२४ बैशाख २०८१, सोमबार

रामदेवका टेलिभिजन उद्घाटन राष्ट्रघात भएको भन्दै फिर्ता गर्न माग

प्रकाशित मिति :  24 November, 2021 1:03 pm


काठमाडौं । भारतीय नागरिक रामदेव बाबाले चिनिएका रामकृष्ण यादवका दुई टेलिभिजनको उद्घाटन राष्ट्रिय स्वाधीनतामाथिको गम्भीर आघात भएको भन्दै त्यसलाई फिर्ता लिन माग गरिएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय नागरिक रामकृष्ण यादव ‘रामदेव’ को दुई टेलिभिजन च्यानलको सुरुआत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रूपमा उद्घाटन गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण गरी यस्तो माग गरेको हो ।

‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाम दिइएको ती टिभी च्यानल नेपालमा सेटेलाइटमार्फत सञ्चालन हुने बताइएको छ । अध्यक्ष माइला लामाको तर्फबाट जारी गरिएको महाङ्घको विज्ञप्तिमा भनिएको छ “ तामझामसहित उद्घाटित उक्त टिभी च्यानल प्रसारणका लागि नेपालको कुनै पनि निकायबाट इजाजतसमेत लिएको देखिँदैन ।

”यस क्षेत्रमा योग र धर्मको आवरणमा ‘रामदेव’ ले गुप्त व्यापार र कलुषित राजनीति गर्दै आएको कुरा सबैका सामु छर्लङ्गै छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आघात पु¥याउने उक्त कार्य गम्भीर अपराध त हुँदै हो, यो नेपालमाथिको गम्भीर सांस्कृतिक अतिक्रमण पनि हो । तसर्थ, हाम्रो सङ्गठन उक्त कार्यको घोर विरोध र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएकाे छ ।

प्रविधि हस्तान्तरण ऐन २०७५ ले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा विदेशी लगानी बन्देज लगाएको जनाउँदै महासङ्घले भारतीय लगानीमा कानुनले बन्देज लगाएको क्षेत्रमा अझ दर्ताबिनै टिभी च्यानलको उद्घाटन स्वयम् प्रधानमन्त्रीले गर्नु अत्यन्त आपत्तिजनक भएको जनाएको छ ।

नेपालको प्रचलित कानुनको समेत खिल्ली उडाउँदै बिनादर्ता गरिएको भारतीय लगानी तुरुन्त फिर्ता गर्न महासङ्घले माग गरेको जनाएको छ । नेपालको राष्ट्रियतामाथि यस प्रकारको ठाडो हस्तक्षेपका विरुद्ध एकजुट भएर आन्दोलित हुन देशभक्त, पत्रकार, सञ्चार क्षेत्रका विज्ञ, संस्कृतिकर्मी, लेखक, साहित्यकार, कलाकार, चलचित्रकर्मी सबैको कर्तव्य बन्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको सार्वभौमिकतामाथि धावा बोल्ने यस किसिमको लगानी तत्काल फिर्ता नगरे हाम्रो सङ्गठन सशक्त प्रतिरोध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै महासङ्घले यसबाट सिर्जित गम्भीर परिस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित निकाय नै हुने स्पष्ट गरेको छ ।



प्रतिक्रिया दिनुहोस !