७ बैशाख २०८१, शुक्रबार

विदेश गएका बुवा सम्पर्कविहीन र आमा ओछ्यानमा थला परेपछि चार छोरीको बिचल्ली

प्रकाशित मिति :  20 November, 2021 12:38 pm


उमा केसी

रोल्पा । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर १२ वर्ष अघि रोल्पा नगरपालिका-९ह्वामाकी तिलकुमारी बुढाले रोल्पा नगरपालिका.६ कोङाका टेकसिंह गुरुङसंग विवाह गरिन् ।

बिहे गरिरहँदा  कुनैदिन पति  र स्वास्थ्य दुवैले धोका दिएर आफू थला परिरहँदा छोरीहरूको बिचल्ली टुलुटुलु हेरि बस्ने दुख सहनु पर्ला भने थाहा थिएन ।

अहिले चार छोरीको आमा तिलकुमारीलाई धोका दिने पतिको कारण दुख भोगिरहेका छोरीहरूका लागि केही गरौं भने उनी हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् ।

छोरीहरूको दुर्दशा टुलुटुलु हेरि बस्ने र भिनाजुको सहयोगको अपेक्षा बाहेक केही गर्न नसक्ने अवस्थामा तिलकुमारी छिन् ।
दुवै पतिपत्नी विवाह भएको ४ वर्ष गाउँमा सँगै बसे । गाउँमा रोजगारीको अवसर नभएपछि कमाइ गर्न श्रीमान विदेश जाने श्रीमति घरपरिवार सम्हाल्ने निष्कर्षमा दुवै पुगे ।

तिलकुमारीका श्रीमान् टेकसिंह ७ वर्ष अघि कतार गएका थिए । कतारमा ३ वर्ष बसेका बेला उनी त्यहाँ रहदा भएको सबै कमाइ घर पठाउँथे । श्रीमानश्रीमतीबीच दिनहुँ जसो फोनमा कुराकानी भइरहन्थ्यो । घर आउने जाने चलिरहन्थ्यो । कतार बसाइ बिट मारेर घर आएका उनी केही समयमात्रै घर बसी फेरि विदेश जाने निर्णयमा पुगे ।

कतारमा कमाएको पैसाले आफ्नै ठाउँमा इलम गर्न चहिन, तिलकुमारी । तर टेकसिंह भने नेपालमा कमाउन नसकिने भन्दै ४ वर्ष अघि कुवेत गए । कुवेत गएका उनी सुरु सुरुमा घरमा नियमित फोन गर्थे । सञ्चो बिसञ्चो फोनबाट आदान प्रदान हँुदा तिलकुमारीलाई श्रीमान घरमै भए जस्तो लाग्थ्यो ।

टेकसिंहले घरमा श्रीमती, बुवा, आमा र छोरीहरूलाई फोन गर्न बिस्तारै छोड्दै गए । दैनिक फोन आउने तिलकुमारीको मोबाइलमा श्रीमानको फोन आउन छोडेपछि उनको मनमा चिसो पस्यो ।

सुरुमा त उनले बिरामी भएर वा अत्यावश्यक कामले व्यस्त भएर फोन नआएको होला भन्ने लख काटिन । हप्ता बिते, महिना बिते उनको मोबाइमा फोन आउन छोड्यो ।

श्रीमानले फोन गर्न छाडेको लामो समय भएको वयोवृद्ध सासुससुरालाई सुनाइन । छिमेकी तथा अरु इष्टमित्रलाई भनिन तर कसै गरि श्रीमानले फोन नगर्नुको कारण बुझ्न सकिनन् । एकदिन सम्झेर पक्कै पनि फोन गर्लान् भन्ने सोचाइमा उनको ४ वर्ष बितिसकेको छ । तर श्रीमानको फोनको घण्टी भने अझै सम्म बजेको छैन ।

