कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान ३ घण्टा पछि शुरु भएको हो । मतदानको लागि साँझ ५ बजेसम्म सकिने कार्यतालिका रहेको छ ।
राष्ट्रिय सभागृहमा र भृकुटीमण्डप मतदानका लागि व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु बिहानदेखि लामबद्ध भएका छन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
नयाँ नेतृत्व चयनका लागि केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् ।
सभापतिका लागि हुने मतदानमा ५ जना, उपसभापतिका लागि ७, महामन्त्रीका लागि ६ र सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।








