काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्यो
प्रकाशित मिति : 6 February, 2022 8:42 pm
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर विजोर प्रणाली हटाइएको छ ।
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरिएको थियो । आलोचना भएपछि सार्वजनिक सवारी साधनको जोर विजोर प्रणाली हटाइएको थियो ।
कोरोना संक्रमण थप घट्दै गएपछि सबै सवारी साधनमा जोर विजोर प्रणाली हटाइएको हो । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गर्दै सवारी साधान सञ्चालनमा जोर विजोर प्रणाली हटाएका हुन् ।
सार्वजनिक सवारी साधनमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पुरा गर्नु पर्ने आदेशमा उल्लेख छ । सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।








