२३ बैशाख २०८१, आइतबार

महानगरपालिकाको सहयोगमा सारंगीको र्‍याइँर्‍याइँ घन्कॉंउदै ट्राफिक सन्देश

प्रकाशित मिति :  23 February, 2020 5:23 pm


काठमाडौं, ११ फागुन । 

महानगरपालिकाको मुख्य चार वटा फरक फरक चोकमा सांरगी बजाउँदै दैनिक सचेतना जगाउने काम भइरहेको छ।काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा अभियान थालिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

सांरगी बजाउनेले दैनिक पारिश्रमिक पाउने छन्। माघ २९ गतेदेखि शुरु भएको अभियान फागुन महिना भरी नै चल्ने प्रवक्ता श्रेष्ठ बताउँछन्।ट्राफिक नियम तथा स्वच्छ वातावरणको लागि सचेतना कार्यक्रम सांरगी मार्फत थालिएको उनको भनाइ छ।

‘मान्छेहरुलाई सांरगीमार्फत चेतना जगाएमा बढी प्रभावकारी होला भनेर अभियान थालिएको हो, हेरौँ अब यसको सबै क्षेत्रबाट कस्तो प्रतिक्रिया आउँछ। अहिलेसम्म राम्रै प्रतिक्रिया आइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने।

उनका अनुसार रत्नपार्क, एनएसी, ट्राफिक प्रहरी महाशाखा रामशाह पथ, बानेश्वर, कोटेश्वर, एरपोर्ट गेट अगाडी, कलंकी, नयाँ बसपार्क लगायतका ठाँउमा सचेतना कार्यक्रम भइरहेको छ।

पूर्वट्राफिक निरीक्षक सिताराम हाछेथुलाई ट्राफिकको यो अभियान निकै मन परेको छ।

उनी आफू ट्राफिक प्रहरीमा रहेको बेला गरेका कामलाई सम्झदै भन्छन्, ‘मैले बीस पच्चिस वर्ष अगाडी आकाशे पुलबाट बाटो नकाट्नेलाई फूल दिएको थिए। ती मान्छे मलाइ अहिले पनि भेटेर मैले तपाईंको हातबाट फूल पाएको थिएँ भन्छन्।’

उनी मान्छेलाई गीत संगीतमार्फत सम्झाएमा त्यो लामो समयसम्म सम्झना हुने बताउँछन्।मान्छेलाई नियम मान मान भन्दा झर्को मान्ने र नियम उल्लंघन भएकाले पनि यस्ता कार्यक्रम देशैभरी गर्नु जरुरी भएको उनको धारणा छ।



प्रतिक्रिया दिनुहोस !