१३ बैशाख २०८१, बिहिबार

फिफा वर्ल्डकपलाई ‘स्वस्थ्य विश्वकप २०२२’को रूपमा मनाइने

प्रकाशित मिति :  19 October, 2021 1:34 pm


काठमाडौं । फुटबलको आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ्य खेल समारोह बनाउंने घोषणा गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ(फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपूर्व क्षेत्रका संयोजक डा. अहमद बिन सलेम अल–मन्धारीको उपस्थितिमा ‘ स्वास्थ्य विश्वकप २०२२’को घोषणा गरियो ।

कतार सरकार तथा विश्वकप फुटबल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटबल संघ(फिफा)सँगको सहकार्यमा सबै क्रियाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उचित बनाउने काम गरिने जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै फिफा वल्र्ड कपको अवसरमा स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउंने काम पनि गरिने छ ।

यसबाहेक विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेको छ ।

आगामी दिनमा खेलकुदसम्बन्धी ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसम्बन्धित विषयमा पुर्‍याउन सकिने सुरक्षा तथा सावधानीबारे पहिले नै जानकारी लिन उपयुक्त हुने विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटबल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयलाई मध्यनजर गरी चालेको कदमलाई स्वागत गरेका छन् । साथै कतार सरकारलाई धन्यवाद दिँदै उनले भने “ विश्व स्वास्थ्य संगठन कतार सरकारसँग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिबद्ध छ । विश्वकप फुटबलसँगसँगै जनस्वास्थ्यका विषयमा बुझाउंन पनि यी कार्यक्रम सहयोगी साबित हुनेछ भन्ने मैले विश्वास लिएको छु।”

कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारीले मध्यपूर्वमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा आफू गौरवान्वित भएको बताए ।

अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना गर्नु पनि आफूहरूको चाहना भएको उनले जनाए ।साथै आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा यस्तै ठुला खेलकुदका कार्यक्रमहरूको आयोजना कतारमा गरिने विश्वास डा. हनानले व्यक्त गरे ।

कतारले आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटबलको आयोजना गर्दैछ भने सन् २०३० मा एसियन गेम आयोजना गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस !