२१ बैशाख २०८१, शुक्रबार

कालीकोट सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

प्रकाशित मिति :  9 November, 2021 3:17 pm


मान्म । कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका थिए ।

स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीन वटा मात्र सञ्चालनमा रहेका छन् ।

मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सिसिटिभी क्यामरामध्ये अधिकांशले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाहले बताए । ‘२८ वटा सिसिटिभी क्यामरामध्ये तीन वटाले मात्र काम गर्छन् ।

’ उनले भने , “धुवाँ, धुलो, पानी, चट्याङका कारणले क्यामरा बिग्रिएका हुनसक्छन् ।” सिसिटिभी क्यामरा बिग्रिँदा बजार क्षेत्रमा हुने आपराधिक घटना, चोरी, सवारी दुर्घटनालगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरी प्रमुख शाहले बताए ।

“जडान गरिएका सिसिटिभी क्यामराबाट विगतमा अपराध अनुसन्धान सजिलो भएको थियो”, उनले भने, “विगतमा सिसिटिभी क्यामरामार्फत आपाराधिक घटनामा संग्लनलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न सजिलो भएको थियो ।

” सिसिटिभी क्यामरा बिग्रिएको जानकारी आफूले पाएको र बिग्रिएका सिसिटिभी क्यामरा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटाइने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले जानकारी दिए ।

“प्राविधिक टोली खटाएर सिसिटिभी क्यामरा मर्मत तथा नयाँ राख्ने काम हुनेछ”, उनले भने । सिसिटिभी क्यामरा जडानका लागि कर्णाली प्रदेश सरकारको रु २० लाख, खाँडाचक्र नगरपालिकाको रु १० लाख र वित्तीय संस्था तथा अन्य सङ्घ संस्थाको रु १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !