२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारी सुदूरपश्चिममा, ४ स्थानिय तहमा सार्वजनिक बिदा

प्रकाशित मिति :  27 February, 2020 10:56 am


बैतडी, १५ फागुन । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीवार बैतडीसहित सुदूरपहाडमा भब्य स्वागत गरिदैंछ। बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी लगायतले स्वागत गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले पुजाआजा तथा दर्शन गर्ने त्रिपुरासुन्दरी मन्दिरमा सरसफाई गरिएको छ। साथै स्वागतद्वार पनि निर्माण गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन्। उनले भनिन्, ‘बाजागाजा र पुष्पगुच्छासहित नागरिक अभिनन्दन गछौं।’

यस्तै पाटन नगरपालिकाले पनि उनको स्वागतका लागि सार्वजनिक बिदा दिँदै भब्य तयारी गरेको जनाएको छ। बाजागाँजासहित स्वागत गरिनुका साथै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए।

त्यसअघि दार्चुलामा पनि भव्य स्वागतको तयारी भएको छ। राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिए। उनले भने ‘गाउँपालिकाले राष्ट्रपतिलाई अभिनन्दन गर्ने भएपछि मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय भएको छ।’

शैल्यशिखर नगरपालिकाले पनि राष्ट्रपतिको भ्रमणमा स्वागतको लागि भन्दै एक दिन सार्वजनिक विदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ। राष्ट्रको प्रमुख आउने भएकोले नगर कार्यपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राष्ट्रको सातौं धामको रुपमा मालिकार्जुन मन्दिरमा भण्डारीले विशेष पूजापाठ गर्ने कार्यक्रम छ।

बिहान १० बजे हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी सिधै मालिकार्जुन मन्दिरस्थित हेलिप्याडमा अवतरण हुनेछन्। त्यहि स्थानमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत जिल्लाका सुरक्षा निकाय प्रमुखहरुले स्वागत गरेर भण्डारी सिधै मन्दिर प्रवेश गर्नेछन्।

मन्दिरमा पूजापाठ सकिने वित्तिकै राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी र दार्चुलाबाट प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले स्वागत गर्दै नागरिक अभिनन्दन स्थलसम्म पुर्याउने कार्यक्रम छ। नागरिक अभिनन्दन कार्यक्रम सोहि मन्दिर परिसरमै राखिएको छ।

यस्तै फागुन १६ गते बिहान डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शनका लागि पुग्ने कार्यक्रम छ। भने दिउँसो कञ्चनपुरमा जाने कार्यतालिका रहेको छ। त्यहाँ पनि भब्य स्वागत हुने जनाईएको छ।

उनको भ्रणमका क्रममा स्वागतका लागि भन्दै प्रदेशका २ जिल्लामा ४ स्थानीय तहमा बिहीवार सार्वजनिक बिदा दिईएको छ।



प्रतिक्रिया दिनुहोस !