११ बैशाख २०८१, मंगलबार

रुकुममा नौ करोड लगानीमा खानेपानी आयोजना

प्रकाशित मिति :  1 January, 2022 8:36 am


रुकुम ।  रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । 

खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे ।   

लुम्बिनी प्रदेश सरकारको रु नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने छ ।

 वडा नम्बर ५ को रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो ।  वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पु¥याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताउनुभएको छ । 

पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउने छ । चालु आर्थिक वर्ष २०७८ \ ७९ मा रु एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ । उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।

 समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहेकि छिन् । अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन् । दीर्घकालीनरुपमा योजना निर्माण गरी पछि थप पानीको आवश्यक पर्ने भएकाले यो खानेपानी आयोजना निर्माण हुन लागेको हो । 

वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पुर्याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो । अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीनवटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ ।

 जनसङ्ख्या वृद्धि र बस्ती विकास हुँदै गएकाले भोलिका दिनमा थप पानीको आवश्यक पर्ने भएकाले अहिलेबाट थाक्नाखोला खानेपानी आयोजना निर्माणको काम सुरु गरिएको बताइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !