५ जेष्ठ २०८१, शनिबार

फ्रान्समा आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

प्रकाशित मिति :  25 November, 2021 2:49 pm


काठमाडौं। यूके प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ मा उसले अभिलेख राख्न थालेयता इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू उद्विग्न भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताएका छन्।

फ्रान्सका गृहमन्त्रीले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन्। घटनापछि दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताइएको छ । बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो। डुबेको डुङ्गामा ३४ यात्रु सवार थिए।

बुधवार बेलुकी जोनसन र फ्रान्सका राष्ट्रपति एमानुएल मार्कोँले दुई देशबीचको जलमार्गबाट हुने तस्करी रोक्न र मानवतस्कर समूहहरूलाई मानव जीवन जोखिममा पार्नबाट रोक्न संयुक्त रूपमा कार्य गर्न सहमति गरेको यूकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !