२१ बैशाख २०८१, शुक्रबार

उद्योगमन्त्रीको चेतावनीः कालोबजारी गरे हदैसम्म कारबाही गर्छौ ।

प्रकाशित मिति :  7 March, 2020 6:17 pm


काठमाडौ, २४ फागुन । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा भएको कार्यक्रममा मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पारे । उनले वाणिज्य विभाग र औषधी विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको सुनाए ।

उनले भने,‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’ यसको साथै, बजार व्यवस्थित्, कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि गृह मन्त्रालयसँगपनि समन्वय भैरहेको उनले सुनाए ।

उनले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरुमाथि कडा कारबाही गर्नको लागि गृहको सहयोग लिन र उसँग समन्वय गरिनेबारे पनि छलफल भएको स्पष्ट पारे । ‘कालोबजारी र बदमासी गर्नेहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिईँदैन्’–उनले भने,‘तिनीहरुलाई सरकारले कुनैपनि हालतमा बचाउँदैन् । हदैसम्मको कारबाही गर्छ । कुनैपनि छुट हुँदैन् ।’

मन्त्री भट्टले आफूले आजमात्रै पनि एक औषधी पसलमा गएर स्यानिटाईजेशन माग्दा २० रुपैयाँ आईसीको सामानलाई १५० रुपैयाँको बिल बनाएर पठाएको कुरा औषधी पसलले सुनाएको उल्लेख गरे ।

उनले भने,‘त्यही भएर मैले त सामान नै नबेचेको भनेर भन्नुभयो । अर्को कुरा १५ रुपैयाँ पर्ने मास्क पनि ५० रुपैयाँको बिल बनाएको पनि उहाँले सुनाउनुभयो । हरेकले आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।’ उनले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको सुनाए ।

उनले भने,‘आज विहान एकजना सञ्चारकर्मी क्वाटरमा आउनुभएको थियो । उहाँलाई मैले मेरो भान्सामा गएर हेर्न सुझाएको थियो । हामी त विहान चाहिने विहान र बेलुका चाहिने कुरा बेलुका ल्याउने गर्छौं ।’ उनले बजारमा अहिलेपनि नून, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । उनले उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरि स्टक राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गरे ।

उनले कुनैपनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट व्यक्त गरे । यदि कसैले कालोबजारी गरेको पाईए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि उनले दिए । उनकाअनुसार अहिलेपनि आगामी ६ महिनाको लागि पुग्ने औषधी छ ।

सरकार कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा नहोस भनेर गम्भिर भएको पनि स्पष्ट पारेका छन् । ‘सरकार गम्भिर भएन भनेर हामीमाथि आरोपपनि लाग्ने गरेको छ । तर, यसमा कुनै सत्यता छैन् । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएर अलर्ट बनाउनुभएको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ’कोभिड–१९’ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन भैसकेको छ । यो समितिको दुईवटा बैठकसमेत बसिसकेको छ ।’–उनले थपे ।

भारत र चीन दुवैतिरबाट हुनसक्ने समस्याको निराकरण गर्न सरकार गम्भिर रहेको सुनाउँदै उनले भारतको नयाँ दिल्लीमा यसको प्रभाव तथा संक्रमण बढेपछि नेपाल सरकार गम्भिर रहेको पनि विश्वास दिलाए । उनले भने,‘भारतसँगका मुख्य–मुख्य ७ वटा नाका तथा भन्सारमा हामीले कडाई व्यवस्था गरेका छौं। त्यहाँ हेल्थ डेस्कपनि राखेका छौं । चेकजाँच पनि कडाईका साथ भैरहेको छ ।’

त्यतिमात्रै नभएर उनले थप २७ वटा नाकापनि पहिचान गरिएको जनाए । ‘ती नाका तथा सीमावर्ती क्षेत्रमा अहिले कडाईका साथ चेकजाँच गर्ने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !