७ बैशाख २०८१, शुक्रबार

शिलान्यास भएको एक वर्षसम्म पनि रोल्पाका स्वास्थ्य चौकी निर्माण अगाडि बढेन

प्रकाशित मिति :  3 December, 2021 11:34 am


उमा केसी

रोल्पा । रोल्पाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्य चौकी भवन शिलान्यास भएको एक बर्ष पुरा हुँदा समेत निर्माणको काम अगाडी बढ्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो वर्ष मंसिर १५ गते देशभरका ३ सय ९६ स्थानीय तहको स्वास्थ्य चौकी भवन एकैपटक शिलान्याश गर्ने क्रममा रोल्पाका ती स्वास्थ्य चौकीको पनि शिलान्याश गरिएको थियो ।

सरकारले ५,१० र १५ शैयाको स्वास्थय सुविधा दिने भन्दै ती स्वास्थ्य चौकी भवन शिलान्यास एकैपटक गरेको थियो । रोल्पाका थबाङ,परिवर्तन,माडी र त्रिवेणी गाउँपालिकामा एकैदिन स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो । शिलान्याश गरिएका ती भवन मध्य अधिकांश भुई खोस्रने बाहेक थप काम भएका छैनन् ।

थबाङ गाउँपालिकामा भवन निर्माणका लागि सम्झौता भइसकेको र घडेरी सम्याउने जगको पिलर उठाउने काम भइरहेकोे गाउँपालिका अध्यक्ष वीरवहादुर घर्तीमगरको भनाई छ । “कामको सुस्तता हेर्दा निर्माण कार्य कहिले सकिने हो भन्न सकिने अवस्था छैन,” अध्यक्ष घर्तीमगरले भने ।

परिवर्तन गाउँपालिकामा भने करिब सात प्रतिशत काम काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाई    छ । घडेरी सम्याउने काम अन्तिम चरणमा भएको वताउदै थप काम अघि वढ्ने वताए । सम्झौता पश्चात टेण्डर प्रक्रियामा अघि वढेको अध्यक्ष डाँगीको भनाई छ ।

माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनको भनाई अनुसार जग्गाको विषयमा केही समय विवाद भएकोले निर्माण कार्य अवरुद्ध भएपनि विवाद समाधान संगै घडेरी सम्याउने काम सकिएको बताए ।

निर्माणको जिम्मा लिएको कम्पनीले सडक पिचको काम गरिरहेको र त्यो काम सकिउने बित्तिकै स्वास्थ्य चौकी भवन निर्माणको कामलाई अगाडि बढाउने बताए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीका अनुसार आफ्नो गाउँपालिकामा पाँच प्रतिशत मात्र काम भएको छ । निर्माणको जिम्मा लिएको कम्पनी तिहार मनाउन घर गएको र अहिलेसम्म नआएको बताए । बारम्बार फोन गरेर बोलाउदा समेत रकम थप भएपछि मात्र काम सुरु गर्ने शर्त राखेको उनको भनाई छ । अहिले घडेरी सम्याउने काम समेत पुरा नभएको बताउदै आफूले संघीय सरकारसँग गुनासो राखेको बताए ।

संघीय सरकारको करिब १८ करोड लागतमा स्वास्थ्य चौकी भवन निर्माण हुने भनिए पनि करिब १३ करोडको मात्रै टेण्डर भएका स्थानीय तहका प्रमुखहरूको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम क्षेत्रका नागरिकहरूलाई स्वास्थ्यमा पहुँच पु¥याउन सो कार्यक्रम अघि सारेपनि भवन निर्माणकै काम अलपत्र परेको छ । ती स्वास्थ्य चौकी भवन सम्झौता भएको मितिले करिब दुई बर्षभित्र निर्माण गरि सक्ने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस !