१३ बैशाख २०८१, बिहिबार

मुख्य प्रशिक्षक अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिबन्ध

उनी भन्छन्,‘यो न्यायसंगत छैन’
प्रकाशित मिति :  16 October, 2021 2:39 pm


काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माथि दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाएको छ ।

‘टेक्निकल एरिया’मा बस्न नपाउने गरी प्रतिबन्ध लगाएपछि मुख्य प्रशिक्षक अलमुताइरीले आक्रोश पोखेका छन् । उनले भर्चुअल पत्रकार सम्मेलनका क्रममा भने, “मलाई प्रतिबन्ध लगाउन मात्रै नियम परिवर्तन गरिएको छ । यो प्रतिबन्ध अब्दुल्लाह अलमुताइरीप्रति मात्रै होइन यो नेपाली फुटबल, एन्फामाथिको पनि हो । यो निष्पक्ष छैन र न्यायसँगत छैन ।”

मुख्य प्रशिक्षक अलमुताइरीले साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिए ।

उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे। अलमुताइरीले लिग चरणका फरक दुइ खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले फाइनल खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । अलमुताइरीले प्रतिबन्ध फुकुवाका लागि पहल गर्ने बताएका छन् ।

माल्दिभ्ससँगको खेलमा भारतीय फुटबल टिमका मुख्य प्रशिक्षकले रातो कार्ड खाएपछि फाइनलमा उनलाई प्रति प्रतिबन्ध लगाइएको छ । तर भारतीय प्रशिक्षक र आफ्नो कारण एउटै नभएको बताएका छन् ।

आज राती नेपाली समय अनुसार पौने ९ बजे साफ च्याम्पियनसिफ फुटबलको फाइनल हुँदैछ । नेपाल पहिलो पटक साफ फुटबलको फाइनल प्रवेश गरेर उपाधीका लागि भिड्दैछ ।



प्रतिक्रिया दिनुहोस !