२३ बैशाख २०८१, आइतबार

धनुषामा मदिरा खरिद बिक्रीमा प्रतिबन्ध

प्रकाशित मिति :  4 March, 2020 12:16 pm


जनकपुर, २१ फागुन । 

जिल्ला प्रशासन कार्यालय धनुषाले होली पर्वलाई लक्षित गरी मदिरा खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले चार दिन मदिरा खरिद बिक्रीमा प्रतिबन्ध लगाएको हो।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले फागुन २५ देखि २८ सम्म मदिरा खरिद बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिए।मधेसको महाकुम्भ मानिने ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको १५ दिने माध्यमिकी परिक्रमा फागुन २५ मा जनकपुरधाम आइपुग्नेनछ।

गंगा सागरमा विश्रामपछि फागुन २६ मा अन्तरगृह परिक्रमा समेत गर्ने भएकाले परिक्रमा मार्गमा मदिरा र माछामासु खरिद बिक्री तथा सेवन नगर्न सर्वसधारणसँग प्रशासनले निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ, ‘परिक्रमा डोला फागुन २५ मा जनकपुरधाम आउने र २६ गते प्रस्थान गर्ने हुँदा फागुन २५ गते मध्याह्नदेखि २६ गते मध्यरातसम्म परिक्रमा मार्गभित्र मदिरा तथा माछा, मासु बिक्री वितरण एवं सेवन नगर्न नगराउन अनुरोध छ।’

यस्तै, फागुन २७ र २८ मा होलीका बेला सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म सार्वजनिक स्थलमा मदिरा सेवन नगर्न/नगराउन प्रशासनले निर्देशन सूचना जारी गरेको छ। उक्त समयावधिमा मदिरा खरिद बिक्री तथा सेवन गरेको पाइएमा कारबाही हुने चेतावनी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !