५ पुस २०८२, शनिबार

रोल्पाका सडकको अस्तव्यस्ता : वर्षौसम्म पनि सुध्रिएन अवस्था

प्रकाशित मिति :  5 February, 2022 6:01 pm


उमा केसी ।

राेल्पा ।  दिदीको छोराको विहेमा रुकुम पश्चिम हिडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माईत पुगिन । विहे जस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साईतमा नपुगिने हो की भन्ने चिन्ता थियो ।

सदरमुकाम लिवाङवाट परिवर्तन गाउँपालिका–६ ईरिवाङ हिडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो । ८ महिनाको छोरी सहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित वनाएको थियो । जाडोको सिजनमा बच्चासंगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो ।

जिल्ला सदरमुकाम लिवाङवाट गंगादेव गाउँपालिका हिडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रि स्थित सडकमा रहेको हिलोमा भासियो । गाडी स्टाप र अन्य यात्रुसंगै वली हिलोमा फसेको गाडी तान्न तम्सिए । लगातार १ घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो ।

आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङवाट पश्चिमोत्तर रोल्पाका–४ स्थानीय तह सहित रुकुम पूर्व र रुकुम पश्चिम आवतजावत गर्ने यात्रुहरू अचेल यस्तै समस्या भोग्ने गर्दछन् । यसको मुख्य कारण हो रोल्पा नगरपालिका वडा नंं ७ मा पर्ने निम्री सडक ।

सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिमोत्तर रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुम पूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ । दैनिक दर्जनौ गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरुलाई कष्टपूर्ण यात्रा गर्न वाध्य हुने गरेका छन् ।

डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ । बाटोको अस्थव्यस्तताले यात्रा समेत अनिश्चित हुने गरेको छ । अत्यावश्यक काम लिएर हिड्ने यात्रुहरू समेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन् ।

बाटोमा रहेका ठूल्ठुला खाल्डाखुल्डी, झाडी,पहिरो र साघुँरो मोडले यात्रालाई असहज बनाउने गरेका छन् । सडक स्तरोन्नतीका नाममा हरेक बर्ष करोडौ वजेट खर्च भएको देखिने भएपनि वाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन ।

सोही सडक भएर पश्चिमोत्तर रोल्पाका थवाङ,परिवर्तन,गंगादेव,त्रिवेणी,रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरू जिल्ला समन्वय समितिको वैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन् । सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ ।

जिल्लाका सवै स्थानीय तहको विकास प्राथमिकतामा सडक संजाल परे पनि वर्षौ वित्दा समेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुखत पक्ष भएको सरोकारवालाहरूको भनाई छ ।

जिल्लाका सवै स्थानीय तहले सडक निर्माण तथा मर्मत शिर्षकमा कुल वजेटको झण्डै ६० प्रतिशत बजेट विनियोजन गर्ने गर्दछन् । संघीय सरकार र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । यो क्रमले विगत ५ वर्ष यता निरन्तरता पाईरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन भएको नदेखिएको जिल्लावासीको गुनासो छ ।

संघ,प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता नदेखिएको स्थानीय यातायात व्यवसायी भीम घर्तीले गुनासो गरे । “जति भन्दा पनि सरकारले सुन्दैन,सडकमा भएका खाल्डाखुल्डी पुरेपनि यातायात व्यवसायीलाई राहात मिल्ने थियो,” घर्तीेले भने ।
दश वर्षे सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरूको नाममा ती सडक नामाकरण गरिएको छ । “शहीद मार्ग नामाकरण गरिएका ती सडक आफै शहीद भएका छन्,” रुन्टीगढी गाउँपालिकाका स्थानीय युवा नन्दराम खड्काले भने ।

लामो समय देखी सोही सडकमा गाडी चलाउदै आएका चीप चालक दीपक थापाका अनुसार सुधारिएको सडकमा कहिल्यै गाडी चलाउन पाइएन । “यात्रा सधै यस्तै कष्टकर हुने गर्दछ, हिउँदमा सामान्य पानी पर्दा पनि पहिरो झर्ने र बाटो हिल्याम्य हुने गर्दछ,” थापाले भने ।



प्रतिक्रिया दिनुहोस !