२० मंसिर २०७८, सोमबार

बैंकिङ इतिहासको जग नेपाल बैंक

प्रकाशित मिति :  ३० कार्तिक २०७८, मंगलवार १५:४४


मुलुकमा केन्द्रीय बैंक स्थापना हुनुभन्दा १९ वर्षअघि नै सञ्चालनमा आएको र २८ वर्षसम्म एक्लो वाणिज्य बैंकको रूपमा काम गरेको नेपाल बैंकले वित्तीय क्षेत्रको नियामकको रूपमा मात्र काम गरेको थिएन, राणाकालमै आमजनतालाई व्यावसायिक लगानीका लागि परियोजना र अवसरसमेत प्रस्तुत गरिदिएको थियो ।

वि.सं. १९९४ साल कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन उद्घाटन गरिएको नेपालको पहिलो बैंकले आमजनतालाई ६० प्रतिशत सेयर दिएको थियो । बैंकमा सरकारको हिस्सा ४० प्रतिशत थियो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले रु. १० लाखबराबरको सेयर बैंकमा हाल्ने घोषणा गरेका थिए ।

जहानियाँ राणा शासनमा नेपाल बैंकको स्थापना प्रजा परिषदको स्थापनाको एक वर्ष पछि भएको थियो । १९९३ सालमा टंकप्रसाद आचार्य, गंगालाल श्रेष्ठलगायतले नेपालको पहिलो राजनीतिक दलको रूपमा प्रजा परिषदको स्थापना गरेका थिए ।

त्यसको चार वर्षपछि प्रजा परिषदका हर्ताकर्ताहरू गंगालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमालाई झुण्ड्याएर र गोली हानेर मृत्युदण्ड दिइयो भने ब्राम्हण भएकाले आचार्यलाई चार पाटा मुडेर देश निकाला गरियो ।

प्रजातन्त्रको पक्षमा पर्चा छरेको तथा विभिन्न गतिविधिमा संलग्न भएको भनेर राणा सरकारले करिब २ सय जनालाई पक्राउ गरेको थियो ।

यो ऐतिहासिक पक्षको प्रस्तुतिको अभिप्राय त्यस बेलाको स्वतन्त्रतारहित समाजको दृश्य प्रस्तुत गर्नु हो । राजनीति र नागरिक स्वतन्त्रता नै निसास्सिएका बेला पब्लिकमा सेयर जारी गर्ने कुरो बिल्कुल नौलो थियो । यद्यपि, पैसा भएकाहरू राणा परिवार वा तिनीहरूका सम्बन्धी र केही ठूला व्यापारीहरू नै बढी थिए ।

तत्कालीन राजा त्रिभुवनले उद्घाटन गरेको बैंकको सेवा आरम्भ समारोहलाई प्रधानमन्त्री जुद्ध शमसेरले सम्बोधन गर्दै यसले मुलुकको आर्थिक वृद्धिमा सघाउने र सबै तहका जनतालाई वित्तीय सेवा दिने बताएका थिए । तर रु. २५ लाखको सेयर जारी गरेकोमा बैंकले रु. ८ लाख ४२ हजार मात्र लगानी उठाउन सक्यो ।

पहिलो चरणमा १० जनालाई सेयर बाँडिएको थियो भने प्रधानमन्त्री आफैले १ हजार कित्ता सेयर लिएका थिए ।

हिलेको जस्तो अवस्था भएको भए त्यो प्राथमिक निष्कासन दर्जनौं गुणा बढीले बिक्री हुने पक्का थियो । वित्तीय सेवा थालेसँगै बैंकले नेपाली मुद्रा प्रचलनमा ल्याउने कार्यलाई तीव्रता दियो । त्यसबेला नेपालमा स्थानीयसँगै भारतमा शासन गरिरहेको बेलायती सरकारको कम्पनी र तिब्बत (भोट)को मुद्रा प्रचलनमा थिए ।

बैंकले विदेशी मुद्रा साट्ने, निक्षेप लिने तथा कर्जा प्रदान गर्ने कार्यलाई पनि अगाडि बढायो । तथापि, व्यापार व्यवसाय तथा अन्य आर्थिक गतिविधि ज्यादै न्यून रहेको सो समयमा बैंकका लागि आवश्यक बजार भने सीमित थियो । आमजनतासँग पैसा थिएन भन्ने कुरालाई बैंकले रु. २५ लाखको सेयर जारी गर्दा मात्र ८ लाख ४२ हजार मात्र उठेकोले पनि पुष्टि गर्छ ।

हुन त भर्खरभर्खर प्रजातन्त्रको हावा चल्न थालेको सो समयमा केही शिक्षित तथा प्रजातन्त्र पक्षधरहरूले राणा शासकहरूलाई विश्वास नगरेर बैंकमा लगानी नगरेका पनि हुन सक्छन् । यद्यपि, पैसावाल स्वतन्त्र नागरिकको संख्या भने ज्यादै नगण्य थियो ।

बैंक तथा वित्तीय संस्थाको अभावमा मुलुकको आर्थिक विकासका साथै निजी क्षेत्रको व्यापार व्यवसाय पनि प्रभावित भइरहेका बेलामा स्थापना भएको बैंकले तत्कालीन समयमा सरकार र व्यवसायी दुवैलाई निक्षेप तथा लगानीको विकल्प दियो भने अर्थतन्त्रलाई चलायमान बनाउन पनि केही मात्रामा मद्दत पुग्यो । नेपाल बैंकका लागि जारी गरिएको ऐनमा पनि त्यही कुरा भनिएको छ ।

आमजनतालाई वित्तीय सेवा दिई कुण्ठित भएको व्यापार व्यवसायको जगेर्ना गर्ने र देशलाई वृद्धिको मार्गमा लैजाने उद्देश्यले बैंकको स्थापना गरिएको थियो ।

१७ लाख निक्षेप, २० लाख ऋण

नेपाल बैंक स्थापनाको पहिलो वर्षमा यससँग रु. १७ लाख २ हजार २५ रूपैयाँ निक्षेप थियो जसमा रु. १२ लाख ९८ हजार ८ सय ९८ रूपैयाँ चालू खातामा थियो भने रु. ३ लाख ८८ हजार ९ सय ६४ रूपैयाँ मुद्दती र रु. १४ हजार १ सय ६३ बचत खातामा थियो । बैंकले १९ लाख ८५ हजार रूपैयाँ ऋण प्रवाह गरेको थियो ।

आममानिसमा बैंक तथा वित्तीय संस्थाबारे जानकारी नहुनु र त्यस्ता संस्थाले पनि आफ्नो रकम सुरक्षित राखिदिन्छन् भन्ने थाहा र विश्वास नहुनुले बैंकले लगानी र निक्षेप दुवै कम पाएको हुनसक्छ ।

अर्कातर्फ बैंक काठमाडौंकेन्द्रित भएकाले पनि निक्षेप र ऋण प्रवाह सानो देखिएको हो । त्यसबेला पनि विराटनगर, वीरगञ्ज, जनकपुरलगायत स्थानमा आर्थिक गतिविधिले गति लिइसकेका थिए । सीमावर्ती अधिकांश स्थानमा भारतीय सामग्री, भारतीय ग्राहक र भारतीय पैसा चल्थे । ती क्षेत्रमा नेपाली पैसा चलाउनका लागि सरकार र नेपाल राष्ट्र बैंक (२०१३ सालमा स्थापित)ले २०२० को दशकसम्मै अभियान सञ्चालन गर्नु परेको प्रथम गभर्नर हिमालय शमसेर राणाको भनाइ छ ।

बैंकका प्रथम महाप्रबन्धक नेपाली भाषी भारतीय बैंकर ठाकुरसिंह कठैत हुन् । यसले तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेरलाई चेक दिएर कारोबार थालेको थियो । नेपाल बैंकका निवर्तमान अध्यक्ष वासुदेव अधिकारीले दिएको जानकारी अनुसार बैंकले नगदी तहबिलबाट रु. १ सय ४० मा कम्पनी नोट खरीद गरेर बिक्री प्रारम्भ गरेको हो । त्यसैगरी बैंकले सुरुका दिनदेखि नै सुनचाँदी बन्धकी लिन थालेको थियो ।

नियामक पनि बैंक पनि

नेपालमा बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको स्थापना वि. सं. २०१३ मा मात्र भएको हो । त्यसअघिका १९ वर्षसम्म वित्तीय क्षेत्रको सञ्चालन र नियमन नेपाल बैंककै कार्यक्षेत्र थियो । कुनै पनि मुलुकको केन्द्रीय बैंकको विशेषताहरू भनेका बैंकहरूको बैंक, सरकारको बैंक, मुद्रा प्रवाहमा एकाधिकार, मौद्रिक नीति निर्माण र कार्यान्वयन, विदेशी मुद्रा विनिमय र वाणिज्य बैंकको नियामक हुन् । तत्कालीन समयमा नेपाल बैंकले यीमध्ये अधिकांश कार्य तथा जिम्मेवारी सम्हालेको थियो ।

पृथ्वीनारायण शाहले स्थापना गरेको कौशी तोषाखाना र टक्सार तथा राणा प्रधानमन्त्री रणोद्दिप सिंहले स्थापना गरेको तेजारथ अड्डाले नेपालमा वित्तीय गतिविधि हेर्दै आएका थिए ।

नेपाल बैंक त्यसैको निरन्तरता वा आधुनिक रूप थियो । यसलाई कानुनी संरचना बनाएरै स्थापना गरिएको थियो । कौशी तोषाखानालाई बैंकिङ निकायका रूपमा स्थापना गरिएको थियो भने तेजारथ अड्डाले सरकारी कर्मचारीलाई ऋण सेवासुविधा प्रवाह गर्दथ्यो । नेपाल बैंक भने आधुनिक, व्यवस्थित र औपचारिक वित्तीय संस्था थियो ।

स्थापनासँगै नेपाल बैंकले नेपाली मुद्राको प्रचलन बढाउने, कम्पनी तथा भोटका पैसा सटही गर्ने कार्यलाई तीव्रता दियो । अधिकारीका अनुसार मियाँ जहरूद्दिन र भाजुरत्नले बैंकसँग ब्यापारका लागि कर्जा माग गरेका थिए ।

जहरूद्दिनले चुरा व्यापारका लागि रु. ३ हजार र भाजु रतनले घ्यू व्यापारका लागि १ हजार ५ सय रूपैयाँ ऋण मागेका थिए । पहिलो ठूलो औद्योगिक कर्जा भने बिराटनगर जुट मिल्सलाई दिइएको थियो । अधिकारीका अनुसार सो मिल्सलाई एक वर्षका लागि ५ प्रतिशत ब्याजमा बिमा व्यवस्था गरी एक तिहाई मार्जिन लिएर १ लाख रूपैयाँ कर्जा दिइएको थियो ।

“क्यासियरसित बैंकको नगद तथा जनताका सुनचाँदी रहने भएको बैंकले क्यासियर नियुक्तिको सर्त बनाउँदा निज क्यासियरले मोरु ३० हजार धरौटी राख्न पर्ने व्यवस्था गरेबाट निक्षेपको संरक्षण गरी बैंकलाई साँच्चै ट्रष्टीको रूपमा सञ्चालन गर्न खोजेको देखिन्छ,” अधिकारी भन्छन् ।

हालको अवस्था

जम्मा रु. १ करोडको अधिकृत पुँजीमा सञ्चालनमा आएको नेपाल बैंकको हालको चुक्ता पुँजी रु. १२ अर्ब ६३ करोड ६७ लाख रूपैयाँ छ । देशका ६९ जिल्लामा यसका २०५ शाखा ४१ एक्स्टेनसन काउण्टर र १४४ एटीएम छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा बैंकमा निक्षेप रु. १ खर्ब ३९ अर्ब र कर्जा १ खर्ब १६ अर्ब रहेको छ ।

यद्यपि, यो प्रगति सहजरूपमै भएको भने होइन । प्रजातन्त्रको पुनर्वहाली पछिको दशकमा बैंकको अवस्था निरन्तर ओरालो लाग्दै दयनीय बन्दै गयो । खराब ऋणको मात्रा बढ्दै गएर बैंक नै धराशायी हुने स्थिति बनेपछि २०५८ साल चैतमा राष्ट्र बैंकले हस्तक्षेप गरी व्यवस्थापन नियन्त्रणमा लियो र २०५९ सालमा विश्व बैंक र डीएफआईडीको वित्तीय क्षेत्र प्राविधिकि सहायता कार्यक्रमलाई नेपाल बैंकको पुनर्संरचनाको जिम्मा दिइयो ।

ऋणात्मक पुँजीकोष र ठूलो सञ्चित नोक्सानी भएको बैंकलाई सो कार्यक्रमले बैंकलाई प्राविधिक तथा वित्तीयरूपमा स्वस्थ र प्रतिस्पर्धी बनाउनमा ठूलो योगदान गरेको थियो ।

नयाँ व्यवस्थापनले बैंक सञ्चालन र व्यवस्थापनमा अन्तर्राष्ट्रिय असल अभ्यास अपनाउँदै घाटामा सञ्चालिन शाखा बन्द गर्ने वा गाभ्ने रणनीति लिएको अधिकारी बताउँछन् । सम्बत् २०४४ सम्म शाखा सञ्जाल २१९ र कर्मचारी संख्या ७९८४ रहेको बैंकमा हाल २०५ शाखा र करिब २४ सय कर्मचारी छन् ।

(लेखक नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का अध्यक्ष हुन् । आलेख टक्सार म्यागजिन, चैत २०७७ मा प्रकाशित छ)



प्रतिक्रिया दिनुहोस !