श्रीमान् सम्झिदै छोरीहरूको भविष्य बनाउन पढाउने काम, घरको दैनिकी तथा ८७ वर्षीय ससुरा र ७७ वर्षीया सासुको रेखदेख र स्याहार सुसार गर्दै उनको दिन बितिरहेको थियो । आमदानीको स्रोत थिएन । घरमा भएको अन्नले जीविका चलेपनि नुनतेल त किन्नै पथ्र्यो । उनले वर्षातमा फल्ने चिउरी टिपेर नुनतेलको जोहो गर्थिन् ।

उनको आम्दानीको स्रोत बनेको चिउरीको बोटले नै उनलाई जीवनमरणको दोसाँधमा पु¥याउला भन्ने कहिल्यै सोचेकी   थिइनन् । उनको जीवनमा नसोचेकै घटना घट्यो ।

गत असारमा चिउरी टिप्न रुख चढेकी उनी खुट्टा चिप्लिएर भुइँमा बज्रारिन पुगिन् । रुखबाट लडेर अचेत अवस्थामा रहेकी उनी गाउँलेको सहयोगमा घरसम्म पुगिन् । उपचारका लागि रोल्पा जिल्ला अस्पताल पु¥याइयो ।

उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा लगियो । कम्मरमुनिको पुरै भाग नचल्ने भएपछि अपरेसन गरियो । भैरहवा अस्पतालको २१ दिनको बसाइ पछि उनी घर फर्किइन् ।

अपरेसनपछि पनि उनको स्वास्थ्यमा सुधार आएन । अहिले उनी सदरमुकाम लिवाङ होटेल व्यवसाय गर्दै आएका दिदी भिनाजुको शरणमा बस्दै आएकी छिन् । हिँडडुल गर्न सक्दैनिन । ओछ्यानमै दिसा पिसाब हुने गर्छ ।

नाबालक छोरीहरू १२ वर्षिया विसी, ११ वर्षीया विविका, ५ वर्षीया विमा र ४ वर्षीया रिया गुरुङले आमाको अवस्था हेरेर टोलाउने बाहेक के नै गर्न सक्छिन र ? बुवाको कारण अबोध बालबालिकाले पाइरहेको वेदनाले बालअधिकारलाई गिज्याइरहेको छ । उनीहरू सदरमुकाममा रहेका दुई सररकारी विद्यालयमा पढ्छन ।

विसी,विकिा र विमा बालकल्याण माविमा पढ्छिन भने कान्छी रिया बालमन्दिर प्राथमिक विद्यालयमा पढ्छिन् । राम्रो लाउने, मिठोखाने उनीहरुका लागि एकादेशको कथा जस्तो भएको छ । बुवाको वात्सल्यबाट वञ्चित उनीहरूका लागि रोगले थलिएको आमाको जीर्ण हुँदै गएको अनुहारले दिने मायाको आड बाहेक केही छ्रन् ।

परिवारमा राम्रो सम्बन्ध रहेको साढुभाइमा एकाएक आएको परिवर्तनले आफुलाई आश्चर्य लागेको तिलुमारीका भिनाजु पुर्णसिंह पुनको भनाइ छ । अन्य केटीसँग सम्बन्ध भएर घरमा सम्पर्क विहिन भएका पूर्णसिंहको अडकल छ । सदरमुकाम लिवाङमा होटल व्यवसाय गर्ने पुनले तिलकुमारीको रेखदेख तथा बालबच्चाको शिक्षादिक्षा र पालनपोषणको काममा सघाउँदै आएका छन् ।

तर तिलकुमारीका टोलाइरहेका आँखाहरूले पतिको अनुहार हेर्न पाए हुन्थ्यो कानहरूले मोबाइल फोनमा पतिका स्वर सुन्न पाए हुन्थ्यो भन्ने चाहना बाहेक अन्य के नै हुन्छ ?सँगै मर्ने बाँच्ने वाचा गरेकाले यसरी धोका दिएर गएकै हो र भनी मनमनी गन्थन गर्नु बाहेक उनी केही गर्न सक्निदन् ।



प्रतिक्रिया दिनुहोस !