद’ को नीति

विश्व २१ शताब्दीको विकसित युगमा लम्किरहेको छ, त्यत्ति नै शान्तिका लागि विश्वका धेरै मानिस तड्पिन पुगेका छन् । खासगरी पश्चिमा देशमा भएको भौतिक विकासले त्यहाँका नागरिकमा तीव्रतम तनाव उत्पन्न गराइदिएको छ । प्राकृतिक जीवन पद्धतिलाई त्यहाँको भौतिक चमकदमकले अशान्त बनाइदिएको छ । त्यसैले त्यहाँका नागरिकहरू प्राकृतिक संगतको खोजीमा भौतारिन पुगेका छन् । यस्तो अवस्थामा नेपालले उनीहरूलाई आश्रय दिएर रिफ्रेस बनाउनुपर्दछ ।

आज विश्वले भौतिक विकासमात्र नभई आत्मिक शान्ति पनि आवश्यक हुने स्वीकार गरिसकेको छ । हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरूले प्रादुर्भाव गर्नु भएको यही सिद्धान्तलाई अब विश्वभर फैलाएर आर्थिक उपार्जनको माध्यम बनाउन सकिन्छ । भौतिक विकास र आध्यात्मिक अभ्यास दुवै एउटै रथका दुई पाङ्ग्रा हुन् । एउटा मात्र पाङ्ग्रालाई मात्र बढी प्राथमिकता र अर्काेलाई उपेक्षा गर्दा सन्तुलित समाज र देश निर्माण गर्न सकिँदैन ।

तसर्थ, नेपालले संसारलाई नै देखाउने गरेर ठूल्ठूला भौतिक संरचनाको प्रादुर्भाव र निर्माण गर्न सक्ने अवस्था छैन । तर प्राकृतिक रूपमा प्राप्त र हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरूले दिनु भएको सिद्धान्तलाई आजको आधुनिक विश्वमा फैलाएर देशको जनस्तर सुधार्न रामवाण हुने स्पष्ट बन्दै गएको छ । यस्तो सन्दर्भमा सकभर प्राकृतिक उपायबाट मिल्दा संरचनाको निर्माण गरी आध्यात्मिक पक्षलाई प्रवद्र्धनमा नेपालले जोड दिन आवश्यक छ ।

वैदिक संस्कृतिको उच्चतम् प्रयोगबाट भौतिक विश्वबाट वाक्क भएकाहरूलाई शान्तिको ऊर्जा दिने स्रोतका रूपमा नेपाललाई अघि बढाउन सक्नुपर्छ । बुद्धको जन्मस्थल लुम्बिनी, विश्वको अग्लो शिखर सगरमाथा, भगवान् पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, दामोदरकुण्ड, खप्तड लगायतका क्षेत्रलाई बृहत्तर गुरुयोजनामार्फत धार्मिक आध्यात्मिक मर्मअनुसार विकास गरी त्यसको उचित प्रयोग गर्नुपर्दछ । यी स्थानहरूमा व्यक्तिले शान्तिपूर्वक महिनौँ बिताउन पाउने प्रावधान मिलाउनुपर्छ । यसो गर्न सकेमा विश्वका केही करोड मानिस मात्र वर्षमा नेपाल आए भने तीन करोड नेपालीले मात्र काम गर्न नभ्याउने भएकाले हाल खाडीका देशहरूले नेपालबाट कामदारका रूपमा जनशक्ति लगे जस्तै भोलिका दिनमा विश्वका विभिन्न देशबाट कामदारका रूपमा जनशक्तिलाई नेपालले रोजगारी समेत दिन सक्छ ।

नेपाल विश्वमा हिन्दू र बौद्ध धर्मका प्रमुख तीर्थस्थल हो । हिन्दू धर्म र बौद्ध धर्मको प्रादुर्भाव यही माटोबाट भएको हो । त्यसैले विश्वभरका ओमकार परिवारका सदस्यहरूलाई जीवनमा एक पटक मात्र भए पनि नेपाल जानै पर्ने महत्व बुझाउन प्रयास गर्नु पर्दछ । यसका लागि आध्यात्मिक पूँजीवादको मोडल अपनाउनु पर्दछ ।

योग केन्द्रहरू

नेपालका सबै डाँडाहरू, जंगलहरू योग ध्यान केन्द्र हुन् । खाली आवश्यक छ, यस बारेको सोचलाई विकासका नीति तथा व्यवहारिकतासँग जोड्न मात्र । विभिन्न रोगका कारण जीवनमा दुःख पाइरहेकाहरू मात्र होइन, स्वस्थ व्यक्तिलाई पनि नेपाल आएर दीर्घायुका लागि योग गर्न अभिप्रेरित गर्नुपर्दछ ।

आज विश्वले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा स्वीकार गरिसकेको सन्दर्भमा यसले खिचेको विश्वको ध्यानलाई समाएर प्राकृतिक रूपमा ध्यान गर्न मिल्ने स्थलहरू नेपालका विभिन्न स्थानहरूमा बनाउन सकेमा यसका लागि नै नेपाल आउने पर्यटकहरूको संख्या बढाउन सकिन्छ ।

विश्वभरबाट एक्लो मात्र होइन परिवारसहित नै योग गर्न नेपाल आउने व्यवस्था मिलाउन सकिन्छ । यसरी योगका लागि आउनेहरूका लागि नेपालमा नै उत्पादित सात्विक अर्गानिक भोजनमार्फत किसानसम्म उनीहरूको उत्पादनको मूल्य पु¥याउन सकिन्छ । यसले हाल बाँझो रहेका खेतहरूमा घाँस खेती गर्ने र उक्त घाँस खुवाएर दुग्ध उत्पादन गरी किसानका घर घरमा अर्थतन्त्रको समृद्धि पु¥याउन सकिन्छ । साथै, हिमाली भेगका पठारहरूमा पशुपालन गरि पशुजन्य उत्पादनहरूको कारोवार उत्तिकै सम्भावना देखिन्छ ।

पर्या–पर्यटन

नेपालको अहिलेको पर्यटन उद्योग कामचलाउ प्रकारको छ । वर्षदिनमा जम्मा दस लाख पर्यटक भित्र्याउने सपना पूरा गर्न पनि धौधौ देखिएको छ । यस्तो कामचलाउ प्रकारको उद्देश्य र व्यवहारले देशको पर्यटन क्षेत्र सदैव यस्तै कामचलाउ नै रहिरहने छ । देशको प्रकृतिअनुसार पर्यटन क्षेत्रको विकास आवश्यक छ ।

विश्वमा पर्यटकका पनि विभिन्न प्रकार छन् । नेपालमा कस्ता प्रकारका पर्यटक आउन चाहन्छन् ? यसको निक्र्यौल नगरी केवल पर्यटन विकासको नाराले मात्र यो क्षेत्र अघि बढ्न सक्दैन । मानव निर्मित भौतिक विकास ९ःबल(mबमभ क्ष्लाचबकतचगअतगचभ० को आनन्द लिन चाहने पर्यटक अवश्य नेपाल आउन चाहँदैनन् भने थाइल्यान्ड, सिंगापुर, हङकङ, अष्ट्रेलिया, अमेरिका घुम्न जाने सोच राख्ने पर्यटक नेपाल आउने कोटीमा पर्दैनन् ।

नेपाल आउने पर्यटक नितान्त प्राकृतिक घुमाइको अपेक्षासहित आउने खालका हुन्छन् । यस्ताखाले पर्यटकलाई केन्द्रित गरी देशको पर्यटन नीति बन्नु पर्दछ भने त्यसको स्पष्ट कार्यान्वयन गर्नु पर्दछ ।

त्यस कारण, उनीहरूलाई सुहाउँदो र दिगो विकासका लागि पर्यापर्यटनको सोच नेपालले लिन आवश्यक छ । विश्वभरका पर्यटक नेपालमा प्राकृतिक प्रकृतिको घुमाइका लागि आउने वातावरण बनाउन आवश्यक छ ।

भुटानको कुल गार्हस्थ खुसीको मोडल

कुनै दिन नेपालभन्दा धेरै तल रहेको देश भुटानको अर्थतन्त्र अहिले नेपालको भन्दा धेरै फड्को मारिसकेको छ । प्रतिदिन दुई सय डलर खर्च गर्न सक्ने पर्यटकलाई मात्र भुटान जाने अनुमति मिल्दछ ।

नेपालमा झैं, जस्तो पायो त्यस्तै पर्यटक भुटान जान समेत पाउँदैनन् । भुटानले आफ्नो प्रकृति, धर्म, संस्कृति र धार्मिकस्थलहरूलाई प्राथमिकता साथ जोगाएर त्यसलाई नै पर्यटकसामु बेचेर अर्थतन्त्रको तीव्रतर विकास गरिरहेको छ । आज पर्यटन भुटानको अर्थतन्त्र विकासको मुख्य आधार बनेको छ । यसैलाई आधार मानेर भुटानले कुल गार्हस्थ खुसी अर्थतन्त्र भन्ने अवधारणा नै विश्व सामु राखेको छ ।

इतिहासमा नै पहिलो पटक चार अकको प्रतिव्यक्ति आय बनाउन सफल भएको भनिएको नेपालको प्रतिव्यक्ति आय बल्ल एक हजार अमेरिकी डलर नाघेको छ । तर, भुटानले प्रतिव्यक्ति आय औसतमा चार हजार एक सय अमेरिकी डलरभन्दा बढी पु¥याएको छ । यस्तो अवस्थामा हाम्रो नेपालको प्रतिव्यक्ति आयवृद्धि हुनुमा वैदेशिक रोजगारीले कमाएको रेमिट्यान्स मुख्य आधार हो ।
साउदी अरेबिया र कतारको अर्थतन्त्र प्रभावित भएसँगै रोजगारी कटौती भएको प्रभाव नेपालको अर्थतन्त्रसम्म पर्ने गरेको छ । यस्तो अवस्थामा रेमिट्यान्स देशका लागि अति नै जोखिमले भरिएको आर्थिक स्रोत हो ।

नेपाली युवा बढी कार्यरत रहेका देशको अर्थतन्त्रमा थोरै मात्र नकारात्मक प्रभाव पर्ने बित्तिकै नेपाल आउने रेमिट्यान्स बन्द हुनेछ । त्यसैले आन्तरिक अर्थतन्त्रलाई मजबुत पार्ने र देशभित्रै आर्थिक उन्नतिको वातावरण तयार पार्ने विकल्प खोज्न ढिलाइ गर्ने समय छैन ।

यस विषयमा भौगोलिक, जनसंख्या, सामरिक आदि हिसाबले नेपाल भन्दा निकै कमजोर रहेको देश भुटानबाट अर्थतन्त्र विकासका विषयमा भने नेपालले धेरै सिक्न सक्ने अवस्था छ । खासगरी प्रकृतिको संरक्षणसहित धर्म–अध्यात्मकको जगेर्ना गरी दीर्घकालिन मौलिक विकासलाई अपनाउन नेपालले सक्छ ।

(आर्थिक पत्रकार पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् तथा हस्तरेखाविद् हुन् ।)



प्रतिक्रिया दिनुहोस